‘छि ! कस्तो फोहोर महानगर ।’

समाधान संवाददाता २०७५ फागुन १२ गते ७:३२

विकास रोकामगर

पोखराका विभिन्न सार्वजनिक ठाउँमा प्राय एकाबिहानै फोहोरका थुप्रैथुप्रा देखिन्छ । मर्निङ वाक अथवा काम विशेषले बाहिर निस्केकाहरु त्यसको दुर्गन्धले नाकमुख छोप्दै हिँड्नुपर्ने बाध्यता छ । हिँड्ने बाटोभरि फोहोरको डंगुर देखेपछि यात्रु भन्छन्, ‘छि ! कस्तो कस्तो फोहोर महानगर ।’

उसो त सहरी क्षेत्रका धेरैजसो पोलमा डस्टबिन पनि झुन्ड्याइएको छ । ती डस्टबिनसँगै ‘फोहोर मलाई’ अथवा ‘युज मी’ लेखिएका साना बोर्ड पनि हुन्छन् । त्यसरी बोर्ड नै झुन्ड्याएर राख्दा पनि डस्टबिनमा फोहोर पर्दैन । त्यसकै वरिपरि फोहोर थुप्रिन्छन् ।

Advertisement

हिँड्न बनाइएको फुटपाथमा समेत फालिएका फोहोरले यात्रुलाई हिँड्नै सकस पार्ने गरेको छ । पोखराका न्युरोड, नयाँबजार, चिप्लेढुंगा, पृथ्वीचोक, हस्पिटल चोक लगायत क्षेत्रमा प्राय हरेक बिहान सार्वजनिक ठाउँमा फोहोर फालिने गरेको छ । महानगरले सार्वजनिक ठाउँमा फोहोर नगर्न र नफाल्न निर्देशन दिइरहेको छ । तर त्यस क्रम घटेको छैन, बरु दिनानुदिन बढिरहेको छ ।

सार्वजनिक ठाउँमा फोहोर फाल्नेले भने दोष महानगरलाई दिन्छन् । समयमै गाडी नपठाएकाले आफूहरुले सार्वजनिक ठाउँमै फोहोर फाल्न बाध्य भएको तर्क राख्छन् । भन्छन्, ‘समयमै महानगरको गाडी आउँदैन । अनि फोहोर कोठामै राखिराख्नु त ?’

Advertisement

उनीहरु आफू भाडामा बस्ने र फोहोर समयमै नफाले घरभेटीको ‘किचलो’ सुन्नुपर्ने समस्या देखाउँछन् । ‘गाडी आए पनि त्यसले कार्ड खोज्छ । घरभेटीले हामीलाई कार्ड दिँदैन । बाध्य भएरै फालेका हौं,’ उनीहरु भन्छन् ।

घरधनीहरु गाडी मुख्य बाटोमै हिँड्ने र शाखा बाटोमा नआउने हुनाले आफूहरु पनि बाटोमै फोहोर फाल्न बाध्य भएको बताउँछन् । ‘एक त समयमा आउँदैन । आए पनि गल्लीको बाटो आउला भन्ने नसोचे पनि हुन्छ,’ उनीहरु भन्छन्, ‘सेवा शुल्क तिरेर पनि फोहोर व्यवस्थापन गर्न पाएनौं ।’

सार्वजनिक ठाउँमा लुकिछिपी फोहोर फाल्नेमा व्यक्तिमात्रै नभएर प्रतिष्ठित संस्थासमेत हुने गरेको पाइएको छ । दिनमा भन्दा रातको समयमा धेरैले फोहोर फाल्न सार्वजनिक ठाउँ प्रयोग गरेको महानगर सरसफाइ शाखा प्रमुख कल्पना बराल बताउँछिन् । ‘८ बजेसम्म त हामी नै अनुगमनमा हुन्छौं । त्यसपछि धेरैले सार्वजनिक ठाउँमा फोहोर फाल्न आउने रहेछन्,’ उनले भनिन् ।

फोहोर व्यवस्थापन गर्न महानगरले ‘फोहोर व्यवस्थापन नियमावली–२०७४’ कानुन बनाएको छ । नियमावली २०७४ चैत २८ गतेको नगरसभाले पारित गरेको हो । नियमावली अनुसार सार्वजनिक स्थानमा फोहोर गर्नेलाई फोहोरको प्रकृति हेरी १ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने व्यवस्था छ ।

पोखरा महानगरले यसै आर्थिक वर्षमा मात्रै ४३ जनालाई कारबाही गरिसकेको छ । तर त्यसरी कारबाही गर्दा पनि सार्वजनिक ठाउँमा फोहोर नघटेको महानगर बताउँछ । ‘प्राय डेरामा बस्ने र होटल तथा रेस्टुरेन्टवालाले रात परेपछि बाटोमा फाल्ने गरेको पाइएको छ,’ बरालले भनिन् । उनले महानगरलाई सेवा शुल्क तिर्नुभन्दा बरु लुकिछिपी फोहोर फाल्ने परिपाटी बढेको खुलाइन् ।

महानगरले डेरामा बस्नेलाई घरमालिकले फोहोर गाडीबारे जानकारी नदिएकै कारण सार्वजनिक ठाउँमा फाल्ने गरेको आरोप लगाएको छ । केही समयअघिमात्रै प्रतिष्ठित १ रेस्टुरेन्ट र ४ व्यक्तिलाई सार्वजनिक ठाउँमा फोहोर फालेको भन्दै महानगरले कारबाही पनि गरेको थियो ।

सबै नागरिकलाई सार्वजनिक ठाउँमा फोहोर नफाल्न सूचना दिँदा पनि अटेर गरेको पोखरा महानगरको दाबी छ । ‘हामीले त टोलटोलमा, वडावडामा गएर फोहोर नफाल्न भनिरहेका छौं,’ बरालले भनिन्, ‘मिडियामा सूचना प्रकाशन-प्रसारण गरेर सूचित गरिरहेका छौं ।’ उनले सार्वजनिक ठाउँमा फोहोर फाल्दा कारबाही हुन्छ भन्ने थाहा पाएरै लुकिछिपी फाल्ने गरेको बताइन् ।

महानगरले अहिले फोहोर उठाउन ३३ वटा गाडी प्रयोग गरिरहेको छ । त्यसमध्ये ४ वटा महानगरको आफ्नै हो भने बाँकी निजी स्रोतको । ‘निजी कम्पनीसँग पब्लिक प्राइभेट पार्टरसिप (पिपिपी मोडल) मा फोहोर उठाइरहेका छौं,’ शाखा प्रमुख कल्पना बरालले भनिन्, ‘यसमा उनीहरुले आम्दानीको ८० प्रतिशत राख्ने र बाँकी महानगरमा बुझाउनुपर्ने हुन्छ ।’

सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई उनीहरुले नै फालेको प्रमाणका आधारमा पक्राउ गरिहेको महानगरले जनाएको छ । ‘व्यक्ति भए उनीहरुले प्रयोग गरेको सामान र संघसंस्था भए उनीहरुले फालेका बिलका आधारमा पक्राउ गरिरहेका छौं,’ बरालले भनिन् ।

महानगरले कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर व्यवस्थापनमा लागेको जनाएको छ । कुहिने र नकुहिने फोहोर घरबाटै वर्गीकरण गरेर त्यही अनुसार महानगरले गाडी पठाउने सरसफाइ शाखा प्रमुख कल्पना बराल बताउँछिन् ।

‘अहिलेलाई महानगरको छुट्टै गाडी छैन । भएकै गाडीलाई व्यवस्थापन गर्दै अघि जानुपर्ने छ,’ बरालले भनिन्, ‘फरकफरक समयमा हामीले गाडीमा संकेत राखेरै वर्गीकृत फोहोर उठाइरहेका छौं ।’ उनले पोखरा १२ को टोलबाट फोहोर वर्गाीकरण गरेर उठाउन सुरु गरिसकिएको जानकारी दिइन् ।

कुहिने फोहोरलाई सकेसम्म घरमै व्यवस्थापन गर्न कौसीखेतीको अवधारणा महानगरले ल्याएको छ । जनघनत्व बढी भएको ठाउँमा कम्पोस्ट मलका लागि छुट्टै ठाउँको अभाव हुने भएकाले कौसीमै तरकारी खेती गर्न प्रेरित गरिरहेको बरालले बताइन् । ‘कुहिने फोहोरलाई आफ्नो घरको कौसीमा नै तरकारी खेतीमा प्रयोग गर्न सकिन्छ, अहिले सकेसम्म त्यसैमा जोड दिइरहेका छौं,’ उनले भनिन् । महानगरले कौसीखेतीको तालिम पनि दिँदै आएको छ ।

महानगरको फोहोर व्यवस्थापन गर्न मरेका गाईभैंसी मुख्य समस्याका रुपमा आएको महानगरले बताएको छ । ‘जहाँ गाईभैंसी मरे त्यहीं गाड्ने भन्ने नियम छ तर महानगरमा कहाँ गाड्ने त ?’ बरालले भनिन् ।

पोखरा तथा साविक लेखनाथ गरेर महानगरले अहिले दैनिक १ सय ६० टन फोहोर संकलन गरिरहेको छ । सरसफाइ शाखाका नायब सुब्बा हर्क गायकका अनुसार त्यसरी फोहोर व्यवस्थापन गर्न ८ रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म मासिक सेवा शुल्क उठाउँदै आएको छ ।



तस्बिर- युनिश गुरुङ-समाधान

तपाईको प्रतिक्रिया