कास्की प्रहरीको अत्याधुनिक भवन शिलान्यास

समाधान संवाददाता २०७५ फागुन ८ गते ८:०८

समाधान संवाददाता


समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीमा अत्याधुनिक शैलीको बहुद्देस्यीय भवनको शिलान्यास भएको छ ।

सेवा लिन आउने नागरिक लक्ष्य प्रतिक्षालय र कास्कीमा जडान गरिने सिसिटिभी क्यामेरा कन्ट्रोल रुम रहने गरी भवन निर्माण हुन लागेको कास्की प्रहरीले जनाएको छ । भवनको मंगलवार पोखराका मेयर मानबहादुर जिसीले शिलान्यास गर्दै समुदायको सुरक्षामा ध्यान दिन अनुरोध गरे । उनले भवन निर्माणले स्मार्ट सिटी र गण्डकी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२२ मा पर्यटक आवागमन बढाउन पनि सहयोग पुग्ने वताए ।

Advertisement

मेयर जिसीले सुरक्षाको प्रबन्ध राम्रो भएमा जो कोही पनि स्वदेशी होस् या विदेशी पोखरा घुम्न र बस्न कुनै पनि त्रास नहुने भएकाले सिसिटिभी कन्ट्रोल रुमको स्थापनासँगै पोखराको पर्यटनले फड्को मार्ने वताए । सभामा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले प्रहरीसँग स्रोत साधन नहुँदा पनि समुदायसँग मिलेर हरेक घटनाको सामना गरिरहेको बताए । उनले बहुउद्देस्यीय भवनमा निर्माण हुने सिसी क्यामेरा कन्ट्रोल रुमले प्रहरीको काम कारबाहीलाई छिटो छरितो र चुस्त दुरुस्त बनाउन थप टेवा पुग्ने बताए ।

सामुदायिक जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ बास्तोलाले कास्की प्रहरीले समुदायको सहयोगकै कारण विभिन्न अपराधमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सफल भएको बताए । कार्यक्रममा सामुदायिक जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष बोधराज कार्कीले शिलान्यासको अवसरमा नगद ३१ हजार प्रदान गर्दै आगामी दिनमा पनि सोही रकम बराबरको सहयोग र अन्य संघ संस्था तथा ब्याक्तिलाईसमेत सहयोग गर्न आग्रह गर्ने बताए ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र निर्माण हुन लागेको बहुद्देशीय भवन प्रहरीको मात्र नभइ समग्र जनताको भएकाले उद्योगी व्यवसायीले पूर्ण सहयोग गर्ने बताए । गण्डकी धौलागिरि यातायात समन्वय समितिका वरिष्ठ उपाध्यक्ष योगेन्द्र केसीले यातायात व्यवसायीलाई राज्यले सिन्डिकेट धारी भनेर टीका लगाइ दिए पनि यातायात व्यवसायीसँगै सम्पूर्ण जनताको सुरक्षाका लागि बन्न लागेको भवन निर्माणमा सहयोग गरिने बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य राजेश गुरुङ, भवन निर्माणमा जिम्मा पाएका इन्जिनियर बाबुराम भण्डारी लगायतले बोलेका थिए । भवनमा प्रतिक्षालय, तातो र चिसो पानी र एसीसहितको कोठा र माथिल्लो तलामा कास्कीभर जडान गरिने १ हजार २ सयको हाराहारीको सिसीटिभी क्यामेरा कन्ट्रोल रुम रहने छ । ८० लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको भवन निर्माणमा पोखरेलीको पूर्ण सहयोग हुने भवन निर्माण समितिका कोषाध्यक्ष केशव अधिकारी जानकारी दिए ।

आगामी वैशाखसम्म निर्माण सम्पन्न गरिसक्ने योजनाको भवनमा यसअघिका एसपिले पूर्ण गर्न नसकेको काम आफ्नै समयमा हुँदा आनन्द लागेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले बताए । शिलान्यासपछिको सभा कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया