जोमसोम–कोरला सडक ग्राभेलिङ असारसम्म सकिने

समाधान संवाददाता २०७५ माघ २८ गते १२:२०

सुन्दरकुमार थकाली
जोमसोम

अन्तर्गतको जोमसोम–कोरला ग्राभेल सडक विस्तार कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने उत्तर–दक्षिण जोड्ने व्यापारिक मार्ग विस्तारित आयोजनाले जनाएको छ । गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मुख्य ढोका बन्ने विश्वास गरिएको बहुचर्चित राजमार्गको दुरी जोमसोमदेखि कोरलासम्म १ सय १० किलोमिटर छ । बेनी–जोमसोम सडकखण्ड ७४ किलोमिटर छ ।

२ लेन ग्राभेल सडक विस्तार हुँदै गरेको उक्त सडकको स्तरोन्नति २०७४ सालबाट सुरु गरिएको हो । आयोजनाले यहाँ ७० प्रतिशत काम सम्पन्न भएको जनाएको छ । यसअघि उक्त सडकको छोसेर–कोरला १६ किलोमिटर सडकको अन्तिम प्याकेज गत असार मसान्तमै कालिगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण भइसकेको छ । ७ खण्डमा काम भइरहेको जोमसोम–कोरला सडक हिउँदयामको चिसोले प्रभावित भएको थियो ।

Advertisement

यहाँ पुस महिनाअघि नै सडकको काम चिसोका कारण स्थगित भएको करिडोर सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । उनका अनुसार जोमसोम झैते ५२ किलोमिटर र झैते कोरला सडक ५८ किलोमिटर छ । उक्त सडकको ७ प्याकेजमध्ये एउटा सम्पन्न भएको, बाँकी ५ खण्डमा ९० प्रतिशत प्रगति भएको करिडोरले उल्लेख गरेको छ । तर, प्याकेज ४ अन्तर्गत चैलेदेखि झैतेसम्मको १२ किलोमिटर क्षेत्रको समर–भियनामा कडा चट्टाने पहाडका कारण ठोस उपलब्धि हुन नसकेको आयोजना प्रमुख अधिकारी बताए ।

समर गाउँमाथि पर्ने करिब २ किलोमिटर दुरीमा कडा चट्टाने पहाड रहेको हुँदा सडक स्तरोन्नति गर्न कठिन भएको छ । उक्त ठाउँको सडकलाई फराकिलो पार्न र थप स्तरोन्नतिका लागि करिडोरले हालै रक्षा मन्त्रालयमार्फत ब्लास्टिङका लागि अनुमति प्राप्त गरेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।

Advertisement

समरदेखि भियनासम्म पर्ने चट्टाने भीर काट्न नेपाली सेनाले सुरक्षा निगरानी दिने उनले बताए । उक्त ठाउँ उपल्लो मुस्ताङ पुग्ने सबैभन्दा जोखिम स्थानका रुपमा लिने गरिन्छ । यहाँ सवारीसाधन आवतजावतका लागि कठिन भइरहने र छोटो ट्रेनिङका कारण समस्या पर्ने गरेको छ । भीरको चट्टान फोर्न करिडोरका मजदुरलाई आवश्यक तालिम उपलब्ध गराई सडक फराकिलो बनाइने अधिकारीले जनाए । उनले उक्त कार्य आगामी वैशाखअघि नै सुरु हुने जानकारी दिए ।

जोमसोम–कोरला सडकको सबै भन्दा जोखिम सडकको रुपमा रहेको समर भियना सडकखण्डको सजिलोबाहेकको उक्त ठाउँमा कुनै काम थालिएको थिएन । सजिलो ठाउँमा काम गरेर प्रगति देखाई भुक्तानी लिने ठेकेदारको रबैयाका कारण समर भीरको काम अघि बढ्न नसकेको स्थानीयबासी बताउँछन् । चैलेदेखि भियनासम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा कञ्चनजंघा लामा बिल्डर्स बिरुवा जेभीले लिएको हो ।

उक्त कन्सट्रक्सनले समरको भीर फोर्ने काम वैशाखमा सुरु गर्ने आयोजना प्रमुख अधिकारीको भनाइ छ । ‘मजदुर सबै घर फर्किएका छन्, भीर फोर्न फायरिङका सामाग्री पुर्‍याउँँदै छौं,’ उनले भने, ‘वैशाखबाट काम सुरु हुनेछ, आगामी आर्थिक वर्षमा उपल्लो मुस्ताङ जाने सवारी साधनलाई सहज हुने गरी काम थाल्छौं । ‘चिसो मौसमका कारण जोमसोम–कोरला सडकको काम यतिबेला पूरै रोकिएको छ । करिब १ हजारभन्दा बढी मजदुरले काम गरेको उक्त सडकमा गर्मीयाम सुरु हुन साथ मजदुर फर्किनासाथ काम अघि बढाइने उनले बताए ।

तल्लो मुस्ताङमा कालोपत्रे हुने
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत तल्लो मुस्ताङमा वैशाखमा कालोपत्रे गरिने भएको छ । करिडोरले मुस्ताङको लेतेदेखि जोमसोमसम्मको करिब ४० किलोमिटर सडकलाई कालोपत्रे गर्ने तयारी गरेको हो । करिडोरका इन्जिनियर जगत प्रजापतिका अनुसार मुस्ताङको तल्लोखण्डमा कालोपत्रेको परीक्षण गर्दै अन्य स्थानको कालोपत्रे योजना बनाइने जानकारी दिए ।

करिडोरले लेतेदेखि जोमसोमसम्मको सडकमा ग्राभेल गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ । बेनी–जोमसोम सडकखण्डमा समग्रमा ४५ प्रतिशत कामको प्रगति भएको इन्जिनियर प्रजापतिले बताए । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको काभ्रेभीर र महभीरको चट्टान कटिङ गर्ने काम भइरहेको उनले जनाए । बेनी–जोमसोम सडकखण्डलाई ४ प्याकेजमा काम भइरहेको छ । काभ्रेभीर, दाना, महभीर र घाँसा लगायत ठाउँमा सडक फराकिलो पार्न रिटेरिङवाल तथा ग्याबिन लगाउने कार्य गरिएको छ ।

यहाँ हिउँदयाम मुस्ताङ जाने सवारी न्यून हुने भएकाले जोमसोम आउने सवारीलाई समय तालिका मिलाइएको हो । ‘हिउँदयाम मुस्ताङमा कम पर्यटक जान्छन् । कागलाई तिब्र गति दिन समय मिलाएका हाैं,’ इन्जिनियर प्रजापतिले भने, ‘पर्यटकलाई दुख दिने उद्देश्य होइन । वर्षायाम काम सवारीफ्लोका कारण काम बाधा पुग्छ ।’

बेनी–जोमसोम सडकमा हाल करिब १५ सय मजदुरले काम गरिरहेको र करिब २ दर्जन मेसिन प्रयोग भइरहेको इन्जिनियर प्रजापतिले जानकारी दिए । मुस्ताङमा समथर भूभाग भएको र नदी डाइभर्सन गदै काम गर्न सजिलो भएकाले कामको प्रगति भएको हो भने, म्याग्दी खण्डमा वर्षायाममा पहिरो जाने, जमिन भासिने र सडक डाइभर्सन गर्न नमिल्ने भएकाले अप्ठेरो परेको इन्जिनियर प्रजापतिको भनाइ छ ।

तपाईको प्रतिक्रिया