नख्खु बम विस्फोटमा एनसेलका सुरक्षा गार्डको ‘मिलेमतो’ रहेको प्रारम्भिक निष्कर्ष

समाधान संवाददाता २०७५ फागुन १२ गते १३:४९

समाधान संवाददाता, काठमाडाैैं

ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो भेटिएको प्रहरीले दाबी गरेको छ। 
अनुसन्धानका क्रममा एनसेलका सुरक्षा गार्डको चरम लापरवाही र मिलेमतो रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

‘बम राख्नेसँग एनसेलका सुरक्षा गार्डको साँठगाँठ देखिन्छ, ‘अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘त्यही भएर हामीले त्यहाँका २ जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिइएको हो।’

Advertisement

अज्ञात समूहले बम राखेर गएपछि सुरक्षा गार्डले प्रहरीमा समेत जानकारी गराएका थिएनन् । एनसेल मुख्यालयबाट २ सय मिटरजति टाढा रहेको नख्खु प्रहरीमा पनि उनीहरुले जानकारी नगराएको प्रहरीले जनाएको छ।

बम पड्किएपछि नख्खु प्रहरी र स्थानीयले कन्ट्रोलमा खबर गरेका थिए। बल्खुमा रहेका ललितपुरका एसएसपी रविन्द्र धानुक ५ मिनेटमा नै एनसेलको मुख्यालयमा पुगेर घाइतेहरुको उद्धारमा जुटेका थिए।

Advertisement

बम पड्किएपछि पनि एनसेलका सुरक्षा गार्डले प्रहरीलाई जति सुचना दिनुपर्ने हो दिएनन अनुसन्धानमा जुटेका एक अधिकारीले भने, अहिले पनि उनीहरु सुचना लुकाउन आनाकानी गरिरहेका छन् ।

उच्च प्रहरी स्रोतका अनुसार सुरक्षा गार्ड मात्र होइनन, बम पडकिएपछि एनसेलकै उच्च अधिकारीहरु प्रहरी सम्पर्कमा आउन नै चाहेका छैनन्। जसका कारण प्रहरीलाई अनुसन्धान गर्न हम्मे हम्मे परिरहेको छ।

ललितपुर प्रहरीले एनसेलका सुरक्षा शाखाका प्रमुख महेन्द्र भट्टचनसँग वयान लिने तयारी गरेको छ। भट्टचन सशस्त्र प्रहरीबाट अवकाश प्राप्त डिआइजी हुन्।

शुक्रबारराती प्रहरीले सर्च अभियान चलाएर थप ४ जनालाई पनि पक्राउ गरेको छ। बम विस्फोट गराएपछि त्यसको अनुसन्धानमा प्रहरीको ४ वटा टोली खटेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, महानगरीय अपराध महाशाखा, प्रहरीकै विशेष ब्युरो र महानगरीय प्रहरी परिसर ललितपुरले छुट्टाछुट्टै टोली खटाएको छ। शुक्रबार बम पड्किएसँगै प्रहरीले सर्च अभियानलाई जारी नै राखेको छ भने ललितपुरमा सुरक्षा सतर्कता बढाइएको छ।

शनिबार अदालत बन्द भएपछि प्रहरी अनुसन्धानमा कठिनाइ भएको प्रहरीले जनाएको छ। ब्यक्तिका कल डिटेल लिनका लागि प्रहरीले अदालतबाट अनुमति माग्नुपर्ने प्रावधान छ।

आइतबारबाट हामीले कल अदालतबाट कल डिटेल लिनका लागि स्वीकृति लिएर काम अघि बढाइरहेका छौं, एसएसपी रविन्द्र धानुकले भने, केही दिनमा केही परिणाम आउने आशमा छौं ।

बम विस्फोटमा परेर लमजुङका सिंहबहादुर गुरुङको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । प्रतिक्षा खड्का र उरुषा मानन्धरको अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया