जिएमसीका अनसनकारी विद्यार्थीलाई अखिलको साथ

समाधान संवाददाता २०७५ माघ २९ गते ८:४२

समाधान सम्वाददाता

सरकारले तोकेभन्दा बढी शुल्क असुली गरेको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थीले ११ दिनदेखि थालेको आन्दोलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले ऐक्यबद्धता जनाएको छ ।

पटकपटक कलेज प्रशासनसँगको वार्ता विफल भएपछि गत आइतबारबाट कलेजको शिक्षण अस्पताल प्रांगणमा रिले अनसन बसेका विद्यार्थीको मागलाई तत्काल पूरा गर्न ध्यानाकर्षण गराउँदै अनेरास्ववियुले सोमबार विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएको हो ।

Advertisement

‘शान्तिपूर्ण तरिकाले विद्यार्थीले उठाएका मागलाई कलेज प्रशासनले बेवास्ता गर्न मिल्दैन,’ अनेरास्ववियु क्याम्पस जिल्ला कमिटीका अध्यक्ष विवेक देवकोटाले भने, ‘राज्यले तोकेको मापदण्ड विपरीत मनोमानी तवरले कलेजले विद्यार्थीबाट शुल्क लिन पाइँदैन ।’

विद्यार्थीका जायज मागलाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुको साटो उल्टै पीडा थप्ने गरी कलेजले नै अनसन बस्न बाध्य पारेको अध्यक्ष देवकोटाको भनाइ छ । ‘कलेज प्रशासनका यस्ता हर्कत अनेरास्ववियुका लागि स्वीकार योग्य हुने छैनन् । त्यसो त छिटोभन्दा छिटो आन्दोलनरत विद्यार्थीको माग जस्ताको त्यस्तै पुरा गर्न अनुरोध गर्दछौं । फेरि पनि विद्यार्थीका उक्त मागहरुप्रति कलेज प्रशासनले नजरअन्दाज गरे अनेरास्ववियु सिंगै आन्दोलनमा समाहित हुन बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

Advertisement

कलेजले सञ्चालन गर्दै आइरहेका एमबिबिएस, बिडिएस, नर्सिङ लगायत शैक्षिक कार्यक्रममा सरकारले तोकेको भन्दा प्रति विद्यार्थीबाट ७५ हजारदेखि १ लाख ५० हजारसम्म बढी असुलेको आरोपसहित गएको माघ १७ गतेबाट पठनपाठन नै ठप्प हुने गरी विद्यार्थी आन्दोलित छन् ।
माघ २२ गतेबाट कलेजले सञ्चालन गरिरहेको पृथ्वीचोकस्थित हस्टिपलको बहिरंग सेवा (ओपिडी¬)मा समेत आन्दोलित विद्यार्थीले तालाबन्दी गर्दा उपचार सेवा प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया