ताङतिङदेखि क्होंलासोंथरसम्म मोटरबाटो

समाधान संवाददाता २०७५ फागुन ३ गते ८:३२

समाधान संवाददाता

मादी गाउँपालिका २ ताङतिङबाट गुरुङ जातिको ऐतिहासिक पुख्र्यौली थलो क्होंला सोंथरसम्म जोड्ने ताङतिङ क्रपु क्होंला सोंथर सम्पदा मार्ग निर्माण हुने भएको छ ।

कास्की जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीको विशेष पहल र मादी गाउँपालिकाको समन्वयमा सम्पदा मार्ग निर्माण गर्न लागिएको हो । सो मोटरबाटोका लागि सांसद विकास कोषबाट ७० लाख विनियोजन भएको छ ।

Advertisement

सांसद अधिकारीले मोटर बाटोको प्रस्थान बिन्दु ताङतिङमा कार्यक्रम गरी गंैचीले बाटो खनेर बुधबार निर्माण शुभारम्भ गरे । सो अवसरमा गुरुङ जातिको परम्परा अनुसार क्लेप्री गुरु यमबहादुर टु क्लेप्री गुरुङले आशीर्वाद मन्त्र उच्चारण गरी पूजा गरेका थिए ।

कार्यक्रममा सांसद अधिकारीले आफू सांसद रहे पनि नरहे पनि क्होंलासोंथर पुग्ने सम्पदा मार्ग पूरा नभएसम्म निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाए ।
क्होंलासोंथर पैतृक भूमिको हिसाबले गुरुङ जातिको ऐतिहासिक थलो भए पनि सबै नेपालीको साझा सम्पदा भएको भन्दै विकास र संरक्षणमा सबै एकजुट हुन उनले आग्रह गरे । क्होंलासोंथरको उचित संरक्षण र सहज यातायातको व्यवस्था गरी पर्यटन प्रवद्र्धनमा ध्यान दिन सके मुक्तिनाथभन्दा पनि प्रसिद्ध क्षेत्र बन्न सक्ने बताए ।
मादी गाउँपालिका संसारकै विचित्र गाउँपालिका भन्दै संसारकै सबैभन्दा होचो हिमताल, यार्सागुम्बा, पाँचऔंले, निरामसी जस्ता दुर्लभ जडीबुडी र नेपालको नक्साङ्न अनुसार भौगोलिक रुपमा नेपालको मध्यबिन्दु पनि मादी गाउँपालिकाभित्रै पर्ने बताए । यिनै विशेषताले गाउँपालिकाले भविष्यमा धेरै समृद्धि हासिल गर्ने दाबी गरे ।
मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले गुरुङ जातिको ऐतिहासिक थलो क्होंलासोंथरसम्म पुग्न र क्होंलासोंथरको संरक्षण तथा प्रचारका लागि गाउँपालिकाको तर्फबाट सधैं पहल गरिरहने बताए । उनले यसअघि नै गाउँपालिकाको पहलमा ताङतिङदेखि क्रपुसम्म ७ लाखको लागतमा पदमार्गसमेत निर्माण भइसकेको जानकारी दिए ।

Advertisement

क्होला सोंथरको बाटो मादी गाउँपालिकाको मात्रै नभएर पहिचानको लागि संघर्षरत सबै तमू संघ संस्थाको साझा बाटो भएको भन्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस कास्कीको उपसभापति एवं तमू प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष आइबहादुर गुरुङले क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने आवश्यकता औंल्याए । तमू प्ये ल्हु संघले २०५२ सालमै सुरु गरेको क्होंलासोंथरको उत्खनन कार्य हाल आएर रोकिएको भन्दै यसलाई निरन्तरता दिन गाउँपालिकासँग माग गरे ।

ताङतिङ क्रपु क्होंलासोंथर सम्पदा मार्ग उपभोक्ता समितिका अध्यक्ष हिमाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर क्षेत्री, गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेल, मादी २ का अध्यक्ष एकजंग गुरुङ, तमू ह्युल छोंज धिंका केन्द्रीय सदस्य विष्णुमाया गुरुङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया