रेडियो नेपालकी धरोहर

समाधान संवाददाता २०७५ फागुन १० गते ८:२०

सोमराज पोखरेल

‘पत्रकारले कमाउने पाठक, स्रोता वा दर्शकको माया हो’ भन्ने मापन बनाउने हो भने नेपालकी धनीमध्येकी एकमा गनिने सञ्चारकर्मीको नाम हो, कल्याणी रिमाल । साढे ३ दशकबढी रेडियो नेपालमा रहेर कार्यक्रम सञ्चालनदेखि समाचार वाचनसम्म गर्दा निकाल्ने त्यो कर्णप्रिय र सुमधुर स्वरकै कारण थुप्रै ‘फ्यान’ कमाएपछि त्योभन्दा ठूलो सम्पत्ति अरू के हुन सक्ला ?

अवकाश पाएको पनि ३ दशक हुन लाग्दा अहिलेसम्म पनि रेडियोको आवाज बोलेको सुनेर चिनेपछि बाटोमा हिँड्नेहरूले ‘तपाईं कल्याणी रिमाल हैन ?’ भनी सोध्दा दंग नहुने कुरै भएन । रिमालको भनाइ छ ‘मैले कमाएकै स्रोता हो, आफ्नो स्वर र शैली मन पराएर भेट्न आउने र लेखिएका पत्रले नै रहेछ काममा जाँगर बढाउने ।’

Advertisement

रिमालले रेडियो नेपालमा बिताएको त्यो क्षण निकै सुनौलो थियो । रेडियो नेपालको स्थापना ००७ सालमा भयो । २०११ सालदेखि नै रिमाल रेडियो नेपालमा काम गर्ने भाग्यमानी । रेडियो नेपालमा जागिर खान सम्भव कसरी भयो त ? न त त्यतिबेला पत्रकारिताको अध्ययन गर्ने कुनै कलेज थियो न त तालिम लिने संस्था । र पनि भाग्यले डोहोर्‍यायो सञ्चारको जगतमा ।

मैले कमाएकै स्रोता हो, आफ्नो स्वर र शैली मन पराएर भेट्न आउने र लेखिएका पत्रले नै रहेछ काममा जाँगर बढाउने ।

Advertisement

खासमा आफ्नै दिदीको सल्लाहमा रिमाललाई रेडियो नेपालसम्म पुग्ने ढोका खुलेको रहेछ । रिमाल तत्कालीन सिआइडी अफिस (हनुमानढोकाबाट जाँदा) नेर राजकुमारीहरूले खोलेको विद्यालयमा पढाउँथिन् (पछि त्यो विद्यालय फर्पिङ बोर्डिङ स्कुलका नामले चिनियो) । २ वर्ष पढाउँदा नपढाउँदै उनलाई जाँगर मरिसकेको थियो ।

बच्चाले गल्ती गर्दासमेत पिट्न नपाइने । कपी चेक गर्दागर्दा हैरान लाग्ने । २००९ सालदेखि पढाउन थालेकी रिमाललाई पढाउन अल्छि लागिरहेकै बेलामा उनकी दिदीले गोरखापत्र दैनिकमा रेडियो नेपालका लागि विज्ञापन खुलेको जानकारी पाएपछि आवेदन भरूँभरूँ झैं लाग्यो । निवेदन भरिन् पनि । उनले अगाडि भनिन्, ‘तर अन्तर्वार्ताको समय त गुज्रिसकेको रहेछ । भवानीराम भन्ने प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । उहाँले अन्तिम दिनको मिति राखेर निवेदन लिनुभयो । स्टुडियोमा लगेर स्वर परीक्षण लिइयो । २०–२५ जना थिए । मैले राम्रो गरें । मेरोमात्र नाम निस्कियो । यसरी २०११ सालमा अस्थायी उद्घोषिकाको पदमा मलाई राखियो महिनाको ७० रूपैयाँ दिएर ।’ त्यसपछि सुरू भयो स्वरको दुनियाँ ।

रेडियो नेपालअघिको जीवन
कल्याणी रिमालको जीवनको गोरेटोलाई मजबुद बनाउने काम रेडियो नेपालले नै गर्‍यो । तर रेडियो नेपाल आउनु अगाडिसम्मको उनको जीवनमा भने थुप्रै उतारचढाव आयो । उनको जन्म विसं १९९३ साल मंसिर ४ गते काठमाडौंको कोटेश्वरमा भएको हो । पिता कृष्णप्रसाद पौडेल र माता चन्द्रकला ।

जन्ममात्र नेपालमा भयो । बाबु बितेपछि ६ महिनाकी छँदा उनलाई आमाले काखी च्यापेर भारतको बनारस लगिन् । वनारसमै उनले हाइस्कुल सकिन् । उनीे कलेज पढ्न नयाँदिल्ली पनि गइन् । तर मार्कसिट समयमै नपठाइदिएपछि भर्ना गर्न पाइनन् । अनि मुम्बई पुगेर सर्ट ह्यान्ड सिक्न थालिन् । के गर्ने भन्दाभन्दै दिदीले उनलाई नेपाल पठाइदिएपछि काठमाडौं आइन् ।

पद्मकन्या क्याम्पसमा आइएमा भर्ना भइन् । त्यहाँ आइए सकिन् । बीए पनि भर्ना भइन् । तर पहिलो वर्ष पढेर छाडिन् । अनि विद्यालय २ वर्ष पढाउँदा खारिएको स्वर बोकेर रेडियो नेपाल पुगिन् । यसअघिको जीवन उनले आफैले सम्झँदा कहाँ के गर्ने र कसो गर्ने भनेर स्पष्ट खाका कोरिइसकेको थिएन ।

रेडियो नेपालले कोरेको जीवनको गोरेटो
रेडियो नेपालमा पुगेपछि उनको जीवनले नयाँ गोरेटो कोर्‍यो । रेडियोमा दिग्गज स्वर भएकाहरूसँग उनी कम थिइनन् । कार्यक्रम पनि निकै लोभलाग्दो तरिकाले चलाउँथिन् । उनको बाल कार्यक्रम निकै चर्चित थियो । डिल्लीराज उप्रेती, यादव खरेललेसमेत चलाएको उक्त बालकार्यक्रममा रिमाल पनि राम्रैसँग जमिन् ।

चुनौती भने बाल कार्यक्रममा धेरै नै हुने । ३०–४० जना बालबालिका लिएर कार्यक्रम चलाउँदा चुनौती हुनु स्वभाविकै हो । प्रत्यक्ष प्रसारणमा यतिधेरै संख्यामा बालबालिका हुँदा पनि कुनै कार्यक्रम नराम्रो भने भएन । दीपक थापा, श्रीविक्रम राणाजस्ता बालकलाकार थिए ।

उनी पत्रकारिता गर्दाको दिनसम्म निकै रमाइन् । आफूले जतिसुकै दुख कष्ट भोग्नुपरे पनि समाजको दुख, पीर, मर्का बाहिर पु¥याउने माध्यम बन्न पाउँदा उनी खुसी नै छिन् ।

अचम्म त के भने बालकलाकारको एउटा कार्यक्रमको आम्दानी २ सय रूपैयाँसम्म हुन्थ्यो भने महिनाभर काम गरेर उनले कमाउँथिन् ७० रूपैयाँमात्र । तर पनि काम गर्न उनलाई मज्जा नै आउँथ्यो । महिला कार्यक्रम पनि गरिन् । त्यसमा पछि सूर्यकुमारी, धन लामा पनि जोडिए । उनको ‘मेरी बास्सै’ कार्यक्रममा पनि सहभागिता थियो । नाटक शैलीको त्यो कार्यक्रममा उनले डल्ली फुपूको भूमिका निभाउँथिन् । त्यो भूमिका मन पराउनेहरू उनलाई फोन गरेर कुराकानीसमेत गर्दथे । २०१६ सालतिर उनलाई खुबै फोन आउने गर्दथ्यो । मेरी बास्सै हरिप्रसाद रिमालले निर्देशन गर्दथे । त्यो शब्द भने हरिप्रसादले इलामबाट ल्याएको थेगो रहेछ ।

प्रेम र जागिरको उतारचढाव
रेडियो नेपालमा डेढ वर्षजति काम गरिसक्दा उनको प्रेम सम्बन्ध रेडियो नेपालका पहिलो गायक एवं वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालसँग जोडियो । डेढ वर्ष जति प्रेम चक्करमा परेपछि उनीहरूबीच वैवाहिक गाँठो कस्सियो । त्यतिबेलाको डेट भनेको काम सकिएपछि घरसम्म छोड्न आउने । बस् कार्यालयबाट घरसम्म खुरूखुरू बाटोमा हिंड्दा जे जति कुराकानी भए ती नै प्रेम अंकुराउने माध्यम थिए ।

२०१४ सालमा बिहे भयो । बिहेपछि उनले रेडियो नेपालमा काम गर्न पाइनन् । हरिप्रसादले उनलाई दुवै जना एउटै कार्यालयमा काम गर्नु राम्रो होइन भनेर कल्याणीलाई घरेलु कार्यालयमा सुपरभाइजरको पदमा काम गर्न पठाए । २०१५ सालको पहिलो जननिर्वाचन उनले त्यही बसेर अवलोकन गरिन् । २०१६ सालमा पहिलो सन्तान जन्मियो । सन्तान हेर्ने, घरको काम पनि गर्नैपर्ने र जागिर पनि खानै पर्ने भएपछि हरिप्रसादसँग ठाकठुक पर्‍यो । उनले घुर्की लगाएर जागिर छाड्छु भनिन् । हरिप्रसादले स्वीकृति दिए । निवेदन दिइन् । घरेलुका हाकिमले स्वास्नीमान्छे थुप्रै बिदा पाउँछिन् किन जागिर छाड्नु पर्‍यो ? भनेर नछाड्न् सल्लाह दिए । उनले मानिनन् ।

