फोहोर व्यवस्थापनको चुनौती

समाधान संवाददाता २०७५ फागुन १३ गते १२:२६

फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले तत्कालीन पोखरा उपमहानगरपालिकालाई २०७१ सालमा मुलुकभरकै सफा सहरको रुपमा पुरस्कृत गर्‍यो । २०७२ सालमा भने पोखराको ठाउँ हेटौंडाले ओगट्यो भने पोखरा १० औं नम्बरमा ओर्लियो । फोहोरमैला व