ब्रेकिङः दर्जनौ वकिलको बहसपछि सरकारी गाडी जलाउने नेविसंघका ३ नेता साधारण तारेखमा रिहा

समाधान संवाददाता २०७५ माघ २५ गते १७:१९

समाधान संवाददाता

जिल्ला अदालत कास्कीले थुनामा रहेका नेविसंघका ३ विद्यार्थी नेतालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ ।

पोखरा महानगरपालिकाको गाडी जलाएको आरोपमा माघ १९ गते पक्राउ परेका ५ मध्ये ३ विद्यार्थी नेता माथि सरकारी वकिल मार्फत प्रहरीले माघ २४ गते अदालतमा अपराधिक उपद्रव मुद्दा दायर गरेको थियो ।

Advertisement

शुक्रबारको थुनछेक बहस पछि जिल्ला अदालत कास्कीका न्यायाधीश काजीबहादुर राईको इजलासले नेविसंघका ३ विद्यार्थी नेतालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको निमित्त स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिए । आदेशसँगै विद्यार्थी नेता परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल साधारण तारेखमा रिहा हुनेछन् ।

मुद्दामा २ देखि ५ वर्षसम्म जेल सजाय र ३० हजारदेखि ५० हजारसम्म जरिवाना माग दाबी गरिएको थियो । सरकारी वकिलका तर्फबाट मुद्दाको पक्षमा सहायक जिल्ला न्यायाधिवक्ताले बहस गरेका थिए । विद्यार्थीका तर्फबाट वरिष्ठ अधिवक्ता विश्व घिमिरे, अधिवक्ता विष्णु कुशल भुजेल, रामचन्द्र त्रिपाठी, फणिन्द्र कोइराला, रोहितराज बास्तोला, विष्णु मरासैनी, मुकुन्द अर्याल, जगन्नाथ ढकालले बहस पैरवी गरेका थिए ।

Advertisement

बाँकी ४० जना कानुन व्यावसायीहरुले समय अभावका कारण उल्लिखित ७ जना अधिवक्ताको बहसलाई समर्थन गर्दै बहस टु‌ंग्याएका थिए ।
महानगरपालिका शिक्षा शाखाको बा१झ ५८७९ नम्बरको गाडी जलाएको आरोपमा ५ जना पक्राउ परेका थिए । २ जनालाई केही दिन पछि छाडेपनि ३ जना विरुद्ध मुद्दा परेको थियो ।

विद्यार्थी रिहाईको माग गर्दै नेपाली कांग्रेस भातृ संस्था नेविसंघले गण्डकी प्रदेशमा चरणबद्ध आन्दोलन घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया