दलितलाई समृद्ध बनाउन बाख्रा वितरण

समाधान संवाददाता २०७५ फागुन ९ गते ९:१६

सुन्दरकुमार थकाली

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनी र पाक्लिङका गरिब तथा बिपन्न दलित समुदायलाई गाउँपालिकाले बाख्रा वितरण गरेको छ । उनीहरुको जीवन स्तर उकास्दै उद्यमशीलताको विकास गर्न ८ घरधुरी परिवारलाई बाख्रा बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले बताए ।

चालु आर्थिक वर्षको बिनियोजित बजेटमार्फत वडा नम्बर ४ का बिपन्न दलित समुदायलाई २ लाख ८८ हजारका ३६ वटा बाख्रा उपलब्ध गराएको हो । गाउँपालिकाले तोकेको शर्त बमोजिम दलित जागरण भेडाबाख्रा पालन उपभोक्ता समितिलाई बाख्रा वितरण गरिएको हो । बाख्रापालन १० वर्ष सम्म समितिले निरन्तरता दिनुपर्ने, ५ वर्षसम्म कारणबस बाख्राको संख्या घटेमा समितिले नै पूर्ति गर्नुपर्ने र पालेको गरेको ३ वर्षभित्र समितिले उत्पादन गरेका बाख्रा गाउँपालिकाले तय गरेका अन्य समितिलाई उपलब्ध गराउनुपर्ने शर्त छन् ।

Advertisement

दलित जागरण भेडा बाख्रापालन उपभोक्ता समितिले ३६ वटा बाख्रामा थप ३ लाख बराबरको ३० वटा उन्नत जातका बाख्रा किनेको समितिका सचिव लक्ष्मण सेन्चुरीले बताए । उनले वडाका विपन्न दलितको जीवनस्तरलाई माथि उठाई व्यवसायिक बनाउन समितिले थप पहल गरेको जानकारी दिए । उनले समितिले यसै वर्षदेखि बाख्रापालन व्यवस्थित गराउन बाख्राको संख्या वृद्धि गर्दै ६३ वटा पुर्‍याएको बताए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मी र वडाध्यक्ष तेन्जिङ नाम्गेल गुरुङले बाख्रा पालन उपभोक्ता समितिका पदाधिकारीलाई सामूहिक रुपमा बाख्रा हस्तान्तरण गरे । प्रमुख जिल्ला अधिकारीले क्षेत्रीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक निष्कर्षमा पुर्‍याउन गाउँपालिकाले समाजमा रहेका बिभिन्न तह, तप्काका मानिसको जीवनस्तर वृद्धि गर्न यस प्रकारको कार्यक्रम ल्याउनु स्वागतयोग्य भएको बताए । दलित समुदाय सदियौदेखि आर्थिक रुपले पछाडि परेकाले अब अवसरको भरपूर उपयोग गर्न उनले आग्रह गरे ।

Advertisement

वडाध्यक्ष तेन्जिङ गुरुङले गाउँपालिकाका ५ वटामा आर्थिक स्वरोजगारका अवसर सृजना गर्न गाउँपालिकाले कार्यक्रम ल्याएको जानकारी दिए । उनले समुदायको अनुभव र क्षमताका आधारमा लगानी गरिने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया