डोजर चालक बन्ने सपना देख्दा गुम्यो आँखा

समाधान संवाददाता २०७५ फागुन ३ गते ११:२३

विकास रोकामगर

मादी गाउँपालिका १ सिक्लेसका गणेश गुरुङ ५ वर्ष साउदी बसे । विदेशको उनको पेसा डोजर चालक थियो । विदेशी भूमिमा ५ वर्ष डोजर चलाएपछि उनलाई लाग्यो, ‘अब नेपालमै गएर केही गनुपर्छ । यहाँको सीप त्यहाँ प्रयोग गर्नुपर्छ ।’ त्यसपछि उनी फर्किए – केही सपना र रहर बोकेर आफ्नै देश ।

विदेशी भूमिमा सिकेको एउटै काम थियो – डोजर चलाउनु । नेपालमा पनि त्यही काम गर्ने गुरुङले मनसाय राखे । डोजर अपरेटर बन्ने उनको लक्ष्य बन्यो । साउदीमा चलाएको डोजर र नेपालमा चल्ने डोजरमा केही फरक हुँदो रहेछ । उनले डोजर चलाउन सिक्ने भनेर गत पुस २८ गते अर्का एकजना डोजर चालकसँग कास्कीको भदौरे गए ।

Advertisement

तर त्यही दिन उनको जीवनमा बज्रपात प¥यो । आफूले सिक्न लागेको डोजरबाटै दूर्घटनामा परेर गुरुङको आँखा सदाका लागि गुम्यो । नेपालमै केही गरौं भनेर सपना देखेर आएका उनी सपनाविहीन बने । दिनको उज्यालो पनि कालो भयो र छायाँ प¥यो उनको जीवनमा । ‘रुखसँग लडेको थाहा छ । त्यसपछि मलाई केही थाहा छैन,’ पुस २८ सम्झिँदै उनी भावुक बन्छन् ।

घटना भएको दिन गुरुङ र उनका डोजर चालक साथीले भदौरेमा डोजरमा तेल भरेछन् । चालक डोजरमै थिए र उनी भूइँमा । डोजर चालकले एक्कासी डोजर घुमाए । घटनाको दिन सम्झँदै उनी भन्छन्, ‘साथीले म तल छु भन्ने बिर्सेछन् । डोजर घुमेपछि भने मलाई लाग्यो । अलिअलि होस हुँदा नै सबै कालो भएको थाहा छ । त्यसपछि मैले सधैं कालो मात्रै देखें ।’

Advertisement

डोजर दूर्घटनामा गुरुङको टाउकोमा गहिरो चोट लागेको थियो । सोही चोटकै कारण उनको आँखाको नानीसम्म पुग्ने नसामा समस्या देखिएको थियो । ‘नसामा चोट लागेर बिस्तारै सुक्दै जान थालेछ । अहिले त पूरै नदेख्ने भइसकें,’ उनी भन्छन्, ‘डाक्टरले पनि चान्स कम छ भनेका छन् । अब यस्तै त होला ।’ उनले डाक्टरले पछि कुनै बेला आफैं ठीक भएर देख्न पनि सकिने आश्वासन दिएको सुनाउँछन् ।

दुर्घटनापछि गुरुङ उपचार गर्न पोखरादेखि काठमाडौं ग्रान्डी अस्पतालसम्म पुगे । उनी शारीरिक रुपमा निको त भए तर आँखाको ज्योति फिर्ता आएन । ‘आँखाकै लागि ग्रान्डीमा डेढ महिनासम्म उपचार गरें । तर केही पार लागेन,’ निराश हुँदै भन्छन् । थप स्वास्थ्योपचार गर्न आर्थिक समस्या भएकै कारण आफूलाई गाह्रो भएको उनी बताउँछन् ।

दूधपोखरी समाज जापानको आर्थिक सहयोग
अध्धयन तथा रोजगारको सिलसिलामा जापान पुगेका सिक्लेस बासीको साझा समूह दूधपोखरी समाज जापानले बिहीबार दृष्टिविहीन गुरुङसहित सोही स्थानकै क्यान्सर पीडित कुलबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ । सिक्लेस युवा क्लबको समन्वयमा समाजले दुवैलाई १ लाख १ हजारका दरले आर्थिक सहयोग गरेको हो ।

समाजका संस्थापक अध्यक्ष कुश गुरुङ र सचिव ओम गुरुङको उपस्थितिमा क्लबले पीडितहरुलाई रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण गर्दै समाजका सचिव ओम गुरुङले जापानमा बस्ने ३३ जना सिक्लेसीको सहयोगबाट २ लाख २ हजार संकलन गरिएको जानकारी दिए । युवा क्लबका पूर्व सचिव देवीजंग गुरुङले मंसिरमा दुवै पीडितको सहयोगार्थ सिक्लेसमै सांस्कृतिक कार्यक्रम गरेको समेत सुनाए ।

‘स्थानीय आमा तथा सांगीतिक समूहसँग समन्वय गरेर कार्यक्रम गरेका थियौं,’ गुरुङले भने, ‘त्यसबाट ३ लाख उठेको थियो । हामीले दुवैलाई बराबर बाँड्यौं ।’ उनले क्यान्सर पीडित कुलबहादुर गुरुङको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको र प्रत्येक महिना केमो दिनुपर्ने भएकाले आर्थिक स्रोत जुटाउनै गाह्रो भएको सुनाए ।

तपाईको प्रतिक्रिया