तनहुँ जलविद्युत आयोजनाको विद्युत गृह निर्माण सुरु

समाधान संवाददाता २०७५ माघ २७ गते १२:३५

कृष्ण न्यौपाने
दमौली

१ सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत गृह निर्माणको प्रक्रिया सुरु भएको छ । आयोजनाको दोस्रो प्याकेज अन्तर्गत सम्झौता भए बमोजिम चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले विद्युत गृह निर्माणको प्रक्रिया सुरु गरेको हो ।

कम्पनीले हाल कार्यालय स्थापना लगायतका काम गरिरहेको आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिए । उनले भने, ‘ठेक्का सम्झौता भए बमोजिम काम सुरु गर्नका लागि कम्पनीका कामदार परिचालन भएका छन् ।’ आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका प्याकेजका लागि सिनो हाइड्रोसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाखमा सम्झौता भएको थियो ।

Advertisement

अधिकारीका अनुसार आयोजनाको ट्रान्समिसन लाइन निर्माणका लागिसमेत ठेकेदार कम्पनीले काम सुरु गरिसकेको छ । उनका अनुसार ट्रान्समिसन लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीले जिम्मा पाएको छ । आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि भने केही अन्योल बाँकी छ । मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले नै पहिलो प्याकेजको संरचना निर्माणका लागि सम्झौता गरेको थियो ।

सरकारले मेलम्चीमा सिएमसीसँगको ठेक्का तोडिसकेको छ । स्वदेश फर्किएका कम्पनीका ठेकेदारहरु हालसम्म फर्किएका छैनन् । उक्त कम्पनीलाई आगामी फागुन ६ गतेसम्मको समय दिइएकाले उक्त समयसम्म कुर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ । ‘उहाँहरुलाई दिएको समयावधि बाँकी छ, त्यसबेला कुर्छौं, त्यसपछि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं,’ अधिकारीले भने । पहिलो प्याकेजको संरचना निर्माणका लागि सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाखमा खरिद सम्झौता भएको थियो ।

Advertisement

थप जग्गाका लागि मुआब्जा

आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका ५ वेतेनीको ५० रोपनी जग्गाका लागि ७ करोड ५० लाख मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ । ६२ जना प्रभावित मध्ये ४३ जनाले मुआब्जा बुझेका छन् । आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि बजेट विनियोजन गरेको छ । आयोजनाको ड्याममा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिएको हो । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद बिक्री सम्झौता भइसकेको छ । तनहँुको रिसिङ गाउँपालिका १ मा कार्यालय तथा कर्मचारी आवास गृह निर्माण भइसकेको छ ।

आयोजनाको लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी) ले अमेरिकी डलर १ सय ५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अमेरिकन डलर १ सय ८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी) ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता भइसकेका छन् ।

तपाईको प्रतिक्रिया