प्रदेश प्रमुखको निर्देशनः विधि मिचेर शासन नगर्नुहोस्

समाधान संवाददाता २०७५ माघ २९ गते ८:०९

जमुना वर्षा शर्मा

सरकारले काम गर्दा प्रचलित विधि विधान नमिच्न गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले निर्देशन दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको २८ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रमुख कुँवरले भ्रष्ट आचरणले आफु मात्रै नभई पुस्ताै पुस्ताको खुसी पनि लुट्ने भन्दै विधिको शासन भित्र रहेर आफ्नो जिम्मेवारी र कर्तव्यलाई पालना गरेर राष्ट्रसेवको परिचय दिन आग्रह गरे ।

समाजमा भ्रष्टाचार र बेथिति बढिरहँदा लोकतन्त्रको सुन्दर पक्ष गुमिरहेको भन्दै उनले भने, ‘जो कोहीलाई जे पनि गर्ने छुट छ, तर विधिको शासनभित्र रहेरमात्र गर्नुस् ।’ उनले सुशासन विनाको समाजले समृद्धि हासिल हुन नसक्ने भन्दै भ्रष्ट आचारणले समाज दुर्गन्धित हुने बताए । ‘जहाँ हामी बस्छौं त्यो सफा गर्ने दायित्व पनि हाम्रो हो,’ उनले भने, ‘राज्यको मात्रै होइन नागरिकको पनि कर्तव्य छन् त्यो पनि पालना गरौैं ।’

राष्ट्रसेवकले राष्ट्रभक्तिको सपथ खाएर राष्ट्रहित विपरीत काम गर्न नहुने भन्दै भ्रष्टाचार न्यूनीकरण संयन्त्रले मात्रै नभई स्वच्छ मन र स्वच्छ आचरणबाट सम्भव हुने बताए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य सचिव लक्ष्मीराम पौडेलले सूचना प्रविधिको विकासले भ्रष्टाचारका स्वरुप र शैली पनि परिवर्तन हँुदै गएको बताए । नियामक निकायहरुले अपनाउने गरेका नियन्त्रणका उपाय प्रक्रिया र पद्धतिमा सुधार एवं क्षमता विकास गर्नुपर्ने उनको भनाइ थियो ।

Advertisement

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कर्मचारीलाई घुस दिने बानीको विकास कतिपय अवस्थामा सेवाग्राहीबाटै हुने गरेको सुनाए । ‘आफ्नो काम किन भएन भनेर बुझ्न नखोज्ने पैसा दिएपछि हुन्छ भन्ने मनोवृत्तिले गर्दा पनि भ्रष्टाचार मौलाएको छ,’ उनले भने, ‘घुस लिने दिने दुबै समाजका लागि घातक हुन् ।’ यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सेवाग्राहि मैत्री कार्यलयमा जोड दिनु पर्ने बताए ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले समाजमा धनहुनेलाई मान्ने परम्परा र संस्कारले पनि भ्रष्टाचार बढ्दै गएको बताए । उनले सामाजिक परम्पराभित्र भ्रष्टाचारीलाई बहिस्कार गर्ने परिपाटी नहुँदा र दण्डहीनतताको अन्त्य हुन नसक्दा भ्रष्टाचार मौलाइरहेको विचार राखे ।

Advertisement

नगरिक अभियन्ता रामबहादुर पौडलले भ्रष्टाचारको दलदलमा देश दिनप्रतिदिन फस्दै गएको भन्दै सचेत नागरिकले खबरदारी गर्ने आवश्यक भएको औंल्याए । सुशासनकालागि नागरिक समाजका अध्यक्ष वेदनाथ शर्माले सानो माछालाई मात्रै नभई ठुलाठुला माछाप्रति पनि अख्तियारले ध्यान दिएर आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार जगत सधै भ्रष्टाचारविरुद्ध अभियानमा रहेको भन्दै सुशासन स्थापित सञ्चारको धर्म भएको बताए । भ्रष्टाचारविरुद्ध जनमत निर्माण गर्न सरोकारवालाबीच साझेदारिता आवश्यक रहेको औंल्याए ।

आयोग पोखरा कार्यालयका उपसचिव रमेश ढकालले स्वागत मन्तव्यमा सबैको सहयोग र ऐक्यबद्धताले मात्र समाजमा व्यवहारगत परिवर्तन र सकारात्मक सोच निर्माण भई भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको संस्कृतिको निर्माण हुन सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

अख्तियार पोखरा कार्यालयका प्रमुख काशिराज दाहालले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्न आयोगले प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक गरी तीन खम्बे रणनीति अवलम्वन गरेको सुनाए ।

उनले पोखराको कार्यक्षेत्र अन्तर्गत जिल्लामा सुशासन प्रवद्र्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम विभिन्न ९ वटा विद्यालयमा भ्रष्टाचार नियन्त्रण सम्बन्धी सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न गरिएको बताए । उनले सार्वजनिक निकायका प्रमुख तथा प्रतिनिधिसँग समन्वयात्मक छलफल गरी सम्भावित भ्रष्टाचारजन्य कसुर हुनबाट रोकथाम गर्ने प्रयास गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया