हिउँ खेल्न मुस्ताङ

समाधान संवाददाता २०७५ फागुन ७ गते ११:३६

सुन्दरकुमार थकाली
मुस्ताङ

केही साताअघि मुलुकभर मौसम बदलीसंगै हिमाली तथा उच्च पहाडी जिल्लामा वर्षा र हिमपात भयो । तराई र पहाडी भूभागमा पनि वर्षा भयो । मौसममा अपेक्षाकृत सुधार आउन थालेपछि हेटौडाकी स्वास्थ्यकर्मी विनिता ढकालसहित उनका केही साथी शनिबार मुस्ताङको जोमसोम आइपुगे ।

हिलाम्मे सडकको कष्ठकर यात्रा गर्दै मुस्ताङको लेते आइपुगेका उनीहरुलाई सडक जामले पिरोल्यो । पर्वतदेखि मुस्ताङसम्म सडक स्तर वृद्धि भइरहेकाले सडक जाम भएको थियो । सडकबारे कोवाङकी १ स्थानीयको सहयोगमा जानकारी लिंदै आफूहरु राति १० बजे जोमसोम आइपुगेको उनले उल्लेख गरिन् । उनीहरु आइपुग्दा जोमसोमका सबै होटल बन्द भइसकेका थिए । जसोतसो बास बस्ने तारतम्य मिल्यो ।

Advertisement

भोलिपल्ट बिहान सूर्योदयसँगै जोमसोम वरपरको अद्भूत दृश्य र डाँडापाखामा टल्किएको हिउँले उनीरुले बाटोको झन्झट बिर्सायो । शुक्रबार मुस्ताङमा परेको हिउँ यो सिजनको ५ औं पटक हो । शनिबार उनीहरु जोमसोम गुम्बा नजिकै हिउँ खेल्न पुगे । मुक्तिनाथको दर्शन गर्ने र यहाँको प्राकृतिक सौन्दर्य नियालेर उनीहरुको इच्छा भने पूरा हुन सकेन ।

लगातारको हिमपातले शनिबारदेखि कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध भएको थियो । स्थानीय प्रशासनले मुक्तिनाथ सवारी लैजान निषेध गरेको थियो । विनिता भन्छिन्, ‘मुस्ताङ आइपुग्दा प्रत्यक्ष हिउँको दृष्य देख्न पाइयो । हामी भाग्यमानी हौं । यस्तो दृष्य जोकोहीले विरलै देख्न पाउँछन् ।’ उनीहरुले हिउँ खेलेर रमाइलो गरे । सेल्फी खिचे ।

Advertisement

वीनितासँग आएका सरोज पाठकले मुस्ताङमा प्रत्यक्ष हिउँ परेको देख्दा रमाइलो अनुभति भएको बताए । उनले भने, ‘मुस्ताङ स्वर्गकै टुक्रा रहेछ ।’ अर्को पटक मौसम मिलाएर मुक्तिनाथ दर्शन गर्न आउने उनीहरुले बताए ।

मुस्ताङमा फागुन महिना सुरुवात भएसँगै एकथरी पर्यटक भने हिउँ खेल्न मुस्ताङ आउने क्रम सुरु भएको छ । कागबेनीदेखि मुक्तिनाथ २१ किलोमिटर सडकमा अझै २ फिट हिउँ छ । होटल ब्लु माउन्टेनकी सञ्चालक सम्झना थकालीले हिउँ खेल्नकै लागि भनेर मुस्ताङमा आन्तरिक पर्यटक आगमन वृद्धि भएको बताइन् । सडक अवरुद्ध भएकाले अपेक्षा अनुसार हिउँ खेल्न पर्यटक नआएको उनको अनुभव छ ।

मुस्ताङ आएका पर्यटक यतिबेला कालोभीर, खिंगा, झारकोट, मुक्तिनाथ, ठिनी र ढुम्बाताल पुग्ने गरेका छन् । हिउँद कटेर गर्मीयाम सुरु भइसकेकाले हिउँ खेल्ने पर्यटक बढ्न सक्ने अर्का होटल व्यवसायी राकेश भट्टचन बताउछन् । उनले कागबेनीदेखि मुक्तिनाथसम्म परेको हिउँ चैतसम्म रहने जानकारी दिए ।

तपाईको प्रतिक्रिया