मानवअधिकारको अवस्था

समाधान संवाददाता २०७५ फागुन ९ गते ८:३३

गण्डकी प्रदेशमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना सन् २०१७ मा भन्दा १८ मा २ सय ६५ कम भए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांकले यसै भन्छ । गण्डकी प्रदेशमा बितेको १ वर्षमा ६ सय ४० व्यक्ति मानवअधिकार उल्लघंन तथा ज्यादतीका घटनामा पीडित भए । सन् २०१८ भित्र राज्य पक्षबाट ७३ जना र गैरराज्य पक्षबाट ५ सय ६७ गरी ६ सय ४० जना व्यक्ति मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित भएको इन्सेक बताउँछ ।

इन्सेकको मानव अधिकार वर्ष पुस्तकले सन् २०१७ मा भन्दा सन् २०१८ मा मानव अधिकार उल्लघंनका घटनामा पीडित हुनेको संख्या २ सय ६५ ले घटेको देखाएको छ । सन् २०१७ मा राज्य पक्षबाट ४ जना महिला र १ सय ९ जना पुरूष र गैरराज्य पक्षबाट ७ सय ३३ महिला र ५९ जना पुरूष गरी ९ सय ५ जना पीडित भएको तथ्यांक छ ।

मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाको संख्या कम हुनु आफैंमा सुखद समाचार हो । तर सन्तोषको समाचार होइन । मानवअधिकार उल्लंघन र ज्यादती त हँुदै नहुने कुरा हो । त्यो निर्मुलै हुनुपर्छ । निर्मुल असम्भव छ भने अन्त्यन्तै न्यून र नगन्य हुनुपर्छ । मानवअधिकार के कति छ कुनै समाजमा भन्ने कुराले त्यो समाजको सभ्यताको निर्धारण गर्छ । हामी कति सभ्य र शान्त छौं अनि विकसित भन्ने नाप्ने मापक एकाइ यहाँका मानवअधिकार पनि मुख्य हो ।

Advertisement

आज पनि महिला, बालबालिका र वृद्धवृद्धाहरु हिंसाको सिकार भइरहेका छन् । त्यसमा पनि घर परिवार र आफन्तजनबाट पीडित हुनेको संख्या उल्लेख्य हुनु लज्जाको विषय हो । हाम्रो चेतना कहाँ छ र व्यवहार कस्तो छ भन्ने यस्ता हिंसाका घटनाले देखाइरहेका हुन्छन् । हाम्रो सभ्यता भनेको बालबालिकामैत्री सभ्यता हो । बिरामी र असक्तलाई माया र सदभाव राख्ने सभ्यता हो । वृद्धवृद्धालाई सम्मान गर्ने सभ्यता हो । त्यस्तो सभ्यताको ज्ञान पुराना किताबमा थन्क्याएर हाम्रो समाज ढुंगे र मध्ययुगीन हर्कतलाई निरन्तरता दिइरहेको भन्ने समाचारहरु आउनु समाजको नाकमा धब्बा लाग्नु हो । घरेलु हिंसा होस् अरु प्रकारको हिंसा त्यो हाम्रो समाजको कलंक नै हो । चाहे त्यो प्रथा कुप्रथाको नाममा वा परम्पराको नाममा नहोस् कुनै पनि प्रकारको हिंसा आजको समाजमा सुहाउँदैन ।

राज्य र गैरराज्य पक्षबाट व्यक्तिका बाँच्न पाउने लगायतका हक अधिकार छिनिएका छन् । त्यसले पनि हाम्रो समाजको अर्थात देशको ऐना देखाउँछ । हत्याहिंसा, कुटपिट, बलात्कार वा अन्य जुनसुकै प्रकारका मानवअधिकार उल्लंघनका घटनामा कमी ल्याउन हाम्रो मानसिकता बदल्न जरुरी छ । चेतनास्तर उकास्न जरुरी छ । राज्यले नियम कानुनलाई पूर्णरुपमा पालना गराउन जरुरी छ । सबैभन्दा पहिला हरेक व्यक्ति कर्तव्यनिष्ठ, इमान्दार र सज्जन हुन जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया