अस्तव्यस्त पार्किङ सुधार गर्दै पाेखरा महानगर

समाधान संवाददाता २०७५ फागुन ६ गते १०:३९

विकास रोकामगर
पोखरा

पोखराका मुख्य सडकमा प्राय सवारी साधनको ठूलो चाप हुन्छ । लाखौंको संख्यामा रहेको सवारी साधनका व्यवस्थित पार्किङस्थल नहुँदा बेलाबेला जामको समस्या निम्त्याइरहन्छ । मुख्य सडकमा जाम हुने हुँदा सवारी चालक बाठो बन्छन् र सजिलो शाखा बाटो रोज्छन् ।

तर सवारीको चापले गर्दा ती शाखाबाटामा पनि अस्तव्यस्त पार्किङ हुन्छ । मुख्य बाटो छोडेर शाखा बाटो रोन्नेहरु पनि ‘तावाबाट भागेको माछा भुंग्राामा’ भनेजस्तै समस्या पर्ने गरेका छन् । पछिल्लो समय पोखराका मुख्य सडकमा मात्रै नभई शाखा गल्ली तथा बाटोमा पनि जामको समस्या देखिन थालेको सवारीचालकको गुनासो बढिरहेको छ ।

Advertisement

भीड र जामको समस्या पोखरा महानगरपालिकाका भित्री शाखा बाटामा पार्किङ सुविधा नभएका कारण बढेको बताउँछन्, सवारी चालकहरु । महानगरले सहरी क्षेत्रमा बढिरहेको सवारी साधनको चाप र त्यसले निम्त्याइरहेको जाम रोक्न भरपर्दो योजना ल्याउन सकेको छैन । पार्किङस्थल नहुँदा महानगर कार्यालय अगाडि नै अव्यवस्थित रुपमा गाडी पार्किङ हुने गरेका छन् ।

जिल्ला यातायात कार्यालयको प्रतिवेदन अनुसार पोखरामा दैनिक १ लाख ४० हजारभन्दा बढी सवारीसाधन गुड्छन् । जसमा अधिकतम् सवारीसाधन बाटो छोट्याउँदै शाखाबाटा रोज्छन् । बजारका मुख्य बाटोबाहेक अन्य शाखा तथा गल्लीबाटोमा पार्किङ गर्दा सवारी धनीले पार्किङ गरे वापतको शुल्क पनि तिर्नु पर्दैन । तर महानगरले लामो समयदेखि पार्किङ सम्बन्धी उचित नीति ल्याउन नसक्दा मुख्य सडकमा हुने पार्किङ बापतको शुल्कसमेत गुमाउँदै आएको छ ।

Advertisement

पार्किङ शुल्क उठाउनै ३ पटक टेन्डर !
पोखरा महानगरले पार्किङ शुल्क उठाउन १५ दिने सूचना निकालेको छ । अहिलेको टेन्डर महानगरले निकालेको तेस्रोपटक हो । तेस्रोपटकको टेन्डरमा महानगरले टेन्डर मूल्य न्यूनतम् ५ करोड ३९ लाख रुपैयाँ तोकेको छ । तर हालसम्म कुनै आवेदन नपरेको महानगर लेखा अधिकृत छविलाल शर्मा बताउँछन् ।

महानगरले यसअघि ७ करोड रुपैयाँमा २ पटक टेन्डर आह्वान गरेको थियो । शर्मा ‘बोल रकम’ बढी भएका कारण कसैले पनि आवेदन नदिएको बताउँछन् । ‘उहाँहरु मूल्य रकम बढी भयो भनेर निवेदनै दिन आउनु भएन,’ उनले भने, ‘त्यसैले यसपटक ३० प्रतिशत मूल्य घटाएर फेरि टेन्डर आह्वान गरेका हौं ।’ उनले पछिल्लो तेस्रोपटकमा मूल्य घटाएका कारण टेन्डर पर्ने विश्वास व्यक्त गरे ।

सम्झौता भएको कम्पनीबाटै पैसा असुल्न बाँकी
पोखरा महानगरले पोखराका मुख्य क्षेत्रमा पार्किङ व्यवस्थित गर्न र शुल्क उठाउन ७३ सालमा अशेष निर्माण सेवालाई जिम्मा दिएको थियो । त्यसबेला महानगरले २ वर्षको सम्झौतासहित २ करोड ८८ लाखमा उक्त कम्पनीलाई टेन्डर दिएको थियो । जसको अवधि सकिएकोमात्रै करिब ६ महिना हुन लागिसकेको छ ।

