भारी हिमपात र हावाहुरीले मुस्ताङको जनजीवन कष्टकर

समाधान संवाददाता २०७५ माघ २७ गते ११:५६

सुन्दरकुमार थकाली
जोमसोम

शुक्रबार मध्यराति परेको भारी हिमपातका कारण हिमालपारिको जिल्ला मुस्ताङको जनजीवन अस्तव्यस्त बनेको छ । भारी हिमपातको असरले स्थानीय सर्वसाधारणको दैनिकीसमेत प्रभावित भएको छ ।

हिमपातकै कारण अहिले सिंगो मुस्ताङमा विद्युत सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार शुक्रबारको हिमपातले केन्दी्रय विद्युत प्रसारण लाइनको इन्टेकमा हिउँ जमेका कारणले विद्युत सेवा बन्द भएको हो । सदरमुकाम जोमसोम क्षेत्रमा भने सौर्य ऊर्जा सोलार प्यानल, जेनेरेटर र इन्भर्टरको सहयोगमा टेलिफोन सेवा कामचलाउ गरिएको छ । जोमसोममा सञ्चार सम्पर्कलाई सहज बनाउने प्रयास गरिए पनि इन्टरनेट सुविधा रोकिँदा कुनै पनि कार्यालयका सिस्टमले काम गर्न नसकेको उनले बताए ।

Advertisement

उपल्लो मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, थासाङ गाउँपालिकामा लगायत सदरमुकामसँग जोडिएको घरपझोङ गाउँपालिका अन्र्तगतका १, २ र ५ नम्बर वडामा समेत पुरै विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ । उनले विद्युतलाइन तथा सञ्चार सेवा अवरुद्ध भएकाले मुस्ताङको जनजीवन कष्टकर बनेको बताए ।

केही दिनअघिको लगातारको हिमपातको असरले जोमसोम मुक्तिनाथ सडकखण्ड विगत १० दिन अगावै बन्द भएको छ भने उपल्लो मुस्ताङ रुटमा चल्ने सवारी साधन केही महिना अघि नै बन्द भएका छन् । मुस्ताङमा शुक्रबार राति तल्लो क्षेत्र जोमसोम, मार्फा, टुकुचे, कोवाङ, लेते, घाँसा लगायतका स्थानमा २ फिट बढी हिउँ परेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । सडक हिउँले सेताम्मे बनेपछि पोखरादेखि जोमसोम रुटमा चल्ने सबै किसिमका साधन हिउँकै कारण चल्न सकेनन् । ‘सडक पुरै हिउँले ढाकिएको छ, ट्र्याक दैखिँदैन,’ प्रहरी नायब उपरीक्षक खड्काले भने, ‘हिउँ नपग्लिएसम्म सडक खुल्ने अवस्था छैन, सडक सुचारु हुन मौसममा सुधार आउनुपर्नेछ ।’

Advertisement

जोमसोम–मुक्तिनाथ सडक हिमपातले अवरुद्ध भएपछि ४ दिनअघि हवाईसेवा मार्फत पोखरादेखि जोमसोम आएका १० जना भारतीय पर्यटक जोमसोममै अलपत्र परेको होटल ट्रेकर इनका सञ्चालक सुकबहादुर लालचनले जानकारी दिए । ‘मुक्तिनाथ सडक हिउँले ढाकिएको छ, सवारी चल्ने अवस्था छैनन्,’ उनले भने, ‘टाढा उनीहरु होटलमै बस्न बाध्य छन्, पैदलै पुगेर मुक्तिनाथ दर्शन गर्नसक्ने अवस्थासमेत छैन ।’

शुक्रबार राति र शनिबार बिहानपख परेको हिमपातका कारण जोमसोम–पोखरा हवाई उडानसमेत प्रभावित भएको छ । जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख भानु कोइरालाका अनुसार जोमसोमको हवाईजहाज अवतरण गर्ने धावनमार्गमा २ फिट हिउँ थुप्रिएको छ । ‘अहिलेसम्मकै ठूलो हिमपात भयो, धावनमार्ग पूरै हिउँले छोपिएको छ,’ उनले भने, ‘मौसममा सुधार नआएसम्म हवाई उडानको ग्यारेण्टी छैन, मौसम राम्रो भएमा हिउँ सफा गरी उडान भर्ने वातावरण मिलाउँछौं ।’ अहिले जोमसोम विमानस्थलको करिब ५ सय मिटर कालोपत्रे धावनमार्गमा हिउँ जमेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले मौसममा सुधार हुनासाथ हिउँ पन्छाउन पहल गर्ने जनाएको छ । मुस्ताङमा बेजोडको हावाहुरी चलेपछि विगत ४ दिन अघिबाट जोमसोममा कुनै उडान हुन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

हिमपातले मुस्ताङको पूरै सडक ढाकिएको छ भने डाँडापाखा सेताम्मे बनेका छन् । उपल्लो मुस्ताङमा ३ फिट बढी हिउँ जमेको छ । उपल्लो मुस्ताङमा चाैंथो पटक लगातार हिउँ परेपछि स्थानीयको दैनिकीमा समेत परेको हो । त्यहाँ खानेपानीको मुहान, नदीनाला र सेफ्टी ट्याङ्कीसमेत जमेकाले स्थानीयले सास्ती थपिएको हो । त्यहाँका स्थानीय गुइँठा बालेर जाडो हटाउने, खाना पकाउने र तातोपानी तताएर दिन काट्न विवश भएका हुन् । मुस्ताङ तल्लो क्षेत्रमा समेत शुक्रबारको हिमपातले त्यस्तै अवस्था सिर्जना भएको जनहित माध्यमिक विद्यालयकी शिक्षिक प्रमिता थकालीले जानकारी दिइन् । उनले धारा, मुहान, विद्युत र सञ्चार सुविधा प्रभावित भएको जनाइन् ।

हिमपातले विद्युत तथा सञ्चार सुविधा अवरुद्ध भएपछि मुस्ताङमा अवस्थित सेवाप्रदायक संघ संस्था प्रभावित भएका हुन् । स्थानीय तहलाई लक्षित गरी सञ्चालन गरिएको ५ वटै स्थानीय तहका बैंक तथा वित्तीय संस्थाको कारोबारसमेत ठप्प भएको प्रभु बैंक जोमसोमका शाखा प्रमुख नरेन्द्र थकालीले जानकारी दिए ।

हिमपातले मुस्ताङको छेंगुर गाउँको सामुदायिक समाजघर हिउँको भार थाम्न नसकी छत खस्न पुग्दा भौतिक संरचनामा क्षति पुगेको इलाका प्रहरी कार्यालय मुक्तिनाथले जनाएको छ । हिमपात र हावाहुरीले वारागुङ मुक्तिक्षेत्रकै छुसाङको जननर्मल आधारभूत विद्यालय र कागबेनी धर्मशाला भवनको छानो उडाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सूचना अधिकारी सूर्य तिमिल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया