मादीमा फ्लु संक्रमण भेटियाेे

समाधान संवाददाता २०७५ माघ २९ गते १२:२३

सुनील सापकोटा
पोखरा

मादी गाउँपालिका ४ तारकाङमा ज्वरो तथा रुघाखोकीजन्य संक्रमण देखिएपछि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा करिब २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य शिविरमा फ्लु पोजिटिभ भेटिएको तर स्वाइन फ्लु वा बर्ड फ्लु के हो भन्ने पुष्टि नभएको याङ्जाकोट स्वास्थ्य चौकी इन्चार्ज ललित रौनियारले जानकारी दिए ।

उनले ५ जनाको नमुना जाँच गर्दा ३ जनामा फ्लु संक्रमण भेटिएको पुष्टि गरेका छन् । ‘पिसिआर टेस्टपछि मात्र कुन खालको फ्लु हो पुष्टि हुन्छ,’ उनले भने,‘भाइरल भएकाले खास औषधी बनेको छैन, चिसोबाट बच्ने, तातो झोल वस्तु सेवन गर्ने गर्नु र सावधानी अपनाउनुपर्छ ।’ उनका अनुसार फ्लु सरुवा रोग भएकाले सचेत नभए सबैलाई सर्नसक्ने सम्भावना रहन्छ ।

Advertisement

मादी ४ तारकाङको ध्रुव माविमा गत माघ २१ गते एक्कासि धेरै विद्यार्थी ज्वरो तथा रुघाखोकीले ग्रसित भए । एकैचोटि विद्यालयका धेरै विद्यार्थी बिरामी परेपछि मादी गापा स्वास्थ्य संयोजक राजबहादुर भण्डारीको नेतृत्वमा आरआरटी (र्‍यापिड रेस्पोन्स टिम ) प्रभावित क्षेत्रमा पुगेर तत्काल महामारी नियन्त्रणको प्रयास गरेको थियो । माघ २२ गते ध्रुवका माविमा बिरामी परेका ७० जना विद्यार्थीको उपचार भएकोे प्रधानाध्यापक शुक्रराज सापकोटाले जानकारी दिए । माघ २३ गते २६ र माघ २४ गते १४ जनाको उपचारमा टिम सक्रिय रहेको थियो ।

रोग नियन्त्रण प्रयास भयो तर पूर्णत नियन्त्रणमा आउन सकेन । यसैकारण माघ २८ गते तारकाङ स्वास्थ्य इकाइमा स्वास्थ्य शिविर आयोजना गरिएको याङ्जाकोट स्वास्थ्य चौकी इन्चार्ज रौनियारले जानकारी दिए । पिसीआर टेस्टका लागि संकलित नमुना काठमाडौं पठानुपर्ने र त्यसको रिपोर्ट आउने ३÷४ दिन लाग्ने उनको भनाइ छ । आत्तिनुभन्दा पनि सावधान रहन उनले आग्रह गरेका छन् । पहिलेको तुलमामा बिरामीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ तर सावधानी नअपनाए सर्न पनि सक्छ ।

Advertisement

जनस्वास्थ्य निर्देशनालय पोखराका डा.भोजराज गौतम तथा जिल्ला जनस्वास्थ्य कार्यालयका डा.राजेन्द्रप्रसाद घिमिरेसहित ल्याब टेक्निसियनको टोलीले शिविरमा स्वास्थ्य जाँच गरेको थियो ।
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका इन्चार्ज यम बरालले कक्षा १ देखि ५ सम्म भएका विद्यालय ५ दिन र माथिल्लो तहका विद्यालय ३ दिन बन्द गरेर रोग सर्नबाट बचाउन सुझाव दिएको मादी ४ का अध्यक्ष सत्यराज सापकोटाले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर सापकोटाले डक्टरको सल्लाह अनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।मादी ४ मा माघ १३ देखि २४ गतेसम्म ७ जनाको निधन भएकोमा भाइरलको प्रभाव हुनसक्ने सम्भावना देखेपछि जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य निर्देशनालयको चासो बढेको बताइएको छ ।

तपाईको प्रतिक्रिया