स्रोतव्यक्तिको काज फिर्ता

समाधान संवाददाता २०७५ फागुन १० गते ९:२८

मोहसिन अलि मियाँ

जिल्लाभरका स्रोतव्यक्ति (आरपी) को काज फिर्ता गरिएको छ । गोरखाका ११ वटै स्थानीय तहका विभिन्न स्रोत केन्द्रमा कार्यरत १५ जना स्रोतव्यक्तिलाई साविककै विद्यालयमा काज फिर्ता गराइएको हो । बिहीबार शिक्षा विकास तथा समन्वय इकाइले सबै स्थानीय तहमा कार्यरत स्रोत व्यक्तिलाई पत्र काट्दै फिर्ता हुन भनेको हो । ‘माथिबाट आएको निर्देशन अनुसार हामीले ११ वटै पालिकाका स्रोतव्यक्तिलाई काज फिर्ता हुन पत्र काटिसक्याैं’ इकाइका शाखा अधिकृत सुवासचन्द्र आचार्यले भने, ‘उहाँहरु पदाधिकार रहेकै स्कुलमा गएर साविककै पदमा रहने गरी काज फिर्ता गरेका हौं ।’

संघीय सरकारको गत ३ गतेको मन्त्रीपरिषद्को बैठकले देशभर रहेका १ हजार ५३ जना स्रोतव्यक्ति हटाउने निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मान्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लालाई बुधबार पत्र काटेको थियो । गोरखामा १८ स्रोत केन्द्र रहे पनि ३ स्थानमा भने दरबन्दी रिक्त थियो । सहिद लखन, वारपाक-सुलिकोट र अजिरकोट गाउँपालिकाका स्रोत केन्द्रमा स्रोतव्यक्तिको दरबन्दी रिक्त भएकाले १५ जनालाई मात्र तत्काल हाजिर हुन इकाइले निर्देशन दिएको हो । ‘३ केन्द्रमा स्रोतव्यक्ति थिएनन्, १५ जनालाई हामीले हामीले तत्कालै रमना लिई विद्यालयमा हाजिर हुन भनेका छाैं ।’ शाखा अधिकृत आचार्यले भने ।

Advertisement

इकाइले स्रोतव्यक्तिलाई स्रोत केन्द्रको छाप, आर्थिक हरहिसाब, अन्य अभिलेखको विवरण पेश गरी तत्काल बुझबुझारथ गर्न आउनसमेत पत्रमा लेखेको छ । ‘अहिलेसम्म प्रयोग भएको स्रोत केन्द्रको छाप, आर्थिक विवरण तथा अन्य प्रशासनिक अभिलेखको विवरण तत्काल बुझाउन स्रोतव्यक्तिलाई भनेका छौं ।’ आचार्यले थपे, ‘केन्द्रमा भएको फर्निचर लगायत अन्य भौतिक सामाग्री भने विद्यालयमा बुझाएर सक्कल पत्र इकाइमा ल्याएर बुझबुझारथ गर्न पत्र पठाएका छौं ।’

जिल्लामा रहेका १५ स्रोतव्यक्तिमध्ये २ जना निमावि र १३ जना मावि तहका शिक्षक छन् । स्रोतव्यक्ति काजमा आएसँगै उनीहरुको दरबन्दीमा विद्यालयले करारमा नियुक्ति गरेका शिक्षक भने स्वत पदमुक्त हुने इकाइले जनाएको छ । सरकारले प्रत्येक स्थानीय तहमा शिक्षा, युवा तथा खेलकुद शाखा स्थापना गरेसँगै स्रोतव्यक्तिको भूमिका आवश्यक नदेखिएपछि उनीहरुलाई विद्यालयमा फिर्ता गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया