भारतीय तस्करको २३ किलो सुन र गाडी नेपालमा पक्राउ
समाधान संवाददाता, काठमाडाैं
नेपाल प्रहरीले बिहीबार कञ्चनपुरको पुनर्वास क्षेत्रबाट १८ किलो सुनसहित एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले भारतीय सीमावर्ती क्षेत्र पुनर्वासबाट सो परिमाणमा सुन बरामद गरेको हाे ।
पुनर्वास नगरपालिकाको दशरथबस्तीका शंकर बिकको घरबाट माटोमा गाडेको अवस्थामा १८ किलो सुन भेटिएको थियो । प्रहरीले सुनसँगै एकजनालाई पक्राउ गरेकाे थियो । प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा थप पाँच किलो ६०० ग्राम सुन बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले छापा मारी सुन बरामद गरेको हो । प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुकाइछिपाइ राखेको अवस्थामा सुन बरामद भएको हो ।
सिआइबीका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार बरामद भएको सुन भारतीय तस्करको हो। तस्कर समूहको ड्राइभर रहेका नेपाली चालकले गाडीमा सुन भएको थाहा पाएपछि गाडी ल्याएर नेपाल आएका थिए । ‘भारतीय तस्करको गाडी चलाउने नेपाली ड्राइभरले गाडीमा सुन भएको थाहा पाएर गाडीसहित नेपाल आएछन्,’ ती अधिकारीले भने, ‘घर आएर १८ केजी सुन भाइको ससुरालीमा लगेर राखे । बाँकी ५ केजी आफ्नै घरमा राखेको र केही सुन चलाएको पनि देखियो।’
ती ड्राइभरका भाइ नेपाल प्रहरीमा कार्यरत छन् । सिबिआई अधिकारीका अनुसार ड्राइभर सुनसहित गाडी ल्याएर नेपाल आएपछि तस्कर समूह पनि केही दिनअघि कञ्चनपुर आएको थियो । ‘उनीहरूले गाडीमात्र लिएर गए । सुन वैध भएको भए उनीहरू दाबी गर्थे तर सुनबारे केही नभनी गए। त्यहीबेला सूचना चुहिएपछि हामीले अनुसन्धान थालेका थियौं,’ ती अधिकारीले भने ।
सुनको सूचना प्रहरीसम्म कसरी पुग्यो भन्ने उनले खुलाएनन् । सिआइबीका एसपी सुदिप गिरी, कैलालीका एसपी आभषण तिम्सिना, अपराध महाशाखाका डीएसपी रुगम कुँवर जिप्रका कञ्चनपुर मातहतको संयुक्त टोलीले सुनको अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी कार्यालयल कञ्चनपुरले बरामद सुन र पक्राउ परेका व्यक्तिहरुबारे शुक्रबा पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया