‘सखी’मा भेटिएका रामलाल

समाधान संवाददाता २०७५ माघ २६ गते १०:२३

खिम लामिछने काजी

२०५१-५२ बाट कविता र गजल विधामा कलम चलाउँदै साहित्यमा प्रवेश गरेका लेखक रामलाल जोशीको पहिलो कृति ‘हत्केलामा अकाश’ गजल संग्रह २०५७ मा प्रकाशित भएको थियो । २०७२ सालमा जोशीको दोस्रो कृति भने कथाका रुपमा आयो ‘ऐना’ । जसमा उनले सुदूरपश्चिमको सामाजिक पीडा, वादी र थारु जातिको पीडा, वेदनालाई चित्रण गरेका थिए ।

ऐनाले २०७२ को मदन पुरस्कार जित्न सफल भएको थियो । हालसालै उनको ‘सखी’ नामको उपन्यास प्रकाशित भएको छ । सुदूरपश्चिमको जनजीवन र संस्कृतिलाई चित्रण गरिएको उक्त कृतिले थारु समुदायका यथार्थ विषयलाई समेटी उनीहरुको अवस्थालाई समावेश गरेका छन् ।
पहाडिया समुदायको विभेद, थारु समुदायमा पनि हुनेखानेहरुले गरीब थारुमाथि गर्ने विभेद र अत्याचार लगायत थारु समुदायका बिभिन्न आयामलाई सखीमा देखाइएको छन् ।

Advertisement

आफ्नो नवीनतम कृतिबारे लेखक राललान जोशी भन्छन, ‘‘सखी’ एउटा थारु कम्लारी केटीको संघर्षको गाथा हो । साथै सभ्य, संघर्षशील जीवन बाँचिरहेको सिंगो थारु समुदायका जीवनको चित्रण हो ।’ सखीमा पहाडबाट तराई झरेर त्यहाँको स्थानीय समुदायसँग घुलमिल भएको एक युवकको कथा समेटिएको छ । जोशीले आदिम संस्कृति धानेका थारु समुदाय जो आफ्नो माटोलाई पूजा गरेर माटोमै संघर्ष गरेका धर्तिपुत्रको कथाले आफूलाई छोएको र त्यसैलाई ‘सखी’मार्फत बाहिर ल्याउने प्रयास गरेको बताएका थिए ।

यो समुदाय जमिनदारको रबैयाले कसरी कमैया, कमलरी हुन पुग्थे, थारु केटीहरूले कस्तोसम्म दुःख पाउछन्, कमैया मुक्ति आन्दोलनको उठान कसरी भयो, माओवादीहरुले कसरी थारु समुदायलाई आफ्नो पकडमा लिए भन्ने जस्ता राजनीतिक द्वन्दका कुरासमेत लेखकले समावेश गरेका छन् ।

Advertisement

उपन्यासकी मुख्य पात्र थारु समुदायको कमलरी केटी किस्मती चौधरी हो । जसको वरिपरि पूरै उपन्यास घुमेको छ । गाउँमा जमिनदार तथा धनीमानीले कस्तो रबैया अपनाउँथे भन्ने कुराको चित्रण सुन्दर ढंगबाट प्रस्तुत गरिएको छ । विषालु च्याउ खाँदा बुवाबाहेक पूरै परिवार मर्छन् । बुढेसकालमा उसको बुवाले दोस्रो विवाह गर्छ । कान्छीबाट किस्मतीको जन्म हुन्छ । छोरी जन्मिँदा पालनपोषण गर्न नसक्दा बुवाले चौबाटोमा छोडिदिन्छ । १ जना मुसलमानले भेटाएर पहाडी समुदायका व्यक्तिलाई त्यो छोरी बेचिदिन्छ । उसले आफ्नो घरमा लगेर कमलरी बनाउँछ । बाधा कमरा, कमैया, हरिया, कमलरी राख्ने, किन्ने प्रचलनबारे यो उपन्यासमा वस्तुनिस्ट तबरले विश्लेषण गरिएको छ ।

एक कमलरी कसरी सामाजिक अभियन्ताको रुपमा उदाउँछिन् र समाजसेवी बनेर कसरी सर्वोत्कृष्ट पुरस्कारले सम्मानित हुन्छिन् भन्ने कुरालाई रोचक र सनसनीपूर्ण ढंगबाट उपन्यासमा दर्शाइएको छ । पढ्दै गर्दा यो कृति सिर्फ एक उपन्यास हो, पात्रहरु काल्पनिक हुन् जस्तो कत्ति पनि लाग्दैन ।

लेखक रामलाल जोशीले सखीलाई सक्कली जिन्दगीकै कथा भनेका छन् । सखीमा माओवादी द्वन्द, कमैया र कमलरी आन्दोलन अघि र पछिको अवस्थालार्ई सजीव चित्रण गरेका छन् । आन्दोलनले विस्थापिन गरेकाहरुको कहानी जोडेका छन् । गरिबीको पहाडले थिचिएका थारुलाई माओवादी आन्दोलनले कसरी मिलिसिया र लडाकु बनायो, कसरी उनीहरुले आफ्नै मालिकसँग विद्रोह गरे ? यसको जवाफ सखीमा छ । कसरी उनीहरुको ब्रेनवास गरियो । जस्ता कुराको उजागार गर्न सफल देखिन्छन् लेखक रामलाल ।

थारुहरु कमलरी र कमैया आन्दोलनमा उत्रदा भोकै बस्नुपरेको वाध्यता उता जमिन्दारहरुको खेत बाँझै हुँदाको वास्तविक अवस्थाका बारेमा बोलेको छ सखी । उनले प्रेमका बारेमा निकै मार्मिक शब्द बुनेका छन् ।

प्रेममात्रै एउटा यस्तो अचुक औषधी हो, जसको अनुभूतिले संसारमा सुख र आनन्दको वर्षा हुन्छ । लेखकले उपन्यासमा अध्यात्मवादलाई पनि जोडेका छन् । ‘सिर्जनशील आनन्द केन्द्र’ नामक आश्रममा सत्सँग र जीवनोपयोगी प्रवचनका कार्यक्रम हुने गर्छन् । सोहीमार्फत पाठकलाई जीवन र जगतलाई बोध गराउन प्रयास गरेका छन् । जसले जीवनलाई बुझ्न र बाँच्न उत्प्रेरणा जगाउँछ ।

लेखकले यौन कुण्ठा र यौन व्यवहारबारे जीवनसँग जोडेर लेखेका छन् । लामो समय लोग्नेबाटटाढा बस्नु पर्दा आफ्नो यौनिक उद्वेगलाई काबुमा राख्न नसक्दा, उनको परपुरुषसँग परागमन हुन पुग्छ । जसको करणले उनलाई पतीत र घोकेबाज उपमा दिँदै समाजमा घृणा, तिरस्कार, अपमान र बहिस्कार गरिन्छ । उमेर, शरीर र समयले ल्याइआएका शारीरिक संवेगलाई समन गर्न गरिएका कुनै पनि दैहिक क्रिया के पाप र अपराध हुन्, भन्ने प्रश्न गर्छन् लेखक ।

नारी जातिको बारेमा लेखकले एक प्रवचनकर्तामार्फत व्याख्या गरेका छन् । एउटा नारी श्रीमती हुनसक्छे, प्रियसी हुनसक्छे । परन्तु हजार मनिसकी आमा हुनसक्छे, मात्र हृदय हो नारी । हजार मनिसको साथी हुनसक्छे, सखी ह्दया हो नारी । नारी वक्रको लहरा जस्तै लहरिन सक्छे । आकाश बेली जस्तै फैलिन सक्छे । बरको रुख जस्तै झ्यागिन सक्छे । त्यो विशाल हृदय हो नारी, ममताकी खानी । लेखकले नारीको सम्मानमा अनेक उपमा जोडेका छन् ।

लेखकमा काव्यचेत समेत भएकाले कतिपय हरफ छन्द मिलाएर लेखेका छन् । सखी पढ्दा कविता पढेकोझै भान हुन्छ । यद्यापि कतिपय ठाउँमा कविता नै कोरेका छन् । सुरुका च्याप्टरमा थारु भाषामै संवाद लेखिएको पाइन्छ तर नेपाली भाषामा अनुवाद पनि गरिएको छ । थारु तथा सुदुर पश्चिमतिर बोलिने स्थानीय भाषा र शब्दको प्रयोगले पाठकलाई थारु तथा स्थानीय कला संस्कृति बुझ्न सहयोग गरेको छ । कवि मनोरथामार्फत लेखिएको कविता साह्रै मार्मिक छ ।

यही नेर गर्नु छ तिम्रो वीरताको परीक्षा मैले
लिनु छ तिम्रो महानताको परीक्षा मैले
यदि तेसो होइन भने सधैं टाङमुनि लुक्न खोज्ने
तिम्रो लिंग काटेर चढाइदेउ बागेश्वरी मातालाई
म मेरा लुक्न खोज्ने होइन, सधैं बाहिर निस्कन खोज्ने,
एक जोडी उन्नत स्तन तिमीलाई दान दिन तयार छु ।

लेखकले सखीमा दर्शनसमेत समावेश गरेका छन् । चोट र विछोडका कति घाऊ छँदै थिए, गीत लेख्न थाले । अधुरा मायाका कथाले घाइते बनाएकै थिए, गजल लेख्न थाले । अभाव, पीडा, दुःखका चाङ छदै थिए, कविता लेख्न थाले ।

‘समयले कसलाई सफल हुन दिदैन र ! संघर्षद्वारा को स्थापित हुन सक्दैन र ! मेहनेतले कसलाई खुुसी बनाउदैन र ? त्यसैगरी प्रेमको बारेमा यसरी उनले भावना व्यक्त गरेका छन् । फूल कहिल्यै सोधेर भमरामा समर्पित हुन्छ र ! ढुकुरको जोडीले अनुमति लिएर गला मिलाउछ र ? रति विलासका लागि गाईको जस्तो डुडाउने स्वभाव मान्छेको कहाँ हुन्छ र ? भैंसीको जस्तो कराउने इच्छा मान्छेलाई कहाँ लाग्छ र ? मान्छे त मनहरु मिलाएर चूपचाप समर्पित भईदिन्छ प्रेममा । मन त एउटा अनुभूति न हो, माया त एउटा अनुभव न हो । प्रेमका लागि बोली कहाँ चाहिन्छ र ? बोली त एउटा आडम्बर न हो ।

प्रेमका पक्षमा फूल र भमराबाट मान्छेले सिकेको सर्वोत्तम ज्ञान यही हो कि प्रेम भई दिन्छ चूपचाप, चूपचाप । म प्रेम गर्छु नभने र नै मान्छे प्रेममा समर्पित भइदिन्छ । मान्छेले ठीकठीकै जिन्दगी जिउनु पर्छ बाबै ! ईश्वरले भन्दा बढी खुसी हुन थाल्यो भने त्यो कहाँ सह्य हुन्छ र इेश्वरलाई ! भगवान माथि चुनौती बर्जित छ संसारमा भन्दै उनी आफूले अत्यन्त मन पराएकी आफ्नी प्रियासीको विछोडमा यसरी भावविह्ल बनेका छन् । सुखमा हजार साथीसँगै हुँदा दुःखमा एक्लै हुनुपर्छ । जब साथ दिन्छु भन्नेहरुले हात छोड्छन्, तबमात्र आफन्तहरुको खोजी हुने गर्छ । धेरै मान्छे जिन्दगीमा आफ्ना जस्ता लाग्छन् तर थोरैमात्रै साच्चिकै आफ्ना हुन्छन् भन्ने ध्रुवसत्य सखीमा छ ।

धनी परिवारकी केटी र गरिब परिवारमा जन्मेको केटाबीचको प्रेम यो समाजमा कस्तो होला ? ‘उ आकाशकी चन्द्रमा, म घर्तीको धूलो । उ पूर्वको अरुणिमा –बिहानी लाली), म पश्चिमको अन्ध्यारो । कहाँ उ पवित्र गंगाको जल, कहाँ म खहरेको भेल । उ चिल्लो कारमा सवार भएर आउने सुकन्या, म सडकको धूलो खाएर आउने फकिर । के हाम्रो मिलन सम्भव छ र ? उपन्यासको अर्को मुख्य पात्र मानवले यस्तै सोचेको छ । यो समाजको यथार्थ चित्रण हो ।

विवाह र प्रेमका सम्बन्धमा लेखकको कुरा दार्शनिक ओशोसँग मेल खान्छन् । विवाहपछि प्रेमको मृत्यु हुन्छ । विवाह गर्नका लागी केटीलाई केटा र केटालाई केटी संसारमा खोजेर पाइन्छ । मागेर पाइन्छ । तर माया गर्ने मान्छे मागेर पाइदैन । खोजेर पाइदैन । त्यसैले माया गर्ने मान्छेलाई सधैं मायालुकै रुपमा रहनु दिनु पर्छ । मायालुसँग बिहे गरेपछि त्यो माया प्रेम नष्ट हुन्छ । विवाहले स्वार्थको साघँुरो घेरामा मान्छेलाई बाँधिदिन्छ । जबकि मायाले बन्धनहरु टुटाउन सिकाउँछ । प्रेमको आनन्द जीवन जत्तिकै लामो हुन्छ तर सेक्सको आनन्द मृत्यु जत्तिकै छोटो । लेखकले सेक्सको बारेमा धेरै शब्द खर्चेका छैनन् तर सेक्सलाई कलात्मक ढंगबाट सखीमा प्रस्तुत भने गरेका छन् ।

लेखकले थारुहरुको परम्परागत भेषभूषा र संस्कृतिमा आएको परिवर्तनसमेत समावेश गरेका छन् । थारुका सखिया नाच, थारुका माटोले लिपेर बनाइएका टहरा रुपान्तरित भएर थारु भिलेज र थारु कटेज बनिरहेकोबारे चिन्ता व्यक्त गरेका छन् । वर्तमान परिप्रेक्ष्यमा ओरिजिनल थारु विस्थापित भई डुप्लिकेट थारु देखिन थालेको यथार्थ चित्रण गरेका छन् । अन्तमा, सखी एउटा पश्चिमेली भाषा साहित्य, कला, संस्कृती र परिवेशको बारेमा लेखिएको पढ्न लायक उपन्यास हो । जसले पाठकलाई मनोरञ्जनसहित ज्ञान पनि प्रदान गर्छ ।

तपाईको प्रतिक्रिया