जानकी एग्रो प्रोडक्टमा सिलबन्दी

समाधान संवाददाता २०७५ फागुन ९ गते ८:४१

सुरेशराज अधिकारी

पोखरा महानगरपालिका ९ नयाँबजारस्थित जानकी एग्रो प्रोडक्टमा सिलबन्दी गरिएको छ । जिल्ला बजार अनुगमन समिति कास्कीले एग्रो प्रोडक्टमा फोहोर भएको, आवश्यक कागजात र पूर्वाधार नभएको भन्दै तालाबन्दी गरेको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशाशकीय अधिकृत अनीलकुमार शाहीले बताए ।

पोखरामा विभिन्न खाद्यान्नको बजार लिएको जानकी एग्रोमा सरसफाइको समेत कमी देखिएको हो । उद्योगमा भण्डारण गरिएको खाद्यान्न उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै सिलबन्दी गरिएको हो । जानकीले दाल, चना, केराउ लगायतका खाद्यान्न तथा दाना, चोक्कर उत्पादन गर्दछ । अनुगमन टोलीले उचित व्यवस्थापन गरी, उद्योगको सम्पूर्ण सरसफाइ गर्दै पूर्वाधार निर्माण गर्न निर्देशन दिएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय कास्की, बजार अनुगमन समिति, पोखरा महानगरपालिका, उपभोक्ता मञ्च कास्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीको संयुक्त टोलीले बुधबार उक्त उद्योग अनुगमन गर्दा खाद्यान्न, दाना तथा कुखुरापालन एकै ठाउँमा गरेको भेटिएको थियो । खाद्यवस्तु र दाना चोक्कर एकै ठाउँमा राखिएको थियोे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी खाद्य निरीक्षक भूमिका प्रधानले बजार लैजानको लागि राखिएको चामल, दाल लगायतको वस्तुमा मुसाले गुँड बनाएको र खाद्यान्न भूइँमा नै राखिको बताइन् । उनले मुसाको लिँड मिसिएको र भूइँमा राखिएको खाद्यान्न प्रयोगले प्रयोगकर्ताको स्वाथ्यमा प्रत्यक्ष असर पर्ने बताइन् ।

Advertisement

‘हामीले व्यवसाय बन्द गराउन चाहेका हैनाै‌ं, ‘उपझोक्ता मञ्च कास्कीका सचिव मिलन तिवारीले भने, ‘हाम्रो मुलभूत उद्देश्य भनेकै उद्योग व्यवस्थित हुनुपर्छ भन्ने हो ।’ आवश्यक कागजातसहित ३ दिन भित्र उद्योग क्षेत्र सफाइ गरेर जिल्ला प्रशासन कार्यालय कास्की र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उपस्थित हुन टोलीले निर्देशन दिएको छ ।

पोखरा ७ स्थित ओम नमुना स्टोर्समा भेटिएका म्याद गुज्रेका साढे २ लिटरको डिउ, कोक, स्प्राइट र फेन्टा ४४ बोटल तथा विभिन्न १८ किसिमका खाद्यान्न सामग्री नष्ट गरेको छ । अनुगमन टोलीले स्टोर्स सञ्चालकलाई आवश्यक काजजातसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनीलकुमार शाही, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी खाद्य निरीक्षक भूमिका प्रधान, गुणस्तर तथा नापतौल कार्यालयका विपिन पुरी, उपभोक्त मञ्च कास्कीका मीलन तिवारी, पोखरा महानगरपालिकाका दुर्गाराज गिरी लगायत अनुगमन समितिमा थिए ।

तपाईको प्रतिक्रिया