२०१८ सालमा दोस्रो छोरो जन्मियो । त्यसपछि भने कल्याणीलाई छट्पटी भयो । २ चार पैसा पनि मागिरहनु पर्ने भएपछि उनमा जागिर खाने फेरि मोह पलाएर आयो । १८ सालमै भोग्यप्रसाद शाह रेडियो नेपालका प्रमुख हुँदा उनी रेडियो नेपाल गइन् । लोकसेवा लडिन् । स्थायीमै नाम निकालिन् ।

त्यसपछि बल्ल उनको जागिर निरन्तर भयो रेडियो नेपालमा । २ जन्माएर पनि उनलाई सन्तानको मोह पुगेको रहेनछ । २०२० सालमा छोरी जन्मिइन् । २०२२ सालमा फेरि अर्की छोरी जन्मिइन् । २-२ वर्षको अन्तरमा ४ सन्तान । उनले भनिन्, ‘साथीभाइहरूले कस्तो बच्चा पाएको हो ? भनेर भनेपछि भने पाउन बन्द गरियो ।’

समाचारमा चुनौती
रेडियो नेपालमा कल्याणीले २०२५ सालसम्म कार्यक्रममात्र उत्पादन, उद्घोषण एवं नाटकमा आवश्यकताअनुसार खेल्ने गर्दथिन् । २५ सालदेखि भने उनी समाचार कक्षमा आइन् । तब उनलाई बल्ल लाग्यो ‘अब पत्रकार भइयो ।’ हुन पनि त्यतिबेलाको पत्रकारिता धेरै फराकिलो थिएन नै । उनले कहिले समाचार वाचन गर्थिन् । कहिले बिबिसीबाट समाचार तान्थिन् । कहिले राष्ट्रिय समाचार समितिबाट । कहिले अन्तर्वार्ता लिन बाहिर पनि जान्थिन् भने कहिले अनुज सहकर्मीहरूले ल्याएका समाचारलाई मिलाएर सम्पादन गर्ने काम पनि गरिन् । त्यतिबेला सबै लाइभ । समाचार वाचन गर्न सजिलो पक्कै थिएन । पञ्चायतको दबाब बढ्दो थियो ।

राजदरबारको संवाद सचिवालयबाट आएको समाचार जस्ताको त्यस्तै पढ्नु पर्दथ्यो । त्यो समाचार पढ्छ कि पढ्दैन भनेर सेनाले संगीन तेस्र्याएर राख्दथ्यो । बहुदलअघि काम गर्न सजिलो थिएन नै । राजारानीका जन्मोत्सवका बेलामा बिदा नै नपाइने । गल्ती हुँदा पनि ठूलै स्पष्टिकरण दिनुुपर्ने । सधै त्रासमय । चुनौतीपूर्ण काम गर्दाको मज्जा पनि बेग्लै हुने बताउँछिन् कल्याणी ।

उनी पत्रकारिता गर्दाको दिनसम्म निकै रमाइन् । आफूले जतिसुकै दुख कष्ट भोग्नुपरे पनि समाजको दुख, पीर, मर्का बाहिर पु¥याउने माध्यम बन्न पाउँदा उनी खुसी नै छिन् । काम गर्दा जतिसुकै तनाव भए पनि इमानदारीपूर्वक गरेको काम सफल भएपछि भने उनी आनन्दमै डुबुल्की मार्थिन् । आजकल उनी एक्लै छिन् । पति हरिप्रसादले गत भदौमा छाडेर गए । उनी ८३ वर्षमा हिँडिरहेकी छिन् । पत्रकारिता गरेर खुसी नै देखिने उनलाई पसल होस् वा बाटोमा हिँडनेहरू स्वर सुनेर चिनेजस्तो लाग्छ भन्ने गर्छन् । अनि दंग पर्न अझै छाड्दिनन् । आखिर सन्तुष्ट हुनु नै जीवनको ठूलो उपलब्धि रैछ ।

पोखरेल इमेज ग्रुप अफ कम्पनिजका समाचार सम्पादक हुन् ।
(पत्रकार महासंघको केन्द्रीय साधारणसभामा प्रकाशित स्मारिकाबाट)

तपाईको प्रतिक्रिया