प्रत्यक्ष निर्वाचनले महासंघको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउँछ

समाधान संवाददाता २०७५ फागुन १२ गते ८:०५

समाधान संवाददाता

नेपाल पत्रकार महासंघका नेताले सबै सदस्यलाई भएको मताधिकारको व्यवस्थाले पत्रकार महासंघको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउने दाबी गरेका छन् ।

उनीहरुले पोखरामा भएको केन्द्रीय साधारण सभाले पारित संशोधित विधानले सबै सदस्यलाई मताधिकारको सुनिश्चितता गर्दै लोकतन्त्रको उच्चतम अभ्यासमार्फत् नेतृत्व चयन विधि स्थापित भएको बताए । पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पोखरामा भएको साधारणसभा पत्रकार महासंघलाई नीतिगत प्रष्टता र थप समावेशी बनाउने सबालमा सफल भएको दाबी गरे । चुनावी महाधिवेशनमा नीतिगत छलफल नहुने उल्लेख गर्दै अध्यक्ष आचार्यले साधारण सभाले महासंघलाई जीवन्त बनाउन स्पष्ट मार्ग पहिचान गरी अघि बढ्न निर्देश गरेको धारणा राखे ।

Advertisement

विधान अधिवेशनले महासंघका सबै निर्णयको स्वामित्व सबै सदस्यले लिने व्यवस्थाको सुनिश्चितता गरेको छ । सभाले पत्रकार महासंघका अहिलेका मुद्दा पहिचान गरी सम्बोधनका लागि नीतिगत व्यवस्था गरेको अध्यक्ष आचार्यको भनाइ छ । उनले पत्रकार महासंघका शाखाका साधारण सभाका निर्णय, शाखा अध्यक्ष तथा प्रदेश अध्यक्षको राष्ट्रिय भेलाको मार्ग निर्देशन र महिला पत्रकारको राष्ट्रिय भेलाले पारित प्रत्यक्ष निर्वाचन प्रणालीलाई पारित गर्ने अन्तिम थलो साधारण सभा बनेको बताए । ‘संशोधित विधान पत्रकार महासंघको केन्द्रीय समितिबाट सर्वसम्मत रुपमा पारित गरी सभामा पेस गरेका थियौं,’ अध्यक्ष आचार्यले भने, ‘हलबाट आएका सुझाव, प्राविधिक विषय र समावेशीका सबाललाई प्राविधिक समितिले टुंगो लगाउने छ ।’

पत्रकार महासंघका उपाध्यक्ष तथा विधान मस्यौदा समितिका संयोजक विपुल पोखरेलले महासंघको आन्तरिक जीवनमा प्रत्यक्ष निर्वाचन प्रणालीका बारेमा १ दशकसम्म छलफल र बहस भएको जानकारी दिए । निर्वाचन प्रणालीको बहसले साधारणसभामार्फत परिपक्क रुप लिएको उल्लेख गर्दै उपाध्यक्ष पोखरेलले विधानको भाषागत कुरा मिलाएर अन्तिम रुप दिने अख्तियारी अध्यक्ष गोविन्द आचार्य, पूर्व अध्यक्षहरु महेन्द्र बिष्ट, शिव गाउँले, सुरेश आचार्य र तारानाथ दाहाललाई दिएको बताए ।

Advertisement

सभाले महासचिव रमेश बिष्टले पेस गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेश मिश्रको आर्थिक प्रतिवेदन र लेखा समितिका सदस्य मीरा राजभण्डारी आमात्यले पेस गरेको प्रतिवेदन सुधारसहित पारित गरेको छ ।

पत्रकार महासंघका अध्यक्ष आचार्यले पत्रकार महासंघले केन्द्रीय समितिमा हरेक ४ महिनामा आयव्यय पेस गरी पास भएपछि वेवसाइटमा राख्ने जानकारी दिए । महासंघको जीवनलाई पारदर्शी र विश्वसनीय बनाउन सक्रियतापूर्वक लागेको उल्लेख गर्दै अध्यक्ष आचार्यले आर्थिक सुशासन कायम गर्न लेखा समितिको लागि छुट्टै कार्यविधि तय गरेको बताए । उनले लेखा समितिले जिल्ला तहको हरहिसाब पनि हेर्ने जनाए ।

पोखरामा फागुन ९ र १० गते भएको केन्द्रीय साधारणसभाबाट पारित महासंघको विधान २०६० (पाचौं संशोधन २०७५) ले पत्रकार महासंघलाई ट्रेड युनियन संस्थाका रुपमा दर्ता गर्ने बाटोसमेत खुलेको छ । श्रमजीवी पत्रकारको श्रमको उचित अभ्यास, सामूहिक सौदाबाजी र पेसा तथा रोजगारीको अधिकारको संरक्षणको लागि श्रमजीवी पत्रकार ऐन २०५१ को व्यवस्था अनुसार पत्रकार महासंघलाई ट्रेड युनियनमा लैजाने निर्णय गरेको छ ।

साधारण सभाले पत्रकार महासंघको केन्द्रीय साधारणभा तथा विधान अधिवेशन २०७५ले पारित १८ बुँदे विशेष प्रस्तावसमेत पारित गरेको छ । कार्यक्रममा पत्रकार महासंघका महासचिव रमेश बिष्ट, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीक लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया