खानेपानी संस्थानका २ कर्मचारी संगठन एकीकरण

समाधान संवाददाता २०७५ फागुन ५ गते ९:५५

समाधान संवाददाता

खानेपानी संस्थान कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय समितिबीच शनिबार एकीकरण भएको छ । नेपाल खानेपानी संस्थानमा कार्यरत कर्मचारीको दुवै संगठनबीच एकीकरण गरेपछि संगठनको नाम नेपाल खानेपानी संस्थान कर्मचारी संगठन राखिएको छ ।
एकता घोषणा कार्यक्रममा तत्कालीन खानेपानी संस्थान संगठनका अध्यक्ष रामजी अर्यालको सयोजकत्वमा ३१ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरिएको छ । समितिको सहसंयोजकमा साविक नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष समीर पण्डित छन् ।

संगठनको सचिवालय सदस्यमा संयोजक अर्याल, सहसंयोजक पण्डित, रामकुमार श्रेष्ठ, कुलदेव ज्ञवाली, वसन्त भण्डारी, अच्युत घिमिरे, मेनुका बराल, कमल थापा र सविता घिमिरे छन् । एकीकृत संगठनको आवद्धता सार्वजनिक संस्था कर्मचारी संगठनसँग छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समितिका सदस्य तथा निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले प्रगतिशील पक्षधर कर्मचारी समन्वयात्मक ढंगले अगाडि बढी जनतालाई दिने सेवालाई प्रभावकारी बनाउन सुझाव दिए । संगठनमा शक्ति हुने उल्लेख गर्दै नेता प्यासीले संगठनले सदस्यको हकहित र फाइदा पुग्ने काम गर्न अनुरोध गरे । ‘उच्च नैतिकता र भावनाका साथ जनताका सेवामा समर्पित हुनु होस्,’ नेता प्यासीले भने, ‘कर्मचारी जिम्मेवारी र जवाफदेही बने असल राष्ट्र सेवक बन्नुस् ।’

Advertisement

नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङले खानेपानी संस्थानले जनताको आधारभूत आवश्यकता पूरा गर्नुका साथै व्यावसायीक योजनाका साथ काम गर्न सुझाव दिए । नेपाल खानेपानी संस्थान सञ्चालक समिति अध्यक्ष जीउलाल चौधरीले संस्थानका कर्मचारीलाई नियमित तलब खुवाउनको लागि प्रयास गर्ने बताए । संस्थानका करारका कर्मचारीको समस्या समाधान गर्ने उल्लेख गर्दै अध्यक्ष चौधरीले आवश्यक कर्मचारीको व्यवस्थापनको लागि दरबन्दी मिलान गर्ने प्रतिवद्धता जनाए ।

‘संस्थानको सुदृढीकरणमा हाम्रो प्रतिवद्धता, पेसागत हितको लागि कर्मचारी एकता’ भन्ने नाराका साथ भएको कार्यक्रममा नेकपा कास्कीका सयन्त्र सदस्य दामोदर वैरागी, खानेपानी संस्थान सञ्चालक समितिका सदस्य विष्णु सुब्बा, सार्वजनिक संस्था कर्मचारी संगठनका राष्ट्रिय समितिका सदस्य मधुसुधन अधिकारी, खानेपानी संस्थान कर्मचारी संगठनका सल्लाहाकार कृतिनाथ देवकोटा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य हरि पौडेल, खानेपानी संस्थान पोखरा शाखाका प्रमुख इन्जिनियर निरण महर्जन, नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय महासचिव केदार धमला, नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका सचिवालय सदस्य वसन्त भण्डारी, संगठनका केन्द्रीय सदस्य प्रधुम्न बस्नेत लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया