पोउवासंघमा मनोनीत ४ सदस्यको सपथ

समाधान संवाददाता २०७५ फागुन ६ गते ११:५२

समाधान संवाददाता
पोखरा

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले आफूबाट मनोनीत ४ सदस्यलाई आइतबार पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् । अध्यक्ष अधिकारीले पोखरा उद्योग वाणिज्य संघको विधानको धारा ६.१.१ (ड) ले दिएको अधिकार प्रयोग गरी साधारण सदस्यबाट ४ जनालाई कार्यसमिति सदस्यमा मनोनीत गरेका थिए । आइतबार अधिकारीले देवेन्द्र केसी, शिवराज आचार्य, एनबहादुर साई र रामबहादुर केसीलाई सपथ गराएका छन् ।

सपथग्रहण समारोहमा संघका दुई तिहाई सदस्य भने अनुपस्थित भए । संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले संघका दुई तिहाई सदस्यले अध्यक्षबाट भएको मनोनयन प्रक्रियाप्रति लिखित असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेको स्मरण गर्दै सपथग्रहण कार्यक्रमप्रति असन्तुष्टि प्रकट गरे ।

Advertisement

संघका महासचिव अजुर्न पोखरेलले १ दिन अगावै एजेन्डाबारे जानकारी दिनुपर्नेमा एकतर्फी र हचुवाका भरमा मनोनयन भएको जिकिर गरे । उनले अध्यक्ष अधिकारीले मनोनयन गरेका २ सदस्यको योग्यता नपुगेको बताए । आइतबार सपथ लिएका दि कुटी रिसोर्टका सञ्चालक देवेन्द्र केसीले २०७५ साउन २९ गते संघको सदस्यता लिएका थिए भने प्रसिम एग्रो फर्म हाउसका सञ्चालक शिवराज आचार्यले २०७४ फागुन २९ गते संघको सदस्यता प्राप्त गरेका थिए । संघको कार्यसकारिणी सदस्य हुने साधारण सदस्य भएको २ वर्ष पूरा हुनुपर्ने उनले बताए ।

संघको विधानको सोही प्रावधान अनुसार गएको निर्वाचनमा उम्मेदवारी दिएका शोभा गौतम र रामप्रसाद गौतमको उम्मेदवारी निर्वाचन समितिले खारेज गरिदिएको थियो । निर्वाचनमा उम्मेदबार बन्दा चाहिने योग्यता मनोनयन गर्दा पनि लागु हुने उनले तर्क गरे ।

Advertisement

‘संघको कार्यसमितिमा कम्तीमा संघप्रति २ वर्षदेखि अविछिन्न वफादार व्यक्ति सदस्य बनून भन्ने हेतुले विधानमा सो व्यवस्था गरिएको हो’, उनले भने, ‘विधानको त्यो मर्म कार्यसमिति मनोनयनमा पनि आकर्षित हुन्छ, भर्खरै सम्पन्न निर्वाचनको नजिरले पनि त्यही मान्यता स्थापित गरिदिएको छ ।’ उनले संघको विधानको मर्म अनुसार नै सबै अगाडि बढ्नुपर्नेमा जोड दिँदै आवश्यक परे यो निर्णयबारे कानुनी उपचार खोजिने पनि बताए ।

तपाईको प्रतिक्रिया