बागलुङकाे पञ्चकोटमा पर्यटक बढे

समाधान संवाददाता २०७५ फागुन ६ गते १२:०२

समाधान संवाददाता
बागलुङ

बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको पञ्चकोटमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । मनै लोभ्याउने पञ्चकोटका धार्मिक कलाकृतिका संरचना हेर्नका लािग जिल्लाका बिभिन्न ठाउँकासँगै अन्य जिल्लाका अधिकांश पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

बागलुङ नगरपालिका ६ स्थित पञ्चकोटमा शनिबार फुर्सदिलो समयमा पञ्चकोटमा रहेका धर्मिक संरचनाको अवलोकनका लागि पर्यटक आउने गरेको स्थानीय गकुल सापकोटाले बताए । जिल्ला सदरमुकामबाट अत्यन्तै नजिक तथा पक्की सडकका कारण आन्तरिक पर्यटकको रोजाइ पञ्चकोट पर्न थालेको उनको भनाइ छ । जिल्लाको सदरमुकामबाट आठ किलोमिटरको यात्रामा पञ्चकोट पुग्न सकिने भएकाले घुम्न र अवलोकनका लागि आउने गरेको सापकोटाले बताए ।

Advertisement

वार्षिक १ लाख पर्यटक भिœयाउने लक्ष्यका साथ अहिले धमाधम पञ्चकोटमा पूर्वाधार निर्माण भइरहेको छ । बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रुपमा विकास भइसकेको पञ्चकोटमा दैनिक ४ सयदेखि ५ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरे पनि शनिबारको दिन भने पर्यटकको संख्या दोब्बर हुने विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए ।

स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा) को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विसं २०७१ देखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिदै आएको छ । पञ्चकोटमा यही फागुन ९ गते देखि १५ गतेसम्म पाँचौ महायज्ञ हुन लागेको छ ।

Advertisement

दक्षिण भारतीय शैलीमा निर्माण भएका मन्दिर र पूर्वाधार निर्माण भइरहेको अवस्थामै अध्ययन तथा अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको हो । ३ वर्षदेखि निर्माणाधीन पञ्चकोटमा झण्डै २० करोडका संरचना निर्माण भइसकेका छन् भने मुख्य संरचनाका रुपमा निर्माण हुने विश्वशान्ति कलशको ६० करोड लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको प्रपन्नाचार्यले जानकारी दिए ।

बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलश निर्माण गरिने लक्ष्य रहेको प्रपन्नाचार्यले बताए । समुन्द्री सतहदेखि १ हजार १ सय मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौवलागिरि, निलगिरिलगायतका दर्जन बढी हिमशृंखला देख्न सकिने भएकाले पनि पर्यटकको घुइँचो लाग्न थालेको छ ।

तपाईको प्रतिक्रिया