बालबालिकालाई कलिलैे उमेरमा विद्यालय भर्ना गर्नु खतरा

समाधान संवाददाता २०७५ माघ २९ गते १२:१०

केरी म्याकडोनाल्ड

मात्र १ वर्षभित्र साना बालबालिकामा देखिने विकासक्रम बारेमा अभिभावकलाई जति कसलाई थाहा होला र ?
१ वर्षको १ बालक मुस्किलले बामे सरिरहेको हुन्छ । त्यसको १ वर्षपछि ऊ तपाईंलाई समाउन हम्मेपर्ने गरी फुत्केर कुद्न थालिसकेको हुन्छ । त्यस्तै सधैं यताउती हिँड्ने कि त कल्पनामा डुबिरहने र हरेक कुरामा ‘किन’ भनेर प्रश्न गरिरहने ४ वर्षकी बालिका त्यसको १ वर्षपछि नै तपाईंको कुरामा अलि एकाग्र हुन थाल्छिन् ।

बढ्दो अपेक्षा र मानवीय व्यवहार
बालबालिका बदलिएका छैनन् तर उनीहरुबाट गरिने हाम्रा अपेक्षाहरु भने बढेका बढ्दै छन् । १ पुस्ताको फरकमा बालबालिका विद्यालय जाने उमेर झन् भन्दा झन् कम जाने मात्र होइन, बिगतको कुनै पनि समयभन्दा अहिले बढी समय बिताउन थालेका छन् । त्यहाँ उनीहरुले कलिलै उमेरमा धेरैभन्दा धेरै शैक्षिक सामाग्री सिक्नु परिरहेको छ । यो भार उनीहरुको क्षमताले भ्याउनेभन्दा बढी हुन सक्छ ।

सन् १९९८ मा ३१ प्रतिशत शिक्षकले बालबालिकाले किन्डरगार्टेन (केजी) का पाठहरु बुझ्ने अपेक्षा गर्थे । सन् २०१० मा ८० प्रतिशत शिक्षकले यो अपेक्षा गरिरहेका थिए । अब त बालबालिकाबाट केजीका पाठहरु बुझ्ने र केही लेख्ने मात्र होइन त्यसको केहीपछि नै फरर पढ्न सक्ने अपेक्षा गरिन्छ । तर, १ अध्ययनले भने सानै उमेरमा विद्यार्थीलाई पढाईको दबाब दिँदा राम्रो भन्दा नराम्रो गर्ने देखाएको छ ।

‘रिडिङ इन किन्डरगार्टेनः लिटल टु गेन एन्ड मच टु लुज’ नामक रिपोर्टमा प्रध्यापक न्यान्सी कार्ससन–पेग र उनका सहकर्मीहरुले बालबालिकालाई कलिलै उमेरमा पढाउनुको खतराबारे सावधान गराएकी छिन् ।
उनीहरुले लेखेका छन्,
‘जब बालबालिकालाई तिनको विकासको गतिसँग मेल नखाने अथवा उनीहरुको सिकाइ आवश्यकता र शैलीसँग नमिल्ने सामग्री पढाइन्छ, त्यसले उनीहरुलाई ठूलो हानी गर्छ । यसले गर्दा उनीहरुमा आफूलाई अयोग्य ठान्ने, नित्य भयवित हुने र अन्यौलमा पर्ने जस्ता समस्या देखिन्छ । ’

खेलाडीप्रति घृणा, खेलप्रति प्रेम
धेरै अवस्थामा हामीहरु विद्यालयमा समस्या देख्नेभन्दा आफ्ना नानीबाबुमा दोष देख्छौं । आजको दिनमा अवास्तविक उद्देश्यपूर्ति गर्नुपर्ने पढाई सामग्रीमा राम्रो गर्न नसक्ने बालबालिकालाई पढाइमा सुस्त भएको भनिन्छ । यस्ता बालबालिकाको पढाइको रफ्तार बढाउनको लागि विभिन्न कदम–सुझावहरु दिइन्छ ।

कक्षामा रहेका सबैले एउटै रफ्तारमा सिक्नुपर्छ भन्ने मान्यतामा विद्यालय आधारित हुन्छ । यदि बालबालिकाले शिक्षकले भनेको कुरामा ध्यान दिइरहेका छैनन् भने, धेरै समय कल्पना गरिरहेका छन् वा आफ्नो सिटमा छटपटिएर बसिरहेका छन् भने उनीहरुलाई एकाग्र हुन नसक्ने विकार ‘एटेन्सन डेफिसिटर हाइपर एक्टिभिटी डिसअर्डर (एडिएचडी)’ पहिचान गरिन्छ । यो समस्या पहिचान गरिएका धेरै जसो बालबालिकाको लागि कडा खालको मानसिक औषधी सिफारिस गरिन्छ ।

‘युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ ले अमेरिकामा ४ देखि १७ वर्षबीचका लगभग ११ प्रतिशत बालबालिकामा एडिएचडी रहको पहिचान गरिएको रिपोर्ट दिएको छ ।

यो संख्या सन् २००४ देखि सन् २०१२ बीचमै ४२ प्रतिशतले वृद्धि भयो । यीमध्ये धेरैलाई औषधी चलाइएको छ । अझ डरलाग्दो तथ्यांक यो विकार पहिचान भएका मध्ये एक तिहाई ६ वर्ष मुनिका छन् ।

यो स्वभाविक हो कि आमाबुबा वा घरका आफन्तबाहेक अरुसँग समय नबिताएका कलिला बालबालिकालाई एक्कासी तिनको परिवारबाट लामो समयको लागि छुट्टाएर जाँच–केन्द्रित पाठ्यक्रम पालना गरिनुपर्ने एउटा मानकमा निर्माण गरिएकोे कृत्रिम वातावरणमा बसाउनु त्यो उमेरका लागि ठूलो दवाव हो ।

हार्वर्ड मेडिकल स्कुलका अनुसन्धानकर्ताहरुले गरेको १ नयाँ खोजले खास समस्या बालबालिकामा नभएर उनीहरुलाई चाँडै विद्यालय भर्ना गर्ने कार्यमा रहेको पुष्टि गरेको छ ।

यी अनुसन्धानकर्ताहरुले एउटै कक्षाकोठामा रहेका विद्यार्थीमध्ये बढी कलिला विद्यार्थीमा अलि बढी उमेर भएकालाई भन्दा एडिएचडी पहिचान गरिने सम्भावना बढी रहेको पत्ता लगाएका हुन् ।

हार्वर्डका प्रमुख अनुसन्धानकर्ता टिमोथी लेटनले आफ्नो अनुसन्धानको निचोड दिँदै भनेका छन्, ‘हाम्रा खोजले ठूलो संख्यामा हाम्रा नानीबाबुमा एडिएचडी गलत पहिचान हुने र तिनको अनावश्यक उपचार भइरहेको संकेत गरेको छ । किन कि एडिएचडी पहिचान गरिएकाहरु प्राथमिक स्कुलको प्रारम्भिक वर्षहरुमा बढी उमेर सहपाठीभन्दा तुलनात्मक रुपमा कान्छो हुने पाइएको छ ।’

यो कुनै अनौठो कुरा होइन
अभिभावकलाई आफ्नो भर्खर ५ वर्षमा टेकेका बालबालिकाको विकास ६ वर्ष लाग्न लागेका बालबालिकाभन्दा फरक हुन्छ भनेर जानकारी दिन हार्वार्ड नै चाहिंदैन । बरु उनीहरुलाई सरकारको स्कुलिङको उद्देश्य र म्यान्डेटलाई चुनौती दिन र चाहेमा त्यसबाट बाहिरिन सक्ने गरि सशक्त गरिनुपर्छ ।

विश्वभरी पूर्वप्राथमिक विद्यालयको परम्परा आम हुँदै गएको आजको अवस्थामा आफ्ना बालबालिकालाई ढिलो गरी स्कुल पठाउन र स्कुल नै नपठाउन अभिभावकलाई गाह्रो हुन्छ । तर, विद्यालयमा भर्ना हुने कुरा बढी कठोर हुँदै गर्दा र यसले बालबालिकाको बालापनको ठूलो हिस्सा खाइरहँदा यसले बालबालिकालाई बढ्दो मात्रामा हानी पु¥याएको छ ।
कलिलो उमेरमा आफूमाथि थोपरिएको यति ठूलो अवास्तविक शैक्षिक अपेक्षा धेरैले पूरा गर्न सक्दैनन् । अनि अपेक्षा अनुरुप नउत्रिँदालाई यसलाई विकार भनेर उनीहरुको औषधोपचार चलाइन्छ । दुखद कुरा विद्यालयमा भर्ना ढिलो गर्ने हो भने यी कुनै पनि समस्या हुँदैन । अभिभावकले यो डरलाग्दो प्रवृत्तिविरुद्ध आवाज उठाउनुपर्छ ।
फाउन्डेसन फर इकोनोमिक एजुकेसनबाट

तपाईको प्रतिक्रिया