सामाजिक सञ्जालबाट पैसा उठाएर खेल मैदान

राजन उपाध्याय
दुलेगौंडा
सामाजिक सञ्जालबाट उठाएको पैसाले फुटबल मैदान निर्माण गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११, राईपुरमा स्थानीय युवाको सक्रियतामा गामीचौर फुटबल मैदान निर्माण गरिएको हो ।
सामाजिक सञ्जालमार्फत उठाएको ७ लाख ५० हजार रुपैयाँ र नगरपालिकाले त्यतिनै रकम थप गिरिदिएपछि गाउँमै खेलमैदान बनाउने युवाहरुको सपना पूरा भएको हो । गामीचौरमा विसं २०५५ सालमा कोदालीले खनेर बनाएको सानो क्षेत्रले अहिले खेल मैदानको रुप लिएको हो । ‘२० वर्ष अघि यहाँ विभिन्न खेल खेल्थ्यौं, गामीचौर फुटबल मैदान उपभोक्ता तथा निर्माण समितिका अध्यक्ष वृहस्पति लम्सालले भने, ‘सानैदेखि गाउँमा खेल मैदान निर्माण गर्ने रहर थियो ।’
खेलतर्फ चासो राख्ने उनले रहरलाई पूरा गर्न सामाजिक सञ्जालको उपयोग गरे । साथीभाइ र खेलप्रेमीलाई सहयोगको लागि आह्वान गरे । ‘देश विदेशमा रहेका स्थानीयलाई मैदान बनाउने भनेपछि उहाँहरु पनि उत्साहित हुनुभयो, लम्सालले थपे, बैंक खातामा सहयोग आउने क्रम सुरु भयो ।’ १ जनाबाट कम्तीमा ५ हजारदेखि ७० हजार रुपैयाँसम्म सहयोग भएको उनले बताए । कबुल गरेको पैसा उठ्नै बाँकी छ भने कतिपय विदेशमा रहेका युवाहरुले थप सहयोग गर्ने आश्वासन दिएका छन् । मैदान सेभेन ए साइड प्रतियोगिताको लागि उपयुक्त रहेको लम्सालले उल्लेख गरे ।
यस क्षेत्र प्रायः भिरालो जमीन भएकाले पनि समथर भूभाग पाउन मुस्किल छ । भिरालो मैदानलाई नै सम्याएर मैदान निर्माण गरिएको हो । अहिले फूटबल मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको छ । साँझेदारीमा निर्माण गरिएको मैदानलाई व्यवस्थित बनाउन थप रकम आवश्यक पर्ने वडा नम्बर ११ का अध्यक्ष दलबहादुर थापाले बताए ।
करिब ४ रोपनीमा फैलेको मैदानलाई चारैतिर तारजालीले उठाउनुपर्ने अध्यक्ष थापाले उल्लेख गरे । ‘दर्शक बस्ने ठाउँ पनि बनाउनु जरुरी छ,’ उनले भने, ‘त्यसपछि मात्र हेर्न लायकको मैदान हुने छ ।’ मैदानले स्थानीय युवालाई खेलतर्फ थप आकर्षित गरी खेल क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने उनको विश्वास छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया