‘गरिबी र बेरोजगारी अन्त्यमा सबैको चासो आवश्यक ’

समाधान संवाददाता २०७५ फागुन २ गते १०:४२

कृष्ण न्यौपाने, दमौली

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गरिबी निवारण र बेरोजगारी अन्त्यका लागि सबैको चासो आवश्यक भएको बताएका छन् ।

पार्टीको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियान अन्तर्गत बुधबार तनहुँ आइपुगेका संयोजक भट्टराईले भानु नगरपालिका ९ बाइस जाँगरमा आयोजित सभामा गरिबी निवारण र बेरोजगारी समस्या हल नभएसम्म देश विकास सम्भव नभएको बताए ।
नेपालमा राजनीतिक आन्दोलन पूरा भइसकेकाले जनताको आर्थिक स्तर उकास्दै समृद्ध मुलुक बनाउनेतर्फ सबै पार्टीको चासो हुनुपर्नेमा भट्टराईले जोड दिए ।

Advertisement

भट्टराईले भ्रष्टाचारले गर्दासमेत विकास अवरोध भएको चर्चा गर्दै भ्रष्टाचारलाई निर्मुल पार्नुपर्ने बताए । उनले भ्रष्टाचार क्यान्सर भएको बताउँदै यसलाई निर्मुल पार्न नसकिए भ्रष्टाचारले नै देशलाई अद्योगतितर्फ धकेल्ने बताए ।

राम्रोसँग देश बदल्ने काम नगरेसम्म कुर्चीमा बस्नुको कुनै अर्थ नरहेको भन्दै भट्टराईले खुद्रे योजनाभन्दा पनि दीर्घकालीन महत्वका योजनालाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

Advertisement

उनले विकासको सबालमा राजनीति नगरी सबै राजनीतिक दलबीच सहमति र सहकार्य हुनुपर्ने धारणा राखे । पहाडमै समृृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि गत माघ १५ गते चिवाभञ्ज्याङबाट जनसंवाद थाल्नुभएका डा.भट्टराईले निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गको कामलाई तीव्रता दिन र गुणस्तर निर्धारण गराउन आफ्नो अभियान रहेको बताए ।

आगामी फागुन १५ गते पश्चिमको झुलाघाट पुगेर अभियान सकिने र सबै ठाउँमा भइरहेको कामको प्रगति अध्ययन गरिने डा. भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया