राङ्लीबोटमा तमु हिल पार्क

समाधान संवाददाता २०७५ फागुन २ गते ८:५१

राजन उपाध्याय, दुलेगौंडा

गुरुङ समुदायको इतिहास झल्कने गरी तमु हिल पार्क निर्माण गरिने भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका १२ को कार्यालयले फिरफिरेको राङलीबोटमा पार्क निर्माणका लागि डिजाइन तयार गरेको छ ।

५ करोड लागतमा राङलीबोटमा पार्क निर्माण हुने भएको हो । पार्कको डिपिआर सम्पन्न भई तमु हिल पार्क निर्माण उपभोक्ता समितिसमेत गठन भएको छ । ‘केही पैसा जोहो गरी शिलान्यसको तयारीमा छौं,’ वडा नं. १२ का अध्यक्ष मनराज गुरुङले भने, ‘२०७५ सालभित्रै काम सुरु गर्ने योजनामा छौं ।’ गुरुङ समुदायको बाहुल्य रहेको सो गाउँमा ग्रामीण पर्यटनको प्रचू सम्भावना रहेको उनको भनाइ छ । यस गाउँमा करिब ८० प्रतिशत गुरुङ समुदायको बसोबास रहेको वडा कार्यालयले जनाएको छ ।
पार्कमा फलिना क्होइबो धि, गुरुङ जातिको पैतृक कार्यसँग जोडिएको क्होइबोमा १२ वटा वर्ग चक्रको मुर्तीले घेरिएको हुनेछ । साथै परम्परागत घर निर्माण गरी जन्मदेखि मृत्युसम्मका कर्मकाण्ड झल्किने सामग्री राखिनेछ । पार्कले गुरुङ समुदायको बारेमा सोध अध्ययनमा समेत टेवा पुग्ने बताइएको छ ।

Advertisement

पार्कभित्र छुट्टै गोरखा राइफल्स र शान्तिपार्क स्थापना गरिनेछ । राइफल्स पार्क प्रथम विश्वयुद्धदेखि हालसम्म नेपालमा गणतन्त्र स्थापनार्थ सहादात प्राप्त गरेका फिरफिरेका अमर सपुतको वीरताप्रति समर्पित रहने गुरुङले उल्लेख गरे । शान्ति पार्कमा भगवान गौतम बुद्धको २५ फिटको विशाल मुर्ति बनाइनेछ ।

पार्कमा बालउद्यान, वनभोज स्थल, भिआइपी र आपतकालीन उद्धारका लागि हेलिप्याड निर्माण गरिनेछ । हिलपार्क निर्माणले मिलेनियम ट्रेकको प्रर्बद्धन र ग्रामीण पर्यटनको आर्कषणको केन्द्र बन्ने वडाको विश्वास छ । सो गाउँ तनहुँको दुलेगौंडाबाट सुरु हुने मिलेनियम ट्रेक अन्तर्गत पर्छ । मिलेनियम गुफा, घरेडी गाउँ, लामागाउँ र परम्परागत शैलीको घुमाउने घरले यस क्षेत्रको प्रवद्धनमा सहयोग पुर्‍याउने गन्तव्य हुन ।

Advertisement

पार्कलाई गुरुङ समुदायको इतिहास, धर्म, संस्कृति, संस्कार र सामाजिक परिवेशको प्रतिबिम्ब बनाउने वडाध्यक्ष गुरुङले जानकारी दिए ।

‘हिजोआज आफ्नो इतिहासप्रति खासै चासो दिएको पाइँदैन,’ उनले भने, ‘नेपालमै पहिलो पटक निर्माण गर्न लागिएको पार्कले इतिहास अध्ययनका लागि स्रोत बन्नेछ ।’ स्थानीय तह, स्थानीयबासी र गैरआवासीय नेपालीको सहकार्य पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ । ‘यो नेपालमै पहिलो पार्क हो,’ उनले भने, ‘पार्कले फिरफिरेमा पर्यटकको आवागमन बढने भएकाले सहयोगका लागि सम्पूर्णलाई अनुरोध गर्दछु ।’ पृथ्वी राजमार्गको दुलेगौंडादेखि ग्रामीण मार्ग हुँदै १२ किलोमिटर दूरी पार गरी फिरफिरे पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया