अब पुँजीवाद हुँदै समाजवादतिर- मुख्यमन्त्री

समाधान संवाददाता २०७५ फागुन २ गते ९:२३

समाधान संवाददाता

पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताले शान्तिपूर्ण संघर्ष र सशस्त्र संघर्षको बाटो अवलम्बन गर्र्दा कम्युनिस्टहरुले शक्ति आर्जन गरी शक्ति सन्तुलनका हिसाबले निर्णायक विन्दुमा पुगेको निश्कर्ष निकालेका छन् । उनीहरुले जनताको जनवादी व्यवस्थालाई सुदृढ गर्दै आर्थिक र भौतिक तयार गरी समाजवादसम्म पुग्ने दावीसमेत गरे ।

एकीकरण भए पनि पार्टीको मार्गदर्शक सिद्धान्त साविक एमालेको जनताको वहुदलीय जनवादलाई मान्ने कि साविक माओदावी केन्द्रको २१ औं शताब्दीको जनवादलाई अगाल्ने भन्नेमा छिनोफानो हुन सकेको छैन ।
नेकपा कास्कीले बुधबार आयोजना गरेको २४ औं जनयुद्ध दिवसको सन्दर्भमा शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका नेताहरुले पार्टीको राजनीतिक कार्य दिशा तय गर्न बाँकी रहेको औंल्याए । स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुवै पार्टीले अंगालेको मार्गदर्शक सिद्धान्तको कारण नेपालका कम्युनिस्टले शक्ति आर्जन गरी शक्ति सन्तुलनका हिसाबले निर्णायक ठाउँमा पुगेको बताए ।

Advertisement

शान्तिपूर्ण संघर्षमात्र भन्नु पनि एक खालको अतिवाद भएको गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका गुरुङको दावी थियो । ‘दुवै बाटोको वकालत गर्नेहरु अहिले एउटै ठाउँमा आएका छौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘शान्तिपूर्ण र सशस्त्र संघर्षको फ्युजनबाट राजनीतिक रुपमा क्रान्ति पूरा गरेका छौं । अब जनवादी व्यवस्थालाई सुदृढ बनाएर मुलुकको आर्थिक र भौतिक आधार नभएसम्म समाजवादमा पुग्न सकिन्न ।’

उनले समाजवादमा जाने आधार तयार गर्ने क्रममा नेकपाको नेतृत्वमा बनेको ६ वटै प्रदेश सरकारले उत्पादकत्व बढाउने र जनमुखी काम गर्ने जानकारी दिए । उनले पार्टी अध्यक्ष प्रचण्डले धेरै कुरा सोचेर शान्ति प्रक्रियामा आएको स्मरण गराएको बताए । ‘संसारमा जनयुद्धमा लड्नेहरु आफै सिद्धिएका छन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘सशस्त्र विद्रोहलाई नत्यागेर नक्कल मात्र गरेको भए नेपालका कम्युनिस्ट पार्टीहरु सिद्धिने अवस्था थियो ।’ मुख्यमन्त्री गुरुङको भनाइमा नेकपा मालेले चलाएको झापा विद्रोह भारतको नक्सलवादीको नक्कल थियो भने माओवादीले सञ्चालन गरेको जनयुद्ध चिनियाँ जनयुद्धको नक्कल थियो ।

Advertisement

गुरुङले नगर तथा गाउँपालिकाबाट एकीकरणको काम टुंगिएर आए प्रदेशले अनुमोदन गर्ने उल्लेख गरे । उनले पार्टी एकीरणको प्रक्रियालाई टुंग्याएर राजनीतिक गतिविधि नबढाएसम्म राजनीतिक शुन्यता र निराशालाई चिर्न नसकिने तर्क गरे । शान्तिपूर्ण संघर्ष तथा चुनावबाट नेकपाले विश्वका कम्युनिस्टलाई सन्देश दिने गरी उपलब्धि हासिल गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले उपलब्धीको रक्षा गर्ने गरी प्रभावकाकारी काम गर्नुपर्ने बताए ।

गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले पार्टी एकीकरण भए पनि पार्टीको राजनीतिक कार्य दिशा तय हुन बाँकी रहेको बताए । नेता अधिकारीले आगामी महाधिवेशनले एउटै राजनीतिक कार्यदिशा बनाउने उल्लेख गरे । पार्टीको एकीकरणमा भएको ढिलाइले सहिदको सम्मान नहुने उल्लेख गर्दै नेता अधिकारीले अब गुटबन्दीको भरिया बन्न कोही नेता तथा कार्यकर्ता तयार नभएको धारणा राखे ।
गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले विगतमा कार्य शैली फरक फरक भए पनि दुवै पार्टीको एकीकरण पछि एउटै कार्यदिशा तय गरिने जनाए । कार्यक्रममा नेकपा कास्कीका सयन्त्र सदस्य दामोदर बैरागी, बखानसिंह गुरुङ लगायतले बोलेका थिए ।

तनहुँमा आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङले जनयुद्धले सामन्तवादविरुद्धको संघर्षमा महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् । शान्तिपूर्ण क्रान्ति सम्पन्न भइसकेपछि पनि पुरानो राज्य व्यवस्थाको अवशेष बाँकी रहेको चर्चा गर्दै उनले त्यस्ता अवशेषलाई समाप्त पार्नुपर्नेमा जोड दिए । उनले पुँजीवादको विकास नभईकन समाजवादमा पुग्न नसकिने भएकोले पुँजीवादको विकास गर्नुपर्ने तर त्यस्तो पुँजीवाद साम्राज्यवादतिर जाने खालको हुन नहुने बताए ।

११ तहमा जनयुद्ध दिवस
जनयुद्ध दिवस स्याङ्जामा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । यहाँका ११ वटै स्थानीय तहमा नेकपाले जनयुद्ध दिवस मनाएको हो । यहाँ चियापन, अन्तक्र्रिया, गोष्ठी लगायतका कार्यक्रम भएका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माओवादीले जनयुद्ध सुरु गरेको दिन फागुन १ गते पहिलो पटक जनयुद्ध दिवस मनाएको हो ।

तपाईको प्रतिक्रिया