प्रदेश समृद्धिका आधार

समाधान संवाददाता २०७५ फागुन ५ गते ८:१३

डा. गिरिधारी शर्मा पौडेल

प्रदेशको नीति निर्माण र योजना तर्जुमा प्रक्रियालाई वैज्ञानिक र पारदर्शी बनाउन साउन ६ गते गठित प्रदेश नीति तथा योजना आयोगले माघ अन्तिममा आएर पूर्णता पाएको छ । सीमित स्रोतसाधन र उच्च आकांक्षाबीच काम थालेको आयोगले छोटो अवधिमै पनि प्रशस्त काम गरेको अनुभूति हामीलाई भएको छ । फरक शासकीय शैली अवलम्बन गरेको अहिलेको अवस्थाका काम कहाँबाट थाल्ने अन्योल थियो । प्रदेशको वस्तुस्थिति झल्कने कुनै तथ्यांक नहुँदा अलमलमा पर्नु स्वभाविक पनि थियो ।

नीति तथा योजना आयोग गठन कार्यादेशमा उल्लेख गरिएका बुँदामा टेकेर हामीले काम थालेका छौं । नयाँ वर्षसँगै हामीले प्रदेशको पञ्चवर्षीय योजना तयार पार्ने गरी आयोग जुटेको छ । प्रदेशको समग्र समृद्धिका लागि भविष्यपरक दृष्टिसहितको दीर्घकालीन लक्ष्य, मार्गचित्र, नीति तथा योजना तर्जुमा गरी त्यसको कार्यान्वयनको सहजीकरण गर्ने आयोगको मुख्य काम हो । यसका साथै आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, पर्यावरणीय र सुशासनका क्षेत्रमा रणनीतिक प्रकृतिका आवधिक नीति तथा योजना तयार गर्ने जिम्मा पनि आयोगले पाएको छ । आयोगले पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धी प्रारम्भिक दस्तावेज तयारी पारी सार्वजनिक समेत गरेको छ ।

Advertisement

प्रदेशको आन्तरिक राजस्व संकलन गर्ने संरचना कमजोर रहेकोले दिगो र प्रभावकारी बनाउने प्रस्थान मार्ग खोज्न जरुरी छ ।

छरिएर रहेका तथ्यांक संकलन गरी प्रदेशको स्थितिपत्र समेत तयार भइसकेको छ । गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादन ३ खर्ब १५ अर्ब ६२ करोड छ । प्रदेशले मुलुकको कुल ग्राहस्थ उत्पादनमा १०.५ प्रतिशत योगदान गरेको छ ।

Advertisement

समस्या र चुनौती
गण्डकी प्रदेशका सामाजिक, आर्थिक र भौतिक पूर्वाधारका सूचकहरुको स्थिति विश्लेषण गरेको स्थितिपत्रले प्रदेशको प्रथम आवधिक योजनाले हालको स्थितिबाट तल उल्लेख भएका नयाँ प्रस्थान मार्ग खोज्न सुझाएको छ ।
– सहरमा आयतित सामान बेच्ने नाफामुखी र ग्रामीण क्षेत्रमा निर्वाहमुखी अर्थतन्त्रबाट उत्पादनमुखी, आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने प्रस्थान मार्ग खोज्ने ।
– स्थानीय उत्पादनसँगको सहकार्य कमजोर रहेको पर्यटन व्यवसायलाई स्थानीय उत्पादनसँग सघन सहकार्य गर्ने प्रस्थान मार्ग खोज्ने ।
– निजी क्षेत्रले बगिरहेका खोला तथा नदीमा निर्माण गर्दै गरेका साना जलविद्युत आयोजनाबाट ठूला र जलशाययुक्त आयोजना निर्माण गर्ने र जलविद्युतको सहयोगी सौर्य उर्जा संगसंगै उत्पादन गर्ने प्रस्थान मार्ग खोज्ने ।
– हालको निर्वाहमुखी कृषि प्रणालीलाई यान्त्रीकरण र व्यावसायीकरण गरी उच्च उत्पादन र उत्पादकत्व हासिल गर्ने प्रस्थान मार्ग खाज्ने ।
– परिवारले सञ्चालन गरेका अनौपचारिक साना प्रतिष्ठानबाट संगठित क्षेत्रमा मझौला तथा ठूला कृषि प्रशोधन र खनिजजन्य उद्योग स्थापना गर्ने प्रस्थान मार्ग खोज्ने ।
– निर्धारित समय र लागतमा निर्माण पूरा नहुने भौतिक संरचनाको निर्माण पद्धतिबाट निर्धारित समय र लागतमा गुणस्तरीय भौतिक संरचनाको निर्माण सम्पन्न गर्ने पद्धतिको विकास गर्ने प्रस्थान मार्ग खोज्ने ।
– बजारको मागसँग प्रत्यक्ष नजोडिएको र साधारण विषयको वर्चश्व रहेको वर्तमान शिक्षा प्रणालीलाई बजारको माग, उत्पादन र उद्यमसँग जोडिएको प्राविधिक शिक्षामा रुपान्तरण गर्ने प्रस्थान मार्ग खोज्ने ।
– रोगहरुको संरचनागत परिवर्तन अनुसार जनताका स्वास्थ्य समस्या समधान गर्न कमजोर स्वास्थ्य सेवा प्रणालीलाई आधारभूत र विशिष्टिकृत सेवा प्रभावकारी रुपमा प्रदान गर्ने प्रणालीमा रुपान्तरण गर्ने प्रस्थान मार्ग खोज्ने ।
– प्रमाणमा आधारित योजना तर्जुमा पद्धतिको विकास गर्न प्रदेशको तथ्यांक प्रणाली विकास गर्ने प्रस्थान मार्ग खोज्ने ।
– प्रदेशको आन्तरिक राजस्व संकलन गर्ने संरचना कमजोर रहेकोले दिगो र प्रभावकारी बनाउने प्रस्थान मार्ग खोज्ने ।
गण्डकी प्रदेशको समृद्धिको लागि मुख्य ७ संवाहक पहिचान गरिएका छन् ।

