सालिक पार्कमा कि चोकमै ?

समाधान संवाददाता २०७५ फागुन २ गते ८:२०

पृथ्वीचोकमा मंगलबार राति स्थापित लखन थापाको सालिक । तस्बिरः सुदर्शन रञ्जित

समाधान संवाददाता

पोखरा–काठमाडौं उपत्यका जोड्ने त्यही राजमार्गको शून्य किलोमिटरमा ठडिएको थियो, पृथ्वीनारायण शाहको सालिक । तत्कालीन राजा महेन्द्रले २०२८ सालमा आफ्नो पुर्खाका नाममा नामकरण गरेको राजमार्ग सुरु हुने चोकमा पृथ्वीनारायणको सालिक ठडिएसँगै नामाकरण भयो, पृथ्वीचोक ।
जनआन्दोलन २०६२-६३ को आन्दोलनताका पुरानो राज्यव्यवस्थाविरुद्ध होमिएका तत्कालीन माओवादीका कार्यकर्ताले पृथ्वीनारायणको सालिकमा घन बजारे, ढलाए । अनि ठड्याइयो प्रथम सहिद लखन थापाको सालिक र भनियो, अब पृथ्वीचोक होइन, लखनचोक ।

Advertisement

संघीयताको विषय बहसमा आएसँगै २०६९ सालतिरबाट पोखरामा बाहुन, क्षेत्री र तमु लगायत जनजातिको जातीयताको मुद्दाले चर्को रुप लियो । संघीयताको पक्ष–विपक्षमा उभिएका समूहबीचको विवादले तात्दै गरेको पोखरामा एउटा मुद्दा पृथ्वीचोकमा पृथ्वीनारायणकै सालिक राख्नुपर्ने भन्ने पनि थियो ।

यो आन्दोलन रुप परिवर्तन गर्दै शान्त हुँदै गयो । पृथ्वीचोकमा उभिएको लखनको सालिकलाई त्यो आन्दोलनले हल्लाउन सकेन । तर, यसका विषयमा जातीय समूहको फरक मत र बहस भने जारी नै रहिरह्यो ।
एकाएक फेरिएको चोकलाई धेरैले पृथ्वीचोक नै भनेर चिन्छन् । केहीले लखनचोक पनि भन्छन् तर धेरैले चिन्दैनन् । त्यसयता पनि यो चोक यस्तो चोक हो, जहाँ सालिककै विषयमा ठूलो सघर्ष र यही मुद्दामा राजनीतिकरण भएको छ ।

Advertisement

चोकमा सहिद र विभिन्न व्यक्तिका नाममा सालिक राख्ने क्रम बढेसँगै यसको विकल्प खोज्नुपर्ने विषयमा पनि बहस हुन थालिसकेका थिए । ठूलो आइल्यान्डका बीचमा रहेको सालिकलाई हटाएर पोखरामा बढ्दै गएको ट्राफिक जाम कम गर्नुपर्ने बहस सतहमा आएको थियो ।
यसरी सुरु भयो अर्को सालिक राजनीति
पोखराको ट्राफिक जाम दिनानुदिन बढ्दै गइरहेको छ । मुख्य चोकमा रहेका आइल्याण्डले एकातिरबाट आएका सवारी साधन अर्कोतिर नदेखिने हुँदा यसलाई घटाउनुपर्ने आवाज उठिरहेको थियो । ठूला आइल्यान्डका कारण ट्राफिक व्यवस्थापन झन् खराब बन्दै गएपछि यसतर्फ सरोकारवालाले चासो राखे ।

स्थानीय तहको निर्वाचन भयो । पोखरा महानगरपालिकामा मानबहादुर जिसी मेयर बनेर आएपछि ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालयले निर्णय ग¥यो, आइल्यान्ड, त्यहाँको सालिक हटाउने र अन्यत्रै लगेर व्यवस्थापन गर्ने । महानगरपालिकाले गएको वर्षको असोज ९ गते पृथ्वीचोकमा डोजरै चलायो । तत्कालीन सिडिओ तारानाथ अधिकारीले सुरक्षाको नेतृत्व लिए ।