महानगरले उक्त कम्पनीबाट अहिलेसम्म १ करोड २५ लाख उठाउन बाँकी रहेको पाइएको छ । महानगर राजस्व शाखाका अनुसार उक्त कम्पनीबाट पैसा असुल्न ‘कदम’ चालिसकिएको छ । ‘हामीले पैसा असुल्न कारबाही प्रक्रिया सुरु गरिसकेका छौं,’ लेखा अधिकृत छविलाल शर्माले भने, ‘अबको केही हप्तामै सबै पैसा असुली हुन्छ ।’

लेखा अधिकृत शर्माले पैसा असुल्न राष्ट्र बैंकमा रहेको अशेष कम्पनीको खाता रोक्का गरिसकेको बताए । उनले भने, ‘उक्त बैंकबाट महानगरले १ करोड ग्योरन्टी दाबी गरिसकेका छौं । उक्त रकम महानगरले चाँडै प्राप्त गर्ने प्रक्रियामा छ ।’ उनले बाँकी २५ लाख असुल्न कम्पनीको नाममा रहेको तनहुँ छाप्देको जग्गा रोक्का गरिसकेको सुनाए ।

व्यवस्थित गर्ने काम अघि बढिसकेको छ ः महानगर
पोखरा महानगरले पोखरामा व्यवस्थित पार्किङ गर्ने काम भइरहेको महानगरले जनाएको छ । पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले आइल्यान्ड भत्काएर सडक चख्ल्याउनेदेखि फुटफाथ बनाउनेसम्मको काम भइसकेको बताए ।

‘पोखराका विभिन्न चोकका आइल्यान्ड भत्काएर सडक चख्ल्याइसकेका छौं,’ सुवेदीले भने, ‘सडकको मापदण्ड मिचेर बनेका संरचना पनि हामीले भत्काउँदै लगिरहेका छौं ।’ उनले पोखरा २६ का सडकको मापदण्ड मिचेर बनेका सबै संरचना भत्काइसकेको र हाल पोखरा २९ मा काम भइरहेको जानकारी दिए ।

पोखरा पृथ्वीचोकदेखि महेन्द्रपुलसम्मको पार्किङ व्यवस्थित गर्न महानगरले प्रदर्शनी केन्द्रअघि पार्किङ स्थल बनाएको छ । पुस १९ गते बसेको महानगर ट्राफिक व्यवस्थापन समितिले उक्त जग्गा खाली गरेर पार्किङ स्थल बनाउने निर्णय गरेको थियो । समितिका संयोजक सुरेन्द्र पौडेलले उक्त ठाउँमा निशुल्क पार्किङ सुरु भइसकेको जनाए ।
‘प्रदर्शनी केन्द्र नजिककै निशुल्क पार्किङ सुरु भइसकेको छ ।

लेकसाइड क्षेत्रको पार्किङ समस्या हटाउन क्याम्पिङ चौरलाई प्रयोग गर्न लागेका छौं,’ पौडेलले भने, ‘अरु ठाउँमा पार्किङस्थल बनाउन सार्वजनिक जग्गाको खोजी गरिरहेका छौं ।’ उनले सार्वजनिक, निजी साझेदारी शैलीमा पार्किङ स्थल बनाउन सूचना आह्वान गरिएको जनाए ।

महानगरले सडक तथा पार्किङ व्यवस्थापन गर्न कुनै पनि चोकमा गाडी २ मिनेटभन्दा बढी रोक्न नपाइने नीति ल्याएको जनाएको छ । ‘तोकिएको क्षेत्रमा मात्रै गाडी रोक्न पाइन्छ । प्रत्येक चोकमा २÷३ जना ट्राफिक प्रहरी खटाएका छौं,’ पौडेलले भने । उनले मुख्य सडकमा खुलेका ग्यारेज पनि हटाउन लागिएको र अटेर गरे १५ हजारसम्म जरिवाना हुने जानकारी दिए ।

तपाईको प्रतिक्रिया