जिएमसीका विद्यार्थीलाई विवेकशील साझाको समर्थन

समाधान संवाददाता २०७५ माघ २८ गते १७:११

पोखरा, समाधान

विवेकशील साझा पार्टी गण्डकी प्रदेशले आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीको मागप्रति ऐक्यबद्धता जनाएको छ । विवेकशील साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर गण्डकी मेडिकल कलेजले मनपरी गरेको उल्लेख छ ।
‘यो सरासर लुटतन्त्र हो । कलेजले विद्यार्थीमाथि गरेको यो अन्यायप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ,‘ मनपरी शुल्कविरुद्ध विद्यार्थीले गरेको आन्दोलनप्रति हाम्रो पार्टीले ऐक्यबद्धता जनाउँदै कलेजलाई तत्काल यस्ता हर्कत रोक्न आग्रह गर्दै प्रशासन समक्ष उचित छानबिनको माग गर्दछ ।’
विवेकशील साझा पार्टीले गण्डकी मेडिकल कलेजले विद्यार्थीलाई थप शुल्कको बिल भरपाई नदिएर करप्रणाली नमानेको आरोप लगाएको छ । कलेजले विद्यार्थीलाई अन्याय गर्नुका साथै करप्रणालीमाथि नै प्रहार गरेकाले प्रशासनले आवश्यक छानबिन गर्नुपर्ने माग गरिएको छ ।
काठमाडौं उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीलाई ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने सरकारी नियम छ । यद्यपि विद्यार्थीले ५५ लाख रुपैयाँभन्दा बढी शुल्क तिर्नुपरेको बताएका छन् । हाल कलेजले शुल्क घटाउनुपर्ने मागसहित विद्यार्थी आन्दोलित हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया