सिटी रेबान महोत्सवका ६० प्रतिशत स्टल बुकिङ

समाधान संवाददाता २०७५ माघ २९ गते १४:३१

समाधान संवाददाता
‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’का ६० प्रतिशत स्टल बुकिङ भएका छन् । नेपाल नगर रेस्टुरेन्ट तथा बार एसोसियसन (सिटी रेवान)को आयोजनामा आगामी फागुन १७ देखि २५ गतेसम्म हुने सातौं संस्करणको महोत्सवका ६० प्रतिशत स्टल बुकिङ भइसकेको सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । महोत्सव पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हँुदैछ ।
महोत्सवमा १ सय ३० वटा स्टल रहने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । १० वटा खाना तथा खाजासहित कृषिजन्य, हस्तकला, राष्ट्रिय तथा स्थानीय उत्पादनका स्टल रहने छन् । ‘स्टल बुकिङ धमाधम भइरहेको छ,’ उनले भने, ‘बाँकी स्टल पनि केही दिनमा बुकिङ भइसक्ने छन् ।’
राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतिसहित खानाका विभिन्न परिकारको मज्जा महोत्सवमा लिन सकिने उनले बताए । ‘अन्य मेला तथा महोत्सव तथा सिटी रेवानले आयोजना गरेको महोत्सव फरक खालको हुन्छ,’ उनले भने, ‘यस पटक मेलालाई परिमार्जित गरी थप आकर्षक र व्यवस्थित बनाउनेछौं ।’
महोत्सवको आकर्षणमा पप कन्सर्ट, गृहिणी नृत्य प्रतियोगिता, भजन चुड्का, ढिंडो खाने प्रतियोगिता लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । शिवरात्रिका अवसरमा महोत्सव हुने भएकाले वृहद शिवलिंगको स्तम्भ महोत्सव स्थलमा बनाइनेछ ।
विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिता महोत्सवको विशेष आकर्षण बन्ने सांस्कृतिक उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिए । विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिताका प्रथम हुनेलाई ५१ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने सांस्कृतिक उपसमिति सदस्य तुलसा जिसीले जानकारी दिइन् । द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश ३० हजार, २० हजार १० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।
महोत्सवमा यस पटक क्यान कास्कीसँग सहकार्य गरी सूचना प्रविधि मेला पनि सँगै हुने भएको छ । प्रदर्शनी केन्द्रस्थित डोममा क्यानले सूचना तथा प्रविधिसँग सम्बन्धित विभिन्न स्टलहरु राख्नेछ ।
सातौं संस्करणको सिटी रेवान महोत्सव तथा फुड फेस्टिवललाई गोर्खा बु्रअरीले मुख्य प्रायोजन गरेको छ । सहप्रायोजकमा वल्डमंग थ्रिएक्स रम र रोयल रिजर्भ ह्विस्कीले साथ दिएको छ ।
होटल पार्टनरमा होटल बेइजिङ लु, होटल मिडटाउन, होटल आरहन्त इन, रेस्टुरेन्ट पार्टनरमा पोखरा हाउस छन् । बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक जोडिएको अध्यक्ष दीपक तिमिल्सनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया