मान नखोज्ने तिलकमान

समाधान संवाददाता २०७५ फागुन ११ गते ९:४६

केशवशरण लामिछाने

प्रोफाइल लेख्नलाई कुराकानी गर्ने प्रस्ताव सुरुमै इन्कार गरिदिए । सुस्तरी बोले, ‘मेरो नलेखौं, अरु छन् नि ।’ पत्रकार महासंघको स्मारिका प्रकाशन समितिले तपाइकै नाम भनेको छ भन्दा पनि आनाकानी गरे । फेरि भने, ‘अरु कसैको लेख्ने हो भने त्यो समितिको बैठक बस्नुपर्‍यो, निर्णय उल्ट्याउनुपर्‍यो, त्यो सम्भव छैन ।’ अरु केही समकालीन र अग्रजबारे लेख्न नाम सिफारिस गरिरहे । ‘म निस्क्रिय पत्रकार’, तर्कने छाँट छोड्दै छोडेनन् । ढिपी नै कसेर बसेको बस्यै गरेपछि अनौपचारिक बात मारियो । तर उनलाई सम्पादकीय लेख्न सुरु गर्नु थियो ।

भर्खर आफूलाई निस्क्रिय भनेको पत्रकारलाई तत्कालै सक्रिय हुनु थियो । सम्पादकीय लेखन, कला, कौशल र अचेलको पत्रकारिताबारे प्रसंग उप्काएपछि केही उघ्रिएजस्तो भए ।

Advertisement

पोखराको चल्तीको दैनिक पत्रिका आदर्श समाजमा साताका ६ दिन छापिन्छ सम्पादकीय । त्यो लेख्ने जिम्मेवारी प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले तिलकमान गुभाजुलाई सुम्पिएका छन् । ६० को दशकदेखि गुभाजको कलम निरन्तर त्यो पत्रिकाको सम्पादकीय लेखनमा सक्रिय छ ।

बेला, प्रसंग र सन्दर्भ अनुसार सम्पादकीय इतर लेख, आलेख उतार्न गुभाजुको कलम सेता पानाहरुमा कुदिरहन्छ । तै पनि भन्छन्, ‘निस्क्रिय पत्रकार ।’ उनको बोली आइरोनिकल सुनिन्छ । उमेर घर्किंदै जाँदा शारीरिक कमजोरी लगायत कारणबाट नलेख्नु एउटा कुरा तर बेलावैंशैमा पनि लेख्दै नलेख्ने तर आफूलाई व्यावसायिक पत्रकार ठान्ने जमातका हुलमा गुभाजुका शब्द व्यंग्यात्मक लाग्छन् ।

Advertisement

‘हामी त केही सिक्दै नसिकी लेखेको, पत्रकारिताको सिद्धान्त अनुसार मिल्छ कि मिल्दैन पनि थाहा छैन,’ आत्मसमीक्षात्मक बन्छन् उनी, ‘मिसन पत्रकारिताबाट आएको मान्छे ।’ हो उनको पत्रकारिताको जमाना मिसनकै थियो । पञ्चायत ढलाउनु थियो । बहुदल ल्याउनु थियो । पहिला राजनीति अनि पत्रकारिता हुन्थ्यो । पत्रकारितामा प्रवेशको जग पनि राजनीतिले नै बसाइदिएको थियो ।

पोखरा टुँडिखेलको राष्ट्रिय माविमा पढ्दाताका २०१५ सालको आमनिर्वाचनमा मतदाता शिक्षा दिन गाउँ पस्न पाएका थिए । हेडसर श्यामप्रसाद पन्तले काठमाडौंमा निर्वाचनसम्बन्धी तालिम लिएर आएपछि आफ्ना विद्यार्थीलाई मतदाता शिक्षा दिन गाउँ पठाएका थिए । विद्यार्थीका अगुवा बढ्दै राजनीतिक रहेछन् । राजनीतिक कुरा निकै भए । घरमा काका वेदमान गुभाजु सक्रिय कांग्रेस कार्यकर्ता थिए । नेताहरु श्रीभद्र शर्मा र श्रीकान्त अधिकारीका प्रशिक्षणमा भतिजा तिलकमानलाई पनि लैजान्थे । त्यसले राजनीतिक चेतना ह्वात्तै बढाइदियो । पाठ्यपुस्तकबाहेक किताब पढ्नतिर रुचि जगाइदियो ।

