लगानीअनुरुप शैक्षिक गुणस्तर आवश्यक– मन्त्री अधिकारी
समाधान संवाददाता
२०७५ फागुन १२ गते ११:३७
पोखरा (रासस)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले शैक्षिक क्षेत्रमा गरेको लगानीअनुरुप गुणस्तर आवश्यक भएको बताउनुभएको छ । पोखरा महानगरपालिका–३३ तल्लो पूर्णीस्थित भुलभुला आधारभूत विद्यालयको ५६ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा अभिभावक दिवसको आज उद्घाटनमा उहाँले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासबाट शैक्षिक स्तर माथि उठाउनुपर्ने बताउनुभयो ।
शैक्षिक क्षेत्रको विकासका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले आवश्यक भौतिक संरचना निर्माणका लागि बजेट एवं दक्ष शिक्षकका लागि सङ्घीय र प्रदेश सरकारको सहयोग रहने बताउनुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्ररुपमा भइरहेको बताउँदै मन्त्री अधिकारीले आगामी दुई वर्षको अवधिमा पोखराबाट सिधै विदेशमा उडान हुने विश्वास व्यक्त गर्नुभयो ।
विमानस्थलको धावनमार्ग, ट्याक्सी पार्किङ निर्माणको अन्तिम चरण पुगेको पुग्नुका साथै हालसम्म २८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिँदै उहाँले विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले खानेपानी र बाटो निर्माणसँगै व्यावसायिक कृषि एवं पशुपालनमा जोड दिँदै मुलुकको समृद्धि अभियानमा जुट्न स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शङ्कर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी यज्ञप्रसाद आचार्य र गोपाल पुन, सरस्वती टीका मावि व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य दिलबहादुर श्रेष्ठलगायतले सामुदायिक विद्यालयको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
विद्यालयका अक्षयकोष दाता, शिक्षक पूर्णबहादुर थापालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको उक्त कार्यक्रममा कक्षागत र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यालयलाई पुरस्कार वितरण गरिएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया