के सडकले अन्नपूर्ण क्षेत्रको पदयात्रा पर्यटन मास्दैछ ?

समाधान संवाददाता २०७५ फागुन ६ गते १३:३४

नारायण कार्की

पूर्वतिर लमजुङको बेंसीसहरदेखि मनाङको चामे सडकमा सवारीको ओहोरदोहोर बढ्दो छ । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम र मुक्तिनाथ सडक पनि व्यस्त रहन थालिसकेका छन् । ती सडकले लमजुङ हुँदै मनाङ पुगेर मुस्ताङ हुँदै फेरि म्याग्दी र कास्की झर्ने अन्नपूर्ण क्षेत्रको फन्को लगाउने चक्रीय पदयात्रा मार्गको केही खण्डलाई इतिहासमा सीमित तुल्याइसकेका छन् ।

सडकको फाइदा र बेफाइदा के के ?
लमजुङ–मनाङ र म्याग्दी–मुस्ताङ सडकले पदयात्रा मार्ग छोट्याइदिए पनि ती सडकले सम्भावनाका नयाँ ढोकाहरू खोलिदिएको पर्यटनविद्हरू बताउँछन् ।

Advertisement

पहिलो, पदयात्रीबाहेक अन्य पर्यटकहरू मोटर चढेर हिमाली क्षेत्र छिटो र छरितो रूपमा पुग्ने क्रम बढेको छ जसले मनाङ र मुस्ताङमा पर्यटकको चहलपहल बढाइदिएको छ । दोस्रो, पदमार्ग अर्थात् ट्रेकिङ रुट मासिएको चिन्ता गर्नेहरूलाई स्थानीय बासिन्दाले नयाँ–नयाँ र अन्वेषण नगरिएका पदमार्गहरू देखाइदिन थालेका छन् । जस्तै हालै मनाङका पर्यटन व्यवसायीले मनास्लु क्षेत्रबाट मनाङ पुग्दै नार र फुजस्ता कम परिचितित गन्तव्यहरू पाहुनाको स्वागत गर्न लालायित रहेको जानकारी दिए ।

अन्नपूर्ण स्याङक्चुरी क्षेत्रभित्र पनि ल्वाङ घलेल–मार्दी हिमालका साथै खोप्रा डाँडा, सिक्लेस र पन्चासेजस्ता आकर्षक पदमार्गहरू लोकप्रिय हुँदैछन् । तातोपानी, घोडेपानी, पुनहिल, बनठाँटी, घान्द्रुक पदयात्रा मार्गमा पर्यटकहरूको ताँती घटेको छैन, बढ्दो छ ।

Advertisement

अन्नपूर्ण क्षेत्रको बढ्दो आकर्षण
अन्नपूर्ण क्षेत्र आफ्नो प्राकृतिक छटा तथा सांस्कृतिक एवं जैविक विविधताको कारण विश्वविख्यात बनेको हो । समुद्र सतहबाट ८ सय मिटरको उचाइमा अवस्थित पोखरा उपत्यकाबाट आकाश खुलेको दिन ८ हजार मिटर अग्ला हिमचुलीहरू नजिकै देख्न सकिन्छ ।

प्राकृतिक वातावरणमा पदयात्रा गर्दा शारीरिक तथा मानसिक स्फूर्ति बढ्छ । अन्नपूर्ण क्षेत्र प्रकृतिसँग रम्न पाइने देशकै एक प्रमुख गन्तव्य भएकोले अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रीहरूको भीडमा कुनै कमी आएको छैन ।

त्यो बर्सेनि बढ्ने क्रममा छ । सन् २०१८ मा अहिलेसम्मको रेकर्डलाई पछि पार्दै अन्नपूर्ण क्षेत्रमा १ लाख ८० हजार पर्यटकले पदयात्रा गरेको जानकारी पोखरास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालयले दिएको छ ।

नेपालका पदयात्राका प्रसिद्ध गन्तव्यहरूमा गएको वर्ष कति पर्यटकले पदयात्रा गरे भन्ने यकिन तथ्यांक प्राप्त नभए पनि तीमध्ये आधाभन्दा बढी अर्थात् करिब ६० प्रतिशतले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने अनुमान छ ।

भारतीय र चिनियाँ पदयात्रीको आकर्षण पनि बढ्दै
सामान्यतया भारतीय पर्यटकभन्दा बढी पश्चिमा पर्यटकले पदयात्रामा रुचि लिएको पाइन्छ । तर अन्नपूर्ण क्षेत्रमा भने भारतीय पदयात्रीको संख्याले अरू मुलुकलाई धेरै पछि पारेको छ ।

सन् २०१८ मा ४६ हजारभन्दा बढी भारतीय पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेको एक्यापका सूचना अधिकृत ऋषि बरालले जानकारी दिए । उनका अनुसार त्यो संख्या अघिल्लो वर्ष ३३ हजार थियो । अन्नपूर्ण क्षेत्रमा भारतीयपछि अर्को छिमेकी मुलुक चीनबाट गत वर्ष १३ हजार पर्यटक आएका थिए । मुक्तिनाथधाम अन्नपूर्ण क्षेत्रमा पर्ने भएकाले र गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमण गरेकाले त्यहाँ भारतीय धार्मिक पर्यटक थप आकर्षित भएको बताइन्छ ।

मोटर बाटो निर्माणले पदमार्ग संकटमा
अन्नपूर्ण क्षेत्रमा लमजुङ, मनाङ हुँदै मुस्ताङ पुग्ने सबैभन्दा प्रचलित अन्नपूर्ण चक्रीय पदमार्ग हो । मोटर बाटो नबन्दासम्म यो पदमार्ग छिचोल्न ३ हप्ता लाग्थ्यो । यही पदमार्गमा पर्ने ५ हजार ४ सय मिटर अग्लो थोराङला भन्ज्याङ पार गर्नु पर्यटकहरूको अभिलाषा हुन्थ्यो ।
यो निकै साहसिक पदयात्रा हो । धेरै पर्यटक थोराङ्ला पार गरेपछि खुसीले रुने त्यस क्षेत्रमा जाने नेपाली पथप्रदर्शकहरू बताउँछन् । तर लमजुङबाट मनाङसम्म र म्याग्दीबाट मुक्तिनाथसम्म मोटर बाटो बनेपछि त्यो मार्ग छोटिएको मात्र छैन, त्यस क्षेत्रको सौन्दर्य पनि हराएको गुनासो पर्यटकले गर्ने गरेका छन् ।

पदयात्रा व्यवसायीहरूको संगठन टानको पश्चिमाञ्चलका पूर्वअध्यक्ष दीपकराज अधिकारी भन्छन्, ‘पैदल मार्गका सिँढीहरू डोजर लगाएर भत्काएर मोटर बाटो निर्माण गर्ने कामले अन्नपूर्ण क्षेत्रको पदयात्रा पर्यटन नै संकटमा परेको छ ।’

उपल्लो मुस्ताङ, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक–घोडेपानी लगायतका लामो र छोटो दूरीका पदयात्रा मार्ग ‘मोटर बाटोले ध्वस्त’ हुन लागेको भन्दै व्यवसायीहरूले वैकल्पिक पदयात्रा मार्गको खोजी र विकास गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

जैविक विविधता
२ वटा हिमाली जिल्ला मुस्ताङ र मनाङलगायत कास्की, म्याग्दी र लमजुङका १५ गाउँपालिकाका ७ हजार ९ सय २६ वर्ग किलोमिटर भूभागमा अन्नपूर्ण संरक्षण आयोजनाले काम गरिरहेको छ । सन् २०१८ मा गरिएको पछिल्लो अध्ययन अनुसार अन्नपूर्ण क्षेत्रमा १ हजार २ सय ३३ प्रजातिका बोटविरुवा, ५ सय १८ प्रजातिका चरा, ३ सय ४८ प्रजातिका पुतली, १ सय ५ प्रजातिका स्तनधारी जनावर र ४० प्रजातिका सरीसृप पाइन्छन् ।

अन्नपूर्ण आधार शिविरबाट फर्किंदै गरेका रुसी पर्यटक । अन्नपूर्ण स्यांकचुरी क्षेत्रभित्र लान्द्रुक, घान्द्रुक र छोमरोङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । यहाँ नजिकै केही तल माछापुच्छ्रे आधार शिविर रहेको छ ।
अन्नपूर्ण क्षेत्रको पुनहिल र घान्द्रुकमा बाह्रै महिना पर्यटकहरूको भिड लाग्छ ।
अन्नपूर्ण क्षेत्रमा अन्नपूर्ण फन्कोका अतिरिक्त अन्नपूर्ण आधार शिविर र अन्य केही पदयात्रा गन्तव्यहरू विश्वविख्यात छन् ।
कास्कीको घान्द्रुक गाउँबाट अन्नपूर्ण दक्षिण र हिमचुली हिमालको दृश्यावलोकनका साथै गुरुङ संस्कृतिको विविधता अनुभव गर्न सकिन्छ ।
सडक सञ्जाल अन्नपूर्ण क्षेत्रका घान्द्रुक र अन्य भित्री गाउँसम्मै पुगिसकेका छन् । राजधानी काठमाडौं र पोखरामा घान्द्रुक जाने बस वा जिप पाइन्छन् ।
नेपाल आउने पदयात्रीमध्ये आधाभन्दा बढी अन्नपूर्ण क्षेत्रमा पुग्ने गरेको अनुमान छ ।

तपाईको प्रतिक्रिया