बागलुङमा महिला बन्दीगृह बन्ने

समाधान संवाददाता २०७५ फागुन ८ गते ७:४९

सांकेतिक तस्बिर

ताराप्रसाद शर्मा

बागलुङमा महिला बन्दी गृह निर्माण गरिने भएको छ । बागलुङ, पर्वत र म्याग्दी अन्तर जिल्ला समन्वय समितिको बागलुङमा बसेको बैठकले ३ वटै जिल्लाका महिला बन्दीगृह गाभेर बागलुङमा महिला बन्दीगृह तथा म्याग्दी र पर्वतमा पुरुष बन्दीगृह बनाउन लागिएको हो ।

Advertisement

बैठकको निर्णय गृहमन्त्रालय र कारागार विभागमा पठाउने र अनुमति प्राप्त भएपछि कार्यान्वयनमा लैजाने बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जानकारी दिए । उनका अनुसार ५० जना क्षमताको महिला बन्दीगृह बनाउन लागिएको हो ।

बैठकले म्याग्दी, पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी नदी दोहन न्यूनीकरण, पुल तथा कलभर्ट निर्माण, विद्युत प्रसारण स्टेसन, नदी किनार तटबन्ध, धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदा छेउछाउका बस्तीको संरक्षणका लागि सहकार्य र समन्वय गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

Advertisement

सवारी साधनको चेकजाँच गरी सडक अनुशासन कायम गर्ने, सिमाना तथा नाकाबाट अन्य जिल्लाबाट अवैध ढंगले भित्रन रोक्ने निर्णय भएको छ । लागु औषध, शालिग्राम लगायत पुरातात्यिक वस्तुको ओसारपसार, नदीमा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने लगायतका गैरकानुनी कार्य रोक्न तथा सिमाक्षेत्रमा हुने विपद व्यवस्थापनमा समेत सहकार्य गर्ने निर्णय भएको बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।

बैठकमा म्याग्दीका प्रजिअ लीलाधर अधिकारी, पर्वतका प्रजिअ गुरुदत्त ढकाल, अर्जुन बाण गण घोडाबाँधेका प्रमुख सेनानी भुवनराज देवकोटा, बागलुङका प्रहरी प्रमुख दीपक रेग्मी, म्याग्दीका प्रहरी प्रमुख वीरबहादुर बुढा, पर्वतका प्रहरी प्रमुख भुवनेश्वर तिवारी र बागलुङका अनुसन्धान अधिकृत निर्मल पौडेल लगायत सहभागी थिए ।

यसैबीच प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुले अनुगमनसमेत गरेका छन् । अनुगमनका क्रममा कारागारको व्यवस्थापन र अन्तर जिल्ला समन्वय समितिको बैठकका निर्णयबारे बागलुङका प्रजिअ खरेलले जानकारी गराएका थिए । कारागारका चौकीदार सूर्य नेपालीले क्षमताभन्दा बढी कैदी बन्दी हुँदा आवास र पानीको समस्या भएको गुनासो राखेका थिए । हाल कारागारका ९५ जना पुरुष १४ जना महिला र १ जना नाबालिका गरी १ सय १० जना कैदी बन्दी रहेको कारागारका जेलर मोहन पौडेलले जानकारी दिए । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको समाचार बाहिर आइरहेका बेला कारागारको व्यवस्थापन एवं क्षमता विस्तारका लागि नयाँ पहल सुरुआत भएको हो ।

तपाईको प्रतिक्रिया