मुक्तिनाथमा स्की तालिम

समाधान संवाददाता २०७५ फागुन १२ गते ७:४०

सुन्दरकुमार थकाली

पर्यटन प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यसहित मुस्ताङको मुक्तिनाथ रानीपौवामा शनिबारदेखि स्की तालिम सुरु भएको छ । हिमालयन स्की ट्रेक तथा होटल ग्रान्ड समला मुक्तिनाथको सयुत्त आयोजनामा स्की तालिम सुरु भएको हो ।

हिउँमा चिप्लेटी खेल्ने साहसिक खेलकुदको विकास गर्दै अफ सिजनमा पनि पर्यटक भिœयाई यहाँका पर्यटन व्यवसायीलाई सक्दो राहत उपल्ब्ध गराउने स्की खेल गतिलो माध्यम बन्ने होटल ग्रान्डका सञ्चालक सुरज गरुङले बताए । उनले मुस्ताङमा आउने जो कोही पर्यटकले पनि स्की तालिम लिनसक्ने जानकारी दिए । मुस्ताङबासी समेत स्की तालिममा सहभागी हुन सक्ने उनले जनाए ।

Advertisement

तालिममा भाग लिन प्रतिव्यक्ति ५ सयदेखि १ हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । १ हजारको टिकटमा खाजा र खानाको व्यवस्था छ । हिउँ थुप्रिएको जमिनको भिरालो सतहमा २ वटा फलामे लौरो र रबरको लाम्चो प्लेटको सहयोगमा उभिएर चिप्लेटी खेल्ने खेल स्की हो । मुस्ताङमा यो सिजन दोस्रोपटक स्की खेलाइएको हो । यसअघि माघमा पहिलोपटक स्कि प्रतियोगिता भएको थियो । युरोपेली मुलुकमा स्की प्रशिक्षकको रुपमा काम गर्दै आएका स्की प्रशिक्षक समीर थापाले मुस्ताङमा स्की तालिम दिइरहेका छन् ।

मुक्तिनाथ रानीपौवा बसपार्कदेखि माथिल्लो झारकोट पाखोसाम्म थुप्रिएको हिउँमा स्की तालिम सुरु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । उनले हिउँको आनन्द लिन मुस्ताङ आउन आग्रह गरे ।

Advertisement

स्की खेलको तालिमलाई आगामी वर्षमा निरन्तरता दिने प्रशिक्षक थापाले जानकारी दिए । उनेले मुस्ताङको पर्यटन प्रवद्र्धनमा स्की खेल महत्वपूर्ण भएकाले स्थानीय स्तरमा पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । पर्यटकको अवस्था हेरेर तालिम अवधि थपघट हुन सक्ने प्रशिक्षक थापाले सुनाए । यो वर्ष ढिला गरी सुरु भए पनि आगामी वर्ष हिउँदयाम र हिउँ पर्न सुरु हुनसाथ स्की तालिम सञ्चालन गरिने प्रशिक्षक थापाको भनाइ छ ।

तपाईको प्रतिक्रिया