पार्टीे एकताको टुंगो सचिवालय लगाउँछ

समाधान संवाददाता २०७५ फागुन १२ गते ८:०२

अर्जुन काफ्ले

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले पार्टीे एकताको टुंगो सचिवालयले लगाउने बताएका छन् । नेकपा पुतलीबजार नगर संयन्त्रले आयोजना गरेको प्रशिक्षण एवं पार्टीका प्रदेश सदस्यको सम्मान तथा स्वागत कार्यक्रममा शनिबार उक्त कुरा बताएका हुन् ।

उनले सचिवालयबाट एकताको टुंगो नलागेमा पार्टी अध्यक्षद्वयले स्थायी र केन्द्रीय सदस्यसँग समन्वय गरेर निष्कर्ष निकाल्ने प्रष्ट्याए । पार्टी नीतिले चल्ने भन्दै पार्टी एकताको तल्लो तहसम्मकै काम १ महिनाभित्र टुंगिने अधिकारीले दाबी गरे । मुल नेतृत्वले पार्टी एकता गरे पनि गुटगत स्वार्थले तल्लो तहसम्म हुन ढिलाइ भएको स्पष्ट पारे । गुटगत राजनीति सबैभन्दा ठूलो अपराध भएकाले गुटमा लाग्नेले पार्टी सदस्य छ भनेर नभन्न आग्रह आग्रह गरे ।

Advertisement

पूर्व एमाले र माओवादी केन्द्र नभएको बताउँदै नेता अधिकारीले अब ६०-४० को फर्मुला फेल खाने बताए । उनले जुनसुकै पार्टी सदस्यले सही कुराको समर्थन र गलत कुराको विरोध गर्न जान्नुपर्ने बताए ।

आफू, नीति र नेतृत्वप्रति विश्वास नहुनेलाई पार्टीभन्दा बाहिर बस्न चुनौती दिँदै पार्टी नेतृत्वको विरोध गर्ने सच्चा कम्युनिस्ट कार्यकर्ता नहुने बताए । ओली र प्रचण्ड नहुँदा पनि पार्टी हुने बताउँदै उनले माक्र्सवाद र लेलिनवाद मार्गदर्शन सिद्धान्त रहिरहने धारणा राखे ।

Advertisement

तुलसी, वर, पीपल र गाईको महत्व विज्ञानले नै पुष्टि गरेको उल्लेख गर्दै उनले कम्युनिष्ट पनि विज्ञान सम्मत हुने बताए । कार्यशैली र प्रद्धति नबुझ्दा पार्टी बिग्रेको बताउँदै नेता अधिकारीले लहैलहैमा कसैको पछाडि नलाग्न नेता,कार्यकर्तालाई निर्देशन दिए । कार्यकर्तालाई पार्टीको पाटपुर्जा भएकाले पार्टी अघि बढाउन कार्यकर्ताको योगदान महत्वपूर्ण हुने बताए ।

क्रान्तिकारी पार्टीको नाममा विप्लव पार्टी चन्दा संकलन र स्वार्थपूर्तिमा लागेको आरोप लगाउँदै उनल नेकपा पनि संगठन नहुँदा सत्ताको गोलचक्करमा फँसेकेो स्वीकारे । वर्गविहीन समाज बनाउने अभियान पार्टीको भएको खुलासा गर्दै उनले कुनै बेला नेकपा नहुने घोषणा गरे । उनले भने, ‘कांग्रेसको प्रतिशोध थेग्न माओवादीे जन्मिएको र कांग्रेसले नै धकेलेर जंगल पुर्‍याएको हो ।’

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता अधिकारीले सरकारले काम नगरेको भन्नु गलत भएको भन्दै सरकारको बचाउ गरे । उनले भने, ‘सरकारको कामले प्रतिपक्ष डराएर हल्ला फैलाएको छ ।’ कार्यक्रममा पार्टी गण्डकी प्रदेश सदस्य शैलेन्द्र घिमिरे, गण्डकी प्रदेश सदस्य मीनप्रसाद गुरुङ, सीमाकुमारी क्षेत्री, नगर संयन्त्र सदस्य इन्द्र राना, तारा शर्मा, नारायण लम्साल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया