पोखरा महानगरमा अपांगता परिचयपत्र वितरण सुरु

समाधान संवाददाता २०७५ माघ २९ गते ८:१८

समाधान संवाददाता

पोखरा महानगरपालिकाले अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण सुरु गरेको छ । पोखरा महागनरका उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले संयुक्त रुपमा पोखरा २३ का पुष्करराज उपाध्यायलाई पूर्ण अपांगताको रातो पचिरयपत्र प्रदान गरेका थिए । परिचयपत्रमा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुपर्ने परिचय पत्र कार्यविधिले व्यवस्था गरेको छ । 

सरकारले अपांगताको वर्गीकरण गरेको छ उनले भनिन्, ‘हामीले त्यही कार्यविधिले व्याख्या गरेका आधारमा परिचयपत्र वितरण गरेको छौं ।’ उपमेयर गुरुङले पूर्ण अपांगता भएका व्यक्तिलाई महानगर आउन असहज भएको बताउँदै वडा वडामै पुगेर वितण गर्नुपर्ने अवस्था देखिएको बताइन् । महानगरले पहिलो दिन ४० जनालाई परिचयपत्र वितरण गरेको छ ।

Advertisement

महिला तथा बालबालिका कार्यालय पोखरा महानगरपालिका मातहत आएपछि पहिलो पटक महानगरले अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण सुरु गरेको हो । परिचयपत्र वितरणका लागि आवश्यक कार्यविधि र समिति नबन्दा अपांगता भएका व्यक्तिले परिचयपत्र प्राप्त गर्न सकेका थिएनन्।

महानगरले अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ पारित गरे लगत्तै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा गठित अपांगता परिचयपत्र वितरण समन्वय समिति गठन गरेको थियो । समितिले अपांगता परिचयपत्रका लागि सोमबारसम्म कार्यालयमा दर्ता भएका निवेदनमाथि छलफल गरेर परिचयपत्र उपलब्ध गराइएको सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले जानकारी दिइन् ।

Advertisement

उपप्रमुख गुरुङको संयोजकत्वको समितिका सदस्यमा प्रहरी निरीक्षक चन्द्रा गुरुङ, शिशुवा अस्पतालका डा.मिलन श्रेष्ठ, प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि विष्णुमाया पौडेल, २९ नम्बरका वडा सदस्य निर्मला पौडेल, स्वाबलम्बन जीवन पद्धति समाजका अञ्जना केसी र शिव सापकोटा छन् । परिचय पत्र लिन अपांगता भएका व्यक्तिले वडा कार्यालयको सिफारिस पत्र, सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिसपत्र, जन्मदर्ता, नागरिकताको प्रमापणपत्रको प्रतिलिपि र फोटोसहित महानगरपालिकाको सामाजिक विकास महाशाखामा निवेदन दिनुपर्छ । 

पेस भएका निवेदन उपर प्रत्येक महिनाको अन्तिम सोमबार छलफल गरी अपांगता भएका व्यक्तिको उपस्थितिमा परिचयपत्र वितरण गर्ने निर्णय भएको सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले बताइन् । सोही बमोजिम सोमबार परिचयपत्र वितरण गरिएको उनले जानकारी दिइन् । 

सरकारले अपांगतालाई ४ समूहमा विभाजन गरे अनुसार फरक फरक रंगको परिचयपत्र वितरण गर्ने प्रमुख शर्माले बताइन् । पूर्ण अशक्त अपांगता भएका व्यक्तिले रातो, अति अशक्त अपांगता भएका व्यक्तिले नीलो, मध्यम अपांगता भएका व्यक्तिले पहँेलो र सामान्य अपांगता भएका व्यक्तिले सेतो रङको परिचयपत्र प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया