म्यादे गाउँपालिकाद्वारा ९ विद्यालयमा सेनेटरी प्याडकाे व्यवस्था

कृष्ण न्यौपाने
दमौली
रजस्वला भएको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ । रजस्वला हुँदा विद्यालयमा गयल हुने प्रवृत्ति बढेपछि गाउँपालिकाले म्याग्देका ९ वटा विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो ।
आधारभूत र माध्यमिक तहसम्म पढाई हुने ९ वटा विद्यालयमा प्याड वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले जानकारी दिए । आधारभूत र माध्यमिक तहसहित कक्षा ११ र १२ मा ७ सय ५३ जना छात्राहरु अध्ययनरत छन् । उनीहरुका लागि ५ हजार प्याकेट सेनेटरी प्याड उपलब्ध गराएको तिवारीले बताए । उनले भने, ‘आगामी शैक्षिक सत्रसम्मका लागि पुग्ने गरेर विद्यालयलाई प्याड वितरण गरेका छौं । विद्यालयमै प्याडको व्यवस्था गरिदिएपछि छात्राहरु नियमित आउने विश्वास छ ।’
विद्यालयका शिक्षिकाहरुलाई प्याड व्यवस्थापनको जिम्मा दिइएको र प्याड कति प्रयोग भयो भन्ने रेकर्ड पनि उनीहरुले राख्ने तिवारीको भनाई छ । ३ लाख २५ हजार खर्चिएर ५ हजार प्याकेट प्याड विद्यालयहरुमा वितरण गरिएको छ । उनले भने, ‘महिनावारी भएको समयमा छात्राहरुको पढाइ अवरोध नहोस् भन्ने गाउँपालिकाको उद्देश्य हो । चेतनाको अभावले किशोरीले पुराना फोहोर कपडा प्रयोग गर्दा संक्रमण फैलने सम्भावना हुन्छ ।’
विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि छात्रालाई सहज भएको म्याग्दे गाउँपालिका १ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले बताए । उनका अनुसार रजस्वलाको समयमा विद्यालय नआउने छात्राको दरमा कमी आउने विश्वास गरिएको छ । उनले भने, ‘रजस्वलाको समयमा छात्राहरु विद्यालय नआउने दर बढ्दै गइरहेको थियो, विद्यालयमै प्याड उपलब्ध हुने भएपछि छात्राहरु नियमित आउने गरेका छन् ।’







कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया