हरेक यादहरु उत्सव झैं लाग्छन्…

समाधान संवाददाता २०७५ फागुन २ गते १५:४१

जुना थापा

Advertisement

तिम्रो लागि बनाएको दिलमा एउटा सहर छ
त्यहाँ एउटा प्रेमको घर बन्ला भन्ने ठहर छ
बन्दकी मेरो मुटु फर्काउन कैले आउँछौ प्रिय ,
दिलको लालपूर्जा तिमलाई सुम्पने रहर छ ।।।

अन्तर्मनको सहयात्री प्रिय देव ! खै के भनेर सम्बोधन गरुँ, यतिका वर्ष भए शब्दकोशमा चहारेको तिम्रो र मेरो सम्बन्धको नाम भेट्टाउन तर अँह, सधै खाली , रित्तो र अपूर्ण भेट्छु ।साउने भेलसरि उर्लेर आउने तिम्रो सम्झनाका लहरहरुलाई जति रोक्न र मत्थर पार्न खोज्छु त्यति नै बलवान् भै बाढी बनेर आउँछन् अनि खोला किनारमा पछारिएका, बजारिएका ढुङ्गामुढाझैँ मुर्छित बनाएर जान्छन् मलाई ।व्युझिंएर सद्दे बनेको नाटक गर्दै फेरि निस्कन्छु गन्तव्यहीन यात्रामा ।

Advertisement

हुन त मेरा लागि तिम्रा यादहरु हरेक दिन प्रणय उत्सव झैँ लाग्छन् तै पनि समयको चक्रले प्रेमदिवसको सिजनलाई बोकी जब मानवीय तनमनमा वसन्तको वहार ल्याउँछ तब मेरो मनलाई पनि तिम्रा प्रेमवर्षाले रुझाउन थाल्छ र आँखाभरि सप्तरङ्गी इन्द्रेणीको कल्पना गर्दै केही शब्दकोसेली मेरा लागि छोडेका छौ कि भन्ने अपेक्षासहित इमेल, इन्स्टा र म्यासेनजर चहार्न पुग्छु तर दुर्भाग्य निराशाका बादलहरु ओढेर मेरा नयनहरु वर्षिन थाल्छन् अनायासै अविरल ………।

जब कुनै मनको प्रेमाभाव ममाथि छचल्किन्छ तब मेरा आँखावरिपरि तिम्रै तस्विरका रङहरु होली खेलेसरि रङ्गिन पुग्छन्, तिम्रा यादका थुप्रोहरु चाङ लाएर झन् थपिदै जान्छन् ।सूर्यका सामु टुकीको महत्त्वहीनता झैं लाग्न थाल्छन् तिनका प्रेमका भावहरु ।। उदाउँदो सूर्यझैँ शान्त नयन, गगनसरि निर्मल बाटुलो निधार, कमलका फूलझैँ कोमल ओठ, बिहानीको चिरबिर चराको झैँ स्निग्ध आवाजमा मिठो बोली अनि चन्द्रमाझैँ उज्यालो,हँसिलो तिम्रो मुहारले चियाइरहन्छ मनसपटलमा।

आज सोध्न मन छ के म तिम्रो बारे जे अनुभूत गर्छु तिमी पनि त्यही र त्यस्तै अनुभूति गर्छौ ? तिमलाई याद छ, १र२ दिनको हेराहेरकै आधारमा एकदिन मर्निङ वाकमा नारायणथानको पुलनेर मलाई भेट्दा आफ्ना साथीहरु विचबाट टक्क रोकिएर ’ हाई म देव, तिमी कलेजको चउरमा बस्दा मैले होस्टेलको झ्यालबाट एकोहोरो हेर्दै बोल्ने प्रयास गर्दै थिएँ नि बिर्सियौ ? ’ भन्दै चिनजानको ढोका खोल्ने प्रयास गरेको , अरुलाई भेट्न आएको निहुमा मेरो घरअगाडि नै बाटोमा घन्टौँ गफिएर त्यहीबाट होस्टेल फर्किएको, मलाई घामले पोल्ला भनि छाता ओढाइदिने बहानामा नजिकिएर एकअर्काको स्पर्शले रातोपिरो भएको, मलाई हँसाउने र खुसी बनाउने निहुँमा आफ्ना पीडाहरु लुकाएको, आफ्नै हातले कोरिएका गुलाफका फूल रङ्गिन बनाइ प्रेमिल शब्दहरुले सजाएर जन्मदिनमा उपहार दिएको, तिम्रो झोलाको डायरी खोसेर हेर्न खोज्दा एकअर्काका नयनहरु एकतमासले जुधेको……! यी र यस्ता कति घटना छन् जो प्रेमको सङ्केत हो भनी मेरा अन्तर्मनले प्रमाणित गर्न खोजिरहन्छ भनिरहन्छ , के यो भ्रम मात्र थियो ??होइन भने किन एकवचन भन्न सकेनौ? “जेनी म तिम्रो डिभाइन प्रेममा छु , के यो प्रेमका लागि तिम्रो दिलमा ठाउँ छ ? म जीवनका हरेक रङहरु तिमीसँगै कोर्न चाहन्छु “ भनेर किन…. भनिनौ जो ध्वनि सुन्न यी कानहरु यति व्यग्र प्रतिक्षामा थिए र अझै पनि छ तर खैर त्यो केवल कल्पना भएको छ ।

तिम्रो बोली व्यवहारले यति प्रभावित भएँ कि बत्तिको आकर्षणमा पुतली प्राण आहुति दिन तयार भए सरि । आज पनि हर रात तिमले बोलेका, भनेका अनि लेखेका शब्दहरुले मलाई बिथोल्न थाल्छन्, पिरोल्न थाल्छन् , आगोले भन्दा बढी पोल्न थाल्छन् ।त्यो प्रेमानुभूतिलाई म आफैलाई पनि हिम्मत गरेर भन्न आएन कि “ देव मलाई आकाशमा बादल हराएझैँ तिमीमा हराउन मन छ, कितावमा अक्षरहरु छरपस्ट छरिए सरि तिमीमा छरिन मन छ, के मेरो प्रस्ताव तिमीलाई स्वीकार्य छ? “ अँह सकिनँ , अझै पनि सक्दिनँ सायद , किनकी प्रेमालापका वार्तालापहरु मेरो भन्दा पहिले तिमीबाट सुरुवात होस् भन्ने परम्परावादी सोचको अवशेष अझै यो मनबाट हटाउन सकेकी छैन ।

भनिन्छ प्रेम प्राप्तिपश्चात् अन्त्यतर्फ मोडिन्छ, यही अर्थमा म खुसी छु कि कम्तिमा मेरा अप्रकटित र प्राप्तिबिनाको प्रेम अनन्तकालसम्म रहनेछ मेरो सास यो धर्तीमा रहुन्जेलसम्म ।जीवनको यो घडीमा आइपुग्दा समयको परिबन्धले हाम्रो यात्रा गर्ने गोरेटोहरु फरकफरक धारमा कोरिदिएको छ । तर पनि तिम्रो याद हावाका झोक्का र वर्षाको रुप लिएर मेरो तनमनलाई घरिघरि सिञ्चित गरिदिन्छ र त्यही प्रेमानुभूतिको रसरस्वादन गरि जिउने आधार बनिदिएको छ ।

तिम्रो माया कस्तो थियो थाहै भएन
तिमीबाहेक अन्त दिल जाँदै गएन
यादहरु काफी छन् छोटो जीवन जिउनलाई
सम्बन्धको नाम दिन खै नातै भएन ।।

                                      उही तिम्रो
                                         जेनी  

तपाईको प्रतिक्रिया