अस्ट्रेलियाको बिग ब्याश लिगमा सन्दीपको टोली उपविजेता

समाधान संवाददाता २०७५ फागुन ५ गते १४:१९

नेपाली बलर सन्दीप लामिछाने सहभागी मेल्बर्न स्टार्स, अस्ट्रेलियाको चर्चित व्यावसायिक क्रिकेट प्रतियोगिता बिग ब्याश लिगको उपविजेता बनेका छन् । मेल्बर्न सहरका दुई क्लबबीच खेलिएको ‘मेल्बर्न डर्बी’ फाइनलमा मेल्बर्न स्टार्सलाई मेल्बर्न रेनिगेड्सले १३ रनले पराजित गरेको हो ।

फाइनलमा सन्दीपले विकेट लिन नसकेपनि उनको कसिलो बलिङले विपक्षी ब्याट्सम्यानहरूलाई केही बाँध्न मद्दत पुगेको थियो । चार ओभर बलिङ गर्ने क्रममा ४ रनको औसतमा उनले १६ रनमात्र दिए । समग्रमा उनले प्रतियोगिताभरि ११ विकेट लिन सफल भएका छन् ।

प्रतिस्पर्धा
टस जितेर पहिलो बलिङ रोजेको मेल्बर्न स्टार्सले प्रतिद्वन्द्वीलाई १ सय ४५ रनमा रोकेको थियो । रेनिगेड्सलाई शुरुवातदेखि नै रोक्ने क्रममा स्टार्सका बलरहरू एडम जाम्पा र ज्याकसन बर्डले २/२ विकेट लिए ।

Advertisement

रेनिगेड्सलाई उकास्नका निम्ति टम कुपर र डानियल क्रिस्टियनको भूमिका महत्त्वपूर्ण रह्यो । छेटौं विकेटका लागि यो जोडीले ८५ रनको अविजित साझेदारी गरेपछि टोलीले योग्य स्कोर बनायो ।
जवाफी ब्याटिङमा मेल्बर्न स्टार्स सुरुदेखि नै हावी देखियो ।

तर अन्तिम समयमा एकपछि अर्को खेलाडीहरू आउट भएका कारण टोलीले अनपेक्षित हार बेहोर्नुपर्‍यो ।

Advertisement

सन्दीपको प्रदर्शन
बिग ब्याश लिगमा पहिलो पटक आवद्ध लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन सुरुदेखि नै प्रभावकारी देखिएको थियो ।

सिड्नी थन्डर्स विरुद्धको पहिलो खेलमा उनले २ विकेट लिए । त्यो प्रभाव कायम राख्दै दोस्रो खेलमा होबार्ट हरिकेन्स विरुद्ध ३ विकेट र तेस्रो खेलमा उनले सिड्नी सिक्सर्स विरुद्ध २ विकेट लिएका थिए । रमाइलो पक्ष के थियो भने उनले यी तीनवटै खेलमा विपक्षी कप्तानको विकेट लिएका थिए। त्यतिबेलासम्म प्रतियोगिताको सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा पहिलो पंक्तिमा उनी नै थिए ।

रेनिगेड्स विरुद्धको चौथो खेलमा भने सन्दीपले १ विकेटमात्र लिएका थिए । त्यसपछि बाँग्लादेश प्रिमियर लिग बीपीएल र नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका निम्ति सन्दीपले अस्ट्रेलिया छाडेका थिए । बीपीएलमा खासै उल्लेख्य प्रदर्शन नगरेपनि युएई भ्रमणमा नेपाललाई एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय उपाधि दिलाउने टोलीको महत्त्वपूर्ण सदस्य बनेर उनी फेरि बिग ब्याश लिगका बाँकी खेल खेल्न अस्ट्रेलिया फर्केका थिए ।

प्रभाव कायम
सन्दीपले फर्केर पनि आफ्नो राम्रो प्रदर्शन कायम राखे । मुख्यत: सेमीफाइनल पुग्नका निम्ति सिड्नी सिक्सर्स विरुद्ध जित्नैपर्ने खेलमा उनले ३ विकेट लिए। त्यो पनि ३ रनको औसतमा कसिकसाउ बलिङ गर्दै ।सेमीफाइनल र फाइनलमा भने उनले विकेट लिन सकेनन् ।

अब कता
बिग ब्याश लिगको यात्रा सकिएपछि सन्दीप अब पाकिस्तान सुपर लिग खेल्न जाँदैछन् । युएईमा हुने उक्त प्रतियोगितामा उनी लाहोर कलन्दर्सका तर्फबाट खेल्नेछन् । उक्त टोलीमा दक्षिण अफ्रिकाका चर्चित खेलाडी एबी डिभिलियर्स पनि छन् ।

त्यसपछि उनी भारतमा सुरु हुने इन्डियन प्रिमियर लिग आइपीएल खेल्न जानेछन् । दिल्ली क्यापिटल्स (त्यतिखेर दिल्ली डेरडेभिल नाम भएको) टोलीबाटै उनले गत वर्ष आफ्नो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गरेका थिए ।

तपाईको प्रतिक्रिया