पर्यटन
स्थानीय उत्पादनसँग सम्बन्ध भएको गुणस्तरीय पर्यटन सेवाको सुदृढीकरण र विस्तार गर्न जरुरी छ । स्थानीय उत्पादनसँग सम्बन्ध भएको पर्यटनले नयाँ रोजगारीको सिर्जना, गरिबी निवारण, आयात प्रतिस्थापन र प्रदेश अर्थतन्त्रको विस्तार गर्न सघाउँछ ।

ऊर्जा
नविकरणीय उर्जा (जल, सौर्य र वायु ऊर्जा) को उत्पादन, उपभोग र निकासीलाई हामीले प्राथमिकतामा राख्नुपर्छ । बढ्दो ऊर्जा उत्पादनले औद्योगिकीकरणको विस्तार, यान्त्रीकरण, विद्युतीय यातायातका साधनको प्रयोग र पेट्रोलियम पदार्थको आयातमा कम गरी स्वाधीन र हरित अर्थतन्त्र निर्माणमा सघाउँछ ।

कृषि
उच्च उत्पादन दिने जैविक (अर्गानिक) कृषि प्रणालीको प्रबद्र्धन, यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरण अर्को महत्वपूर्ण पक्ष हो । कृषिको यान्त्रीकरण र ब्यासायीकरणले उच्च उत्पादन र उत्पादकत्व प्राप्त गर्न र अर्थतन्त्रमा उच्च उत्पादन हाँसिल गरी आर्थिक लाभ लिन मद्दत गर्दछ ।

उद्योग
उद्यमशीलताको विकास, मझौला र ठूला उद्योग स्थापना र औपचारिक क्षेत्रको विस्तार गण्डकीको अर्को आवश्यकता हो । कृषि प्रशोधन र खनिजजन्य उद्योगलाई चाहिने कच्चा पदार्थको आपूर्ति प्रदेशभित्रबाट हुँदा प्रदेश अर्थतन्त्रमा उद्योग पछाडिको सम्बन्ध र उत्पादित वस्तुको बजार व्यवस्थापनले अर्थतन्त्रमा उद्योग अगाडिको सम्बन्ध विकास गरी रोजगारीको विस्तार, अयात प्रतिस्थापन, राजस्वको वृद्धि र यसले प्रदेश अर्थतन्त्रको आकार र आयतन बढाउन मद्दत गर्दछ ।

पूर्वाधार
उत्पादनमुखी स्वधीन अर्थतन्त्र निर्माणमा सघाउने भौतिक पूर्वाधारको विस्तार र सञ्जालीकरणलाई हामीले प्राथमितामा राखेका छौं । भौतिक पूर्वाधारको विकासले प्रदेश अर्थतन्त्रमा उत्पादन क्षेत्रको लागत घटाउने र प्रतिस्पर्धी क्षमता बढाइ बजार अर्थतन्त्रको विस्तार गर्न मद्दत गर्दछ ।

मानव संशाधन
उच्च उत्पादन र उत्पादकत्व प्राप्त गर्न चाहिने ज्ञान र सिप भएको मानव संशाधनको विकासलाई समेत आयोगले गम्भीरतापूर्वक लिएको छ । प्राविधिक सिप र ज्ञान भएको जनशक्तिले नयाँ प्रविधिको अन्वेषण गरी उत्पादन प्रक्रियालाई सरलीकरण गरी प्रभावकारी रुपमा उच्च उत्पादन प्राप्त गर्न सघाउँछ ।

सुशासन
राज्य संयन्त्रका सबै अंगमा विद्युतीय सुशासनको प्रत्याभूति गर्ने कामलाई आयोगले प्राथमिकता दिएको छ । विद्युतीय सुशासनको अभ्यासले राज्य संयन्त्रको कार्य क्षमता बृद्धि गरी उच्च प्रतिफल प्राप्त गर्न सघाउँछ ।

गण्डकी प्रदेशको समृद्धिको लागि ५ वटा मुख्य सहयोगी क्षेत्र पहिचान गरिएका छन् । पहिलो हो प्राकृतिक सुन्दरता । गण्डकी प्रदेशको तराइदेखि हिमालसम्मको मनोरम भूधरातल, ताल तलैया, पदमार्ग, नदी निर्मित गहिरा गल्छी लगायत प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका स्रोत तथा प्रदेश समृद्धिको महत्वपूर्ण सहयोगी क्षेत्र हो ।

दोस्रो हो जैविक विविधता । गण्डकी प्रदेशको करिब ४६ प्रतिशत भूभाग चितवन राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण र मनासलु संरक्षण क्षेत्र, पञ्चासे संरक्षित वन, फेवातालको पश्चिममा रहेको विश्व जैविक विविधता बगैंचा (पार्क) र ढोरपाटन शिकार आरक्षण भित्र पर्दछ । प्रदेशका यी निकुन्ज तथा संरक्षण क्षेत्रभित्र विशाल जैविक विविधताको संरक्षण र प्रर्बद्धन हुँदै आएको छ । जैविक विविधतको संरक्षण र बजारीकरण प्रदेश समृद्धिको एक महत्वपूर्ण सहयोगी क्षेत्र हुनेछ ।

सामाजिक विविधताबीच एकता तेस्रो सहयोगी क्षेत्र हो । गण्डकी प्रदेशमा व्राह्मण, क्षेत्री, मगर, गुरुङ, थारु, तामाङ, नेवार, कामी, सार्की, दमाई-ढोली, मुसलमा, यादव, राई, ठकुरी, लिम्बु, थकाली, लेप्चा र अन्य गरी २२ भन्दा बढी जातजातिका मानिस बसोबास गर्छन् । यी विभिन्न सामाजिक समूहबीच रहन सहनमा विविधता भए पनि आर्थिक विकास र पूर्वाधार निर्माणमा विविधताबीच अनुपम एकता छ जुन प्रदेश समृद्धिको महत्वपूर्ण सहयोगी क्षेत्र हुनेछ ।

चौथो, क्षेत्र हो सांस्कृतिक सम्पन्नता र पहिचान । यो प्रदेश कला र संस्कृति खासगरी लोकभाकामा दोहोरी गीतको उद्गमस्थल र सांस्कृतिक सम्पन्नताको प्रतीक हो । यस प्रदेशमा विकास भएको गुरुङ, मगर, थकाली र थारु संस्कृति सामाजिक पहिचानको आदर्श नमुना हो । यी सामाजिक एवं सांस्कृतिक सम्पन्नता र पहिचान पर्यटक आकर्षणका स्रोत र प्रदेश समृद्धिका महत्वपूर्ण सहयोगी क्षेत्र हुनेछन् ।

जनसांख्यिक लाभ गण्डकी प्रदेशको पाँचौं महत्वपूर्ण क्षेत्र हो । गण्डकी प्रदेशमा कामगर्ने उमेर समूह १५ देखि ५९ वर्षको जनसंख्या ५६.९ प्रतिशत छ । यो उमेर समूहले उत्पादन क्षेत्रमा उल्लेखनीय योगदान दिई जनसांख्यिक लाभ प्राप्त हुने र प्रदेश समृद्धिको १ महत्वपूर्ण सहयोगी क्षेत्र हुनेछ । नेपालले तय गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि गण्डकी प्रदेशले सहयोगी, परिपूरक र समपूरकको भूमिका निर्वाह गरेको छ । आफ्ना नीति तथा कार्याक्रममा दीगो विकासलाई आन्तरिकीकरण गर्दै लगेको छ ।
(पौडेल गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष हुन्)

तपाईको प्रतिक्रिया