स्वर्गीय पद्मराज कोइरालाको सम्झनामा

समाधान संवाददाता २०७५ फागुन ९ गते ८:१४
रामजी कोइराला

कास्की पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङ बस्ने स्व भवदत्त कोइराला तथा दुर्गादेवी कोइरालाको कोखबाट मिति १९८२ जेठ १९ गते सोमबार दशमी तिथिमा यस धर्तीमा जन्मनु भएको थियो । स्व पद्मराज कोइरालाका वंशलता बमोजिमै पोाखराको मूल पुरुष राधेश्याम कोइरालाको वृक्ष देवदन्त, शिवनिधि, नारायण, नृसिंह, पुरुषोतम, गंगाधर, पुण्डरीकाक्ष, दुवल, श्रीपति, कमलापति, बुद्धिसागर, भवदत्त कोइरालाबाट फैलदो वंशलताको रुपमा अवतरण भएको हो ।

संस्कृत पाठशालाबाट र आफ्ना अभिभावकबाट संस्कृत, नेपाली, ज्योतिष, आयुर्वेद र तन्त्र विद्या हासिल गरी १ सक्षम तान्त्रिक, शिक्षाप्रेमी, सामाजिक अगुवा एवं प्रखर ज्योतिषको रुपमा पद्मराज परिचित हुनुहुन्थ्यो । स्व कोइरालाले विसं १९९८-२०१३ सम्म स्याङ्जा बाँबियाडाँडाको निजी पठशालामा अध्यापन गराउनु भएको थियो । लगतै विसं २०१४-२०२२ सम्म बाराही माविमा, २०२३-२०२८ सम्म नवीन माविमा र तत्पश्चात् आफ्नै घरमा २०२९-२०४६ सम्म निशुल्क अध्यापन गर्ने–गराउर्ने गर्नु भएको थियो । यसरी स्वर्गीय जीवन ज्योतिष सेवा, झारफुक सेवा, घरेलु औषधी सेवा तथा आयुर्वेद उपचार सेवाका अतिरिक्त लाभांशमय शिक्षा सेवामा व्यतित गर्नु हुने स्व कोइरालाले सदैव क्रियाशील रुपमा आफ्नो जीवनयापन गर्नु भएको पाइन्छ ।

कोइरालाका २ धर्मपत्नी क्रमश स्व पवित्रा कोइराला र पूर्णवती कोइरालाका कोखबाट ५ छोरा र १ छोरी छन् । कोइरालाको कृषि क्षेत्रमा ठूलो योगदान रहेको छ । कास्की लगायत विभिन्न जिल्लाबाट उनले कृषि र आयुर्वेद सम्बन्धि तालिम प्राप्त गरी कृषि क्षेत्रमा विशेष योगदान पुर्‍याउनु भएको छ । त्यस्तै उहाँ गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको आजीवन एवं संस्थापक कार्य समिति सदस्य रहनु भएको थियो ।

Advertisement

बाल्यकालदेखि महामानव बिपी कोइरालाको अनुयायीका रुपमा नेपाली कांगे्रसमा क्रियाशील रहनुभएका कोइराला पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट पोखरा नगर पञ्चायत वडा नं ५ को वडाध्यक्षको उम्मेदवार रहनुभएको थियो । निरन्तर नेपाली कांगे्रसमा आवद्ध कोइराला उक्त निर्वाचनमा पराजित हुनु भएको थियो । कोइरालाले जीवनमा दर्जनौं संघसंस्था एवं निकायबाट विभिन्न सम्मानपत्र, कदरपत्रद्धारा सम्मानित हुनु भएको थियो ।

जीवनवाणीहरुलाई आत्मसाथ गर्ने स्व कोइराला एक अग्रज समाजसेवी हुनु हुन्थ्यो । असहाय, अशक्त र गरिबका सेवामा विशेष चासो राख्ने कोइरालाले यस धर्तीमा ९४ वसन्त पार गर्नुु भयो । विगत ३१ वर्षदेखि कोइरालालाई पिसाबथैली सम्बन्धी रोगले समातेको थियो । उहाँको दुवै मृगौलामा समस्या देखिएको थियो । २०७५ माघ २६ गते उहाँको स्वर्गारोहण भएको हो । सरस्वती पूजाको दिन ब्रहमलीन हुनु भएका कोइरालको सामाजिक योगदानका बारेमा कलम चाल्दा एउटा ग्रन्थ नै बन्न सक्छ ।

Advertisement

स्वास्थ्य स्वयंसेविकाको रुपमा परिचित कोइरालाले आयुर्वेद र ज्योतिष विद्याको अतिरिक्त खोप, झाडापखाला, परिवार नियोजन, वातावरणीय स्वास्थ्य र पोषणको क्षेत्रमा समेत आफूलाई समर्पित गर्नु भएको थियो । जिल्ला, नगर एवं वडास्तरीय तालिममा संलग्न रहि ज्ञान आर्र्जन गर्नु भएका कोइराला प्रष्ट वक्ता, क्षमतावान, दक्षताका कारण सामाजिक प्रतिष्ठा प्राप्त गर्ने सफल १ जिम्मेवारी, अनुशासित सामाजिक अगुवा एवं अभियन्ता हुनु हुन्थ्यो ।

उहाँको जीवन अनुकरणीय थियो । हामी सबैले उहाँको उमेर बाँच्ने र उहाँकै जस्तो क्रियाशील जीवनयापन गर्नु पाउँ भन्ने आशा एवं अभिलाषाका साथ भविष्य द्रष्टा, अगुवा, शिक्षा, स्वास्थ्यप्रेमी स्व कोइरालाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सम्तप्त परिवारमा धैर्यधारण गर्नै शक्ति प्रदान होस् । सबैको यहि शुभकामना ।

सामाजिक र पारिवारिक अनुशासन कार्यभार राख्नुपर्छ । अनुशासनहिन भएमा जिम्मेवारी बहन हुँदैन जसले गर्दा आपसीसमझमा खलल पुग्छ । तसर्थ जीवनको हरपलमा समयानुकूल रहन जान्नु पर्छ । अध्ययन बिना जीवन अन्धकार हुन्छ । सिकेर कहिल्यै पनि पूर्णता प्राप्त हुँदैन । अल्पकालीन मावन जीवनमा सिक्ने, सिकाउने, सेवा गर्ने नै हाम्रो प्रमुख कर्तव्य हो । अग्रजले अवलम्बन गरेका कुरामा आत्मसाथ गरी भावी जीवनलाई अगाडि बढाउनु पर्छ ।

इमान्दारिताले जिम्मेवारी बोध गराउँछ । जिम्मेवारी बोध भए पश्चात् आपसमा समझदारी हुन्छ । यसरी जीवनोपयोगी कर्ममा तल्लीन रहनुपर्छ । आफू ठीक मार्गमा लागेकाले मात्र अरुलाई डोर्‍याउन सक्छ । ‘संगत जयित फलम’ भन्ने कथनलाई हृदयगम गरी भावी जीवनमा असलसाथी छानेर अग्रगामी कदम चाल्नुपर्छ भन्ने उहाँको सोच, विचारलाई सदैव जीवन्त राख्न हामी सबै लाग्नु पर्छ । यसले भविष्य निर्माण गर्दछ ।

तपाईको प्रतिक्रिया