पृथ्वीचोकमा डोजर लगाउने क्रममा गणतन्त्र स्थापनासँगै उभ्याइएको प्रथम सहिद लखन थापाको पूर्ण कदको सालिक डलेपछि फेरि एकपटक सालिक राजनीति चोकमा सल्क्यो । जनजाती संघसंस्थाले यसको विरोध गर्दै आन्दोलन गरे, अन्य संघसंस्था भने महानगरको पक्षमा उभिए । सालिक फालिएकोप्रति विरोध जनाउँदै जनजाति संघसंस्थाले चोकमा लखनको सालिक खडा गर्ने चेतावनी दिए ।

प्रदेश तथा प्रतिनिधि सभाको मुखमै जनजातिको आन्दोलन सुरु भएपछि भोट घटाउने काम भएको भन्दै एमाले पार्टीबाटै मेयर मानबहादुर जिसीलाई दबाब आयो । जिसीले आइल्यान्ड भत्काएको २४ घन्टाभित्रै सोही चोकमा लखन थापाकै सालिक पुनस्र्थापना गर्ने सहमति गरे । मगर समाजले फेरि चोकमा लखन थापाको अर्धकदको सालिक राख्यो । विवादले राख्ने–हटाउने क्रमसँगै पृथ्वीचोकमा तेस्रोपटक लेखनको सालिक उभिएको थियो ।

मगर समुदायसँग सहमति भएलगत्तै क्षेत्री समाजले चोकमा सालिक राख्न नहुने पक्षमा आवाज उठायो । क्षेत्री समाज लगायतले सडक आन्दोलनमात्रै गरेनन् चुनावको मुखमै महानगरपालिकाका कार्यालयकै अगाडि अनसनसमेत बसे । मेयर मानबहादुर जिसीलाई फेरि फसाद प¥यो । मेयर जिसीले फेरि क्षेत्री समाज लगायतसँग अर्को सहमति गरे, चोकमा सालिक पुनस्र्थापना नगर्ने ।

मेयर जिसीले आन्दोलनरत एउटा पक्षसँग सालिक स्थापना गर्ने र अर्को पक्षसँग सालिक स्थापना नगर्ने २ सहमति गरेर तत्काललाई प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन टारे । यस विषयमा विवाद जारी नै रहेपछि पृथ्वीचोकमा सानो आइल्यान्डसँगै कलात्मक र नसिँगारिएको अर्थकदको लखनको सालिक ठडिइरह्यो ।

यसरी ठडिए लखन
पोखराको पृथ्वीचोकमा मंगलबार राति नयाँ दृश्य देखा प¥यो । सरकारले बुधबार सहिद दिवस मनाउने तयारी गरिरहेका बेला मध्यरातमा प्रथम सहिद लखन थापाको अर्धकदको सालिक रहेको चोकमा पूर्णकदको सालिक ठड्याइयो ।

लखन थापा सालिक निर्माण तथा व्यवस्थापन समितिले रातारात लखन थापाको पूर्ण कदको सालिक उभ्याएको हो । विभिन्न विवाद र आन्दोलनको रापतापमा चौथोपटक लखन थापाको सालिक चोकमा ठडिएको छ ।

प्रथम सहिद लखनको बिहीबार स्मृति दिवस हो । चोकमा बुधबार बिहानै लखनको अर्को सालिक देख्दा धेरै जना अचम्ममा परे । अघिल्लो दिनसम्म अर्को सालिक रहेको चोकमा एकाबिहानै नयाँ र अग्लो सालिक देख्दा पोखराका स्थानीयसमेत दंग परे ।

महानगरपालिकासँग सम्झौता गर्नेताका मगर संघका अध्यक्ष पूर्णबहादुर रानामगरको संयोजकत्वमा गठित लखन थापा सालिक निर्माण तथा व्यवस्थापन समितिले सालिक ठड्याएको हो ।

तपाईको प्रतिक्रिया