२० सालमा २० वर्षको हुँदा एसएलसी पास गर्नासाथ पृथ्वीनारायण क्याम्पस छिरेनन् । पर्वतको आर्थर र राम्जाका स्कुलतिर हेडसर हुन गए । पशुपति प्रावि (हालमावि) राम्जाको संस्थापक प्रधानाध्यापक भए । यता पोखरा छँदा पृथ्वीनारायण क्याम्पसका प्रमुख जर्ज जोनले बाँस र खर बोकेर कक्षाकोठा बनाउँदा तिलकका काँधले पनि थुप्रै बाँस बाटुलेचौरदेखि ओसारेको थियो । त्यसैबाट प्रभावित भएर राम्जाका स्थानीयलाई स्कुल भवन बनाउन जोस्याए । ढुंगामाटोको पर्खाल लगाएर छपनी छाएको स्कुल तयार गरे ।

पछि फर्केर पृथ्वीनारायण क्याम्पस भर्ना हुन आएपछि राजनीतिक चेतना झन् झ्यांगिन पायो । संगतै त्यस्तै थियो । पढाउने सरहरु पञ्चायतका भक्त थिए, साथीहरुचाहिँ कांग्रेस र कम्युनिस्ट । त्यही राजनीतिक चेतनाको उपज पुस्तकालय सञ्चालनमा गएर प्रस्फुटन पनि भयो । मोहोरिया टोलका गुभाजु, नदीपुरका केशवराज पराजुली र अरुहरु पनि जुटेर गणेशटोलको आदर्श पुस्तकालय चलाउन थाले । झन् थुप्रै किताब पढ्ने अवसर जो मिल्यो ।

विन्ध्यवासिनी मन्दिर मुन्तिरको नेवार बस्तीमा थुप्रैको सुन व्यापार थियो । सन्तमान गुभाजु पनि सुनकै पुख्र्याैली पेसामा रमेका थिए । छोरा तिलकलाई न उनले सुनका कुरा सुनाए, न आमा पदमकुमारीले । तिलकलाई व्यापारमा भन्दा पहिल्यै पढ्नेलेख्ने र राजनीतिक कुराकै रस पसिसकेको थियो । कविता, कथा लेख्दालेख्दै लेख विष्लेषण लेख्न थाले ।

नीलकण्ठ शर्मा र त्रिभुवन शर्मासँग मिलेर नेपाल पर्यवेक्षक साप्ताहिक सुरु गरे । २०२५ सालको त्यो बेला कांग्रेस नेता बिपी कोइराला जेलबाट छुट्न लागेको सूचनाले आफूहरुलाई पत्रिका निकाल्न हौस्याएको गुभाजु सम्झिन्छन् । त्यो पत्रिकामा उनले लेखे । तर प्रकाशक सम्पादकमा नाम राखेनन् । आजपर्यन्त नाम, मान, सम्मानमा रुचि नै देखाएका छैनन् । त्यो बेला पनि देखाएनन् । काठमाडौंबाट निस्कने राष्ट्रपुकार साप्ताहिकमा त्यसैताका रिपोर्टर भए । राजनीतिक विषयमा समाचार लेखे ।

पुस्तकालयमा काम गरेको, पत्रिका निकालेको र काठमाडौंकै पत्रिकाको रिपोर्टर भएका तिलकमान गुभाजुमाथि पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीको नजर पर्‍यो । नागरिक अगुवाहरुले नारी जागरण, आदर्श र प्रगतिशील गरी ३ वटा पुस्तकालय गाभेर संघलाई चलाउन दिएका थिए । त्यसको जिम्मेवारी तिलकलाई दिनुपर्ने संघ नेतृत्वले ठहर्‍यायो । संघले पनि ‘व्यापार पत्रिका’ निकाल्यो । सम्पादक उनै तिलक । उवासंघबाट निस्केर २०३९ सालमा पर्यवेक्षक साप्ताहिक सुरु गरे । उही राजनीतिक विषयलाई प्राथमिकता दिएर समाचार र लेख छापे । भन्छन्, ‘त्यति बेला पञ्चायत अलिक नरम भएको थियो ।’ जनमत संग्रहपछिको बेला जो थियो ।

पद्मशरण रेग्मी, हुमकान्त पाण्डे, नारायणदत्त नेपाल स्तम्भ लेख्थे । क्रमशः राजनीति, साहित्य र अर्थतन्त्रका कुरा पाठकलाई खुराक हुन्थे । निरन्तर चलिरहेको पत्रिका २०४६ अघि बन्द भयो । ‘सरकारले नै देशभरका १७ वटा पत्रिका बन्द गरेको थियो, पर्यवेक्षक पनि प¥यो,’ उनी भन्छन्, ‘प्रजातन्त्र आएको केही वर्षपछि दैनिक बनाएर निकालें ।’ २०५२ मा सरकारले राष्ट्र संघको स्वर्ण वर्षबारे विशेषांक निकाल्न देशभरका पत्रिकलाई आह्वान गरेको थियो । पर्यवेक्षक प्रथम भयो । ‘लुम्बिनी र राष्ट्रसंघलाई जोडेर लेखेका थियौं, त्यो कुराले निर्णायकलाई छोएछ,’ तिलक भन्छन् । पछि त्यो गुह्य प्रेस काउन्सिलका तत्कालीन उपाध्यक्ष गोपालदास श्रेष्ठले तिलक स्वयंलाई सुनाएछन् । अफसेट प्रेसको जमाना आएपछि २०५५ ताका पर्यवेक्षक बन्द भयो ।

बौद्ध परिवारमा जन्मिए । भिक्षुहरुसँग भेट भइरहन्थ्यो । संगतले थोरबहुत बौद्धज्ञान सिके । पछि रुचि जाग्यो । खोजबिन गर्दै बौद्धधर्म दर्शनमा कलम चलाए । अहिले पनि बौद्धदर्शनका कुरा छाप्ने पत्रिका धर्मचक्षु सम्पादन गरिरहेका छन् । २० वर्षदेखि मासिक त्यो पत्रिका अहिले पनि निस्किरहेको छ । बरु नियमित गर्नचाहिँ उनलाई धौधौ परिरहेको छ । ‘के बुद्ध धर्म हिन्दु धर्मको शाखा हो र ?’ शीर्षक उनको किताब भर्खरै पाँचौ संस्करण छापियो । बौद्धधर्म दर्शनमा पनि योगदान पुर्‍याएको भन्दै धर्माेदय सभाले सम्मान गर्‍यो पनि ।

२०५५ ताका पत्रकार महासंघ कास्कीमा कुसुमकेशव पराजुली अध्यक्ष र पुण्य पौडेल सचिव थिए । उनीहरुले दयाशंकर स्मृति पत्रकारिता पुरस्कार लिइदिन तिलकलाई मनाइछाडे । प्रेस काउन्सिल, धर्माेदय सभा र महासंघका तिनै सम्मानपत्रचाहिँ भित्र कतै लुकाएर राखेका छन् । उनी दिनभर भेटिने नयाँबजारको घरकै ‘अफिस’मा ती सम्मानपत्र टाँगिएको भेटिन्न । बस दुइटा दराज छन् । कुर्ची, टेबल र बेन्च छन् । किताब पढिरहन्छन् । पत्रिका चहार्छन् । कलम घोट्छन् । आगन्तुकहरु आए गफिन्छन् पनि । राजनीतिक अफर पनि थिए । अरु स्वीकारेनन् ।

२०५६ सालमा पोखराकै तारानाथ रानाभाट प्रतिनिधि सभाको सभामुख भएपछि ‘तिलक दाइले मलाई सहयोग गर्नपर्‍यो’ भन्ने रानाभाटको वचन हार्न सकेनन् । प्रेस सल्लाहकारको जिम्मेवारी ३ वर्ष पूरा गरे । फर्केर सम्पादकीय र लेखहरुमा रमाइरहेका छन् । औपचारिक कार्यक्रमहरुमा छम्कट्टै देखिन्नन् । अतिथि बन्दिनुप¥यो, सम्मान लिइदिनुपर्‍यो भन्ने निम्ता आउन छोडेको छैन । तर सधैं लोप्रोफाइलको जिन्दगी उनलाई प्रिय छ ।

(अन्नपूर्ण पोस्ट गण्डकी ब्युरो संयोजक लामिछानेले पत्रकार महासंघको साधारणसभामा प्रकाशित स्मारिकाका लागि तयार पारेको सामग्री ।)

तपाईको प्रतिक्रिया