सडन डेथमा एपिएफसँग आयोजक पराजित

समाधान संवाददाता २०७५ फागुन १० गते ९:१०

विकास रोकामगर

पोखरामा बिहीबारबाट सुरु भएको आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजकमाथि विभागीय टिम एपिएफले जित हात पारेको छ । निर्धारित समयमा गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

ट्राइब्रेकरमा पनि खेल ४–४ को बराबरमा रोकिएपछि सडनडेथमा पुग्यो । सडन डेथमा सहारा क्लबका अञ्जन देवकोटाले प्रहार गरेको बललाई एपिएफका गोल रक्षक रमन रसाइलीले सजिलै छेकिदिए । उनले बल छेकेसँगै जित एपिएफको पोल्टामा परेको हो । खेलको १७ औं मिनेटमा आयोजक टिम सहारा क्लबका विनोद गुरुङले गोल गरे । लगत्तै एपिएफका आशीष लामाले १८ औं मिनेटमा सजिलै गोल फर्काइदिए । पहिलो गोल सजिलै फर्काए पनि त्यसपछिका खेलमा एपिएफ दवाबमा रह्यो ।

Advertisement

पहिलो हापमा १–१ को बराबरी खेलेका दुवै टिमले दोस्रो हापमा कुनै पनि गोल गर्न सकेनन् । आयोजक र विपक्षी टिम एपिएफ दुवैले आएका सुन्दर अवसरलाई समात्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल हुन सकेन ।

आयोजक सहारा क्लबका प्रशिक्षक प्रल्हाद हिराचनले डिफेन्सको गल्तीले हार्नुपरेको बताए । ‘पहिलेकै गोल रोक्न सकिन्थ्यो तर त्यसमा डिफेन्स चुक्यो,’ उनले भने, ‘ट्राइब्रेकरमा २ खेलाडीले मिस गर्नाले पनि हामीले हार्नुुपर्‍यो ।’

Advertisement

हिराचनले खेलाडी भने उत्कृष्ट खेल प्रस्तुत गर्दागर्दै पनि हार्नुपरेको बताए । ‘एपिएफलाई हाम्रा खेलाडीले दबाबमा राखेकै हुन् । तर पाएको चान्सलाई पनि सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी रह्यो,’ उनले भने ।

विभागीय टिम एपिएफका टिम म्यानेजर अमित मल्लले असहज परिस्थितिका बाबजुत पनि जित हासिल गरेको बताए । उनले भने, ‘हाम्रो टिम सुरुदेखि नै दबाबमा रह्यो । जित निकाल्नै गाह्रो थियो ।’ उनले खेलाडीको कमजोर प्रस्तुति हुनुमा लगातारको प्रतियोगिता पनि भएको तर्क गरे ।

‘हामी लगातार खेलिरहेका छौं । आहा खेल्न पनि ढिलोमात्रै आइपुग्यौं । खेलाडीले आराम गर्ने मौका पाएका छैनन्,’ उनले भने, ‘त्यसमाथि हाम्रा भरपर्दा खेलाडी कोही अन्डर २० मा छन्, कोही घाइते छन् ।’ उनले अर्को खेलमा भने खेलमा सुधार ल्याउने प्रतिवद्धता गरे ।

सहारा क्लबले आयोजना गरेको १७ औं आहा रारा गोल्डकपको पहिलो खेलमा एपिएफका बुद्धिमान राई म्यान अफ दि म्याच घोषित भए । शुक्रबार हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र धरान फुटबल क्लब भिड्नेछन् । प्रतियोगिता फागुन १८ गतेसम्म चल्नेछ । प्रतियागितामा २ विदेशी र ८ नेपाली गरी १० टिमको सहभागी छन् । प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

आजको खेल हिमालयन शेर्पा क्लब र धरान फुटबल क्लब
तस्बिर- युनिश गुरुङ-समाधान

तपाईको प्रतिक्रिया