विकासको जग बसाल्न सरकार सफल

समाधान संवाददाता २०७५ फागुन १२ गते ७:५४

कृष्ण न्यौपाने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले १ वर्षमा प्रदेश सरकार विकासको जग बसाल्न सफल भएको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयको आयोजनामा शनिबारदेखि सुरु श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञानमहायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले शून्य अवस्थाबाट प्रदेश सरकार सञ्चालन भएकाले काममा ढिलाइ भए पनि यसबीचमा विकासको जग तयार गर्न सरकार सफल भएको बताए ।

उनले विकास निर्माणका काममा ढिलाइ भएको स्वीकार गर्दै अबका वर्षमा विकासले गति लिने बताए । कानुन निर्माणमा ढिलाइ भएकाले प्रदेश सरकारले सोच जति काम गर्न नसकेपनि आशालाग्दा कामहरु सरकारले सुरु गरेको मुख्यमन्त्री गुरुङले बताए ।

Advertisement

उनले भने, ‘चीनले ४० वर्ष लगाएर गरेको विकास नेपालमा ४ महिनामा खोज्ने प्रवृत्ति छ ।’ उनले अबको ४ वर्षभित्र प्रदेश समृद्धिको बाटोमा अघि बढ्ने बताउँदै जनताले अनुभूति गर्ने खालको विकासका कामहरु सञ्चालन हुने बताए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले २५ वटा कानुन र १ सय १७ वटा कार्यविधि तयार पारेको बताउँदै यही कानुनलाई टेकेर विकास निर्माणका काम गर्नुपर्ने बाध्यता रहेको बताए ।

Advertisement

उनले भने, ‘मैले मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गर्दै गरेको अवस्थामा प्रदेशसँग कत्ति पनि बजेट थिएन । प्रदेश सरकारको आफ्नै कर्मचारी थिएनन् तर अहिले विकासको गति विस्तारै अघि बढ्दै गरेको छ ।’

मुख्यमन्त्री गुरुङले शिक्षा क्षेत्रमा चरम राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र धारासायी बन्दै गएको समेत बताए । उनले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप नहटेसम्म विकास सम्भव नरहेको टिप्पणी गरे । मुख्यमन्त्री गुरुङले सामुदायिक विद्यालयको गुणस्तर खस्किरहेकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न सबैको चासो र चिन्ता हुनुपर्नेमा जोड दिए ।

उनले शिक्षामा निजी क्षेत्रको प्रवेशले शिक्षा नै विभाजित भएकोले शिक्षामा भएका असमानता र विभेद हटाउन आवश्यक रहेको बताए । नेपालका शैक्षिक सङ्घसंस्था बेरोजगार उत्पादन गर्ने केन्द्र बनेकोले अबको शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य आशा कोइराला, रोशन गाहा मगर, डोवाटे विक, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, प्रदेशका मुख्य सचिव लक्ष्मीराम पौडेल लगायतले सामुदायिक विद्यालयको उन्नतिको लागि समुदायको भूमिका महत्वपूर्ण हुने बताए ।

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न आर्थिक संकलन गर्ने उद्देश्य सहित शुरु भएको महायज्ञ फागुन १९ गतेसम्म सञ्चालन हुने विद्यालयका अध्यक्ष विजयराज खनालले जानकारी दिए ।

उनका अनुसार महायज्ञमा करिब ५ करोड दान संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञमा श्री बालयोगेश्वर महाराजले कथावाचन गर्नेछन् । महायज्ञमा विवाह, ब्रतबन्ध, तुलादान, चौरासीपूजा, लक्ष्यवर्ती लगायत कार्यक्रम सञ्चालन हुने विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया