अन्तर्राष्ट्रिय नाटक महोत्सव १५ गतेबाट

समाधान संवाददाता २०७५ फागुन ३ गते १२:१९

समाधान संवाददाता
पोखरा

पोखरामा फागुन १५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । पोखराका २ नाट्य संस्था पोखरा थिएटर र युथ क्रियसन थिएटरको संयोजनमा हुने महोत्सव फागुन २२ गतेसम्म चल्नेछ ।

महोत्सवमा मेसेडोनिया, भारत, श्रीलंका र नेपालका गरी ८ वटा नाटक मञ्चन गरिनेछ । महोत्सवमा नाटक मञ्चनका अतिरिक्त सांस्कृतिक झाँकी, फोटो प्रर्दशनी, दैनिक अन्तक्र्रिया लगायतका कार्यक्रमसमेत गरिने महोत्सव निर्देशक परिवर्तन बताउँछन् । महोत्सवले नेपाली रंगमञ्च, कला र संस्कृतिलाई जगेर्ना गर्दै सांस्कृतिक पर्यटनको माध्यमबाट संसारभर फैलाउन सहयोग पुर्‍याउने विश्वास उनको छ ।

Advertisement

महोत्सवमा भारतको ब्लाक एज्ड ह्वाइट र इन ट्रान्जिट, श्रीलंमाको लव एज्ड लाइफ, मेसेडोनियाको प्राइभेट कन्फेन्सन, नेपालका मेमोरी यार्ड, गैडा टाइम्स, निरमाया र घेरो नाटक मञ्चन हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । महोत्सव गर्न ६१ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

पोखरा थिएटरले सञ्चालनमा आएको पहिलो वर्ष पुगेको छ । यो अवसरमा बिहीबार गन्र्धव नाटकघरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताले पोखरामा नाटकघर सञ्चालनमा आएपछिको पहिलो वर्ष सुखद भए पनि यसको दिगोपनका लागि सबैको सपोर्ट आवश्यक पर्नेमा जोड दिए । पोखरा ४ का वडाध्यक्ष शंकरप्रसाद कोइरालाले पोखराको रंगकर्मका लागि वडा तथा महानगरपालिकाबाट दीर्घकालीन सहयोग गर्न प्रयास गर्ने बताए ।

Advertisement

युथ क्रियसन थिएटरका सचिव सौगात पोखरेलले पोखरेली नाट्य क्षेत्रलाई अगाडि बढाउन सबै लाग्नुपर्ने बताए । ‘पोखरा नाटक हेर्छ’ अभियान सञ्चालन गरी नाट्य क्षेत्रतर्फको आर्कषण बढाउन सबै लाग्नुृपर्ने उनको भनाइ थियो ।

कलाकार प्रकाश घिमिरेले पोखराको रंगमञ्चलाई चलायमान बनाउन पोखरा थिएटरले उल्लेख्य भूमिका खेलेको बताए । जिफानका संस्थापक अध्यक्षसमेत रहेका कलाकार माओत्से गुरुङले पोखरा थिएटरकै कारण १८ वर्षपछि पुनः रंगमञ्चमा फर्कन पाएको भन्दै खुसी व्यक्त गरे । पोखरा थिएटरका प्रमुख संरक्षक शंकरनाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक दिलप्रसाद गुरुङले पनि बोलेका थिए ।

प्रथम वार्षिकोत्सवको अवसरमा थिएटरको वेभसाइट सुरु भएको छ । सोही अवसरमा पोखरा थिएटरले विभिन्न समयमा आयोजनाको गरेको अभिनय कार्यशालामा सहभागीलाई प्रमाणपत्र वितरण पनि गरियो । पोखरा थिएटरको उद्घाटन २०७४ फागुन २ गते भएको थियो ।

तपाईको प्रतिक्रिया