हिउँदयाममा मुस्ताङे घुमफिरमै, मजदुरलाई गिटी कुट्ने बाध्यता

समाधान संवाददाता २०७५ फागुन ३ गते १३:४०

सुन्दरकुमार थकाली
मुस्ताङ

हिमाली जिल्ला मुस्ताङमा यो सिजन लगातार ४ पटकसम्म हिउँ पर्‍यो ।हिमपातले डाडाकाढा सबै सेताम्मे भए । बस्ती नजिक परेको हिउँ पग्लिसक्यो तर,यहाँका पाखामा भने अझै हिउँ बाँकी छ । हिउँदयामको जाडो महिना पुस र माघले कोल्टे फेरिसक्यो तर, चिसो भने यहाँ माईनस डिग्रीमै छ ।

हिउँदयाममा अधिकाँश मुस्ताङवासी घुमफिरका लागि बेशी झरेका छन् । तर,जिल्ला बाहिरबाट कामका लागि मुस्ताङका आएका एकथरी गरिव तथा बिपन्न मजदुरलाई भने गिटी कुट्ने बाध्यता परेको छ । जोमसोममा सुख्खा बगरे फाँट छ ,त्यहाँ चिसो सिरेटो संगै उत्तरी हावा फुर्रर/फुर्रर चलिरहन्छ । वातावरण सुन्य ।ट्वाक्क/ट्वाक्क ढुङ्गा र गिटी कुट्दै गरेका आवाज सुनिन्छन् । सदरमुकाम जोमसोम बस्ती नजिकै जनहित माध्यमिक बिद्यालयको ठुलो पहाडको फेदमा बिभिन्न जिल्लाबाट रोजगारका लागि आएका मजदुरलाई यही कामको चटारो चलेको छ । उमेरले करिव ५० वर्ष जस्ता देखिने एक जोडी बिक परिवार पनि एकतमासले त्यही काममा व्यस्त देखिन्छन् । उनीहरुको कामलाई बुहारीले पनि साथ दिईरहेकी छिन् ।

Advertisement

साविक म्याग्दी जिल्ला लुलाङ गाविस ६ घरभई ७ वर्षअघि मुस्ताङ आएका ओमबहादुर बिक र जालमति बिकले गिटी कुट्ने काम रहर नभई बाध्यता भएको बताउछन् । श्रीमान ओमबहादुर बिक भिरपाखामा रहेका स–साना ढङ्गाहरु डोकोमा संङ्कलन गरेर एकठाउमा थुपार्छन् अनि श्रीमती जालमति र बुहारीले थुपारिएका ढुङ्गलाई कुटेर गिटीमा परिणत गर्छन् ।हिउँदयाममा कुनै काम नहुने भएकाले गिटी कुटेर जिविका चलाउनुपर्ने बाध्यता भएको बिक दम्पती सुनाउछन् ।

मुस्ताङको कागबेनीमा एक स्थानीयको खेतबारी कमाएर बसेका उनीहरुले पुरै समय खेतीपातीमा बिताए । जग्गा धनीले निशुल्क खेत कमाएर बस्न उनीहरुलाई जिम्मा लगाएका थिए । लामो समय सम्म स्थानीयको खेत कमाई बसेका बिक दम्पतीको खेत कमाएर जिविका चलाउने त्यो अवसर पनि खोसियो । केही समयअघि छिमेकी जिल्ला डोल्पाबाट कागबेनीमा आएका डोल्पाली समूदायको प्रबेश संगै खेत कमाएर खाने उनीहरुको त्यो अवसर पनि गुमेको हो ।‘ पहिले हामीले लामो समय सम्म एउटै मालिकको खेत कमाई बस्यौ,जग्गा बाँझो हुन पनि दिएनौ,’ बिक दम्पतीले भने‘स्थानीय भाषा मिल्दो डोल्पालीहरु कामका लागि कागबेनी पसे,त्यसपछि हामी फाल्टु भयौ ।’

Advertisement

खेतीपाती गर्न बञ्चित भएका बिक दम्पती अब भने मुस्ताङ छोड्ने योजनामा छन् । भन्छन्,‘मुस्ताङमा लामो समय निरन्तर काम ग¥यौ तर, उपलब्धी केही भएन । यसै त हात पाखुरा बजाएर खाने मान्छे प¥यौ,अब बेशीमै गएर केही गर्नुपर्ला ।’ बिक दम्पतीका ३ छोरा २ छोरी हुर्किसकेर जवान भईसकेका छन् । छोराहरुको पाखुरामा नभई आफ्नै पाखुराको बलबाट बाच्नुपर्ने उनीहरुको मान्यता छ ।

जोमसोमकै भिरको पाखामा गिटी कुट्दै गरेकी रोल्पाकी दिलसरा पुनले पनि चिसोयाममा गिटी कुटेर परिवार पाल्नु पर्ने बाध्यता भएको बताईन् ।वर्षायामको गर्मिलो समयमा खेतिपाती र ज्याला मजदुरी गर्दे आएकी उनी हिउँदयाममा कुनै काम नपाईने भएकाले गिटी कुट्नु पर्ने अवस्था आएको उल्लेख गरिन् । उनी संगै उनका ससाना छोराछोरीले उनलाई गिटी कुट्न सघाएका छन् ।

दिनभरी गिटी कुटेर महिनामा दुई ट्याक्टर गिटी जम्मा गर्दे आएकी उनले दैनिक ५ सय रुपैया कमाई हुने हिसाब लगाईन् । उनी भन्छिन् ,‘मुस्ताङको मौसम चिसो छ ,हिउ र हावाहुरी भन्नु छैन । एकदिन काम नगरे जिवन धान्न मुश्किल पर्छ ।’ मौसम चिसो छ ,तरपनि लगातार गिटी कुट्दा उठाउने घनको वजनले उनको अनुहारमा पसिना बर्सन्छ्न् ।‘जाडो हटाउने औषधि पनि यहि हो जस्तो लाग्छ । दिनभरी काममा व्यस्त हुन्छु ,रातमा थकान संगै निद्रामा मस्त । सपना देख्ने अवसरनै पाईदैन ।’ निरास हुदै उनी भन्छिन् ।

मुस्ताङमा करिव १३ हजार जनसंख्या छ । तर यसको आधा जति भने जिल्ला बाहिरका मजदुर यहाँ बिभिन्न कामको प्रयोजनमा बसोबास गर्दै आईरहेका छन् । जिल्लाको थासाङ,घरपझोङ,वारागुङ ,लोघेकर र लोमान्थाङ गाउपालिका सम्म मजदुर खेतिपाती,सडक र पूर्वाधार बिकास लगायतका काममा छन् । तर,हिउँयामको चिसो मौसममा जिल्लाका स्थानीय बेशी झर्ने गरेतापनि यहा मजदुरी गर्न आएकाहरु भने चिसो सहदै काम गर्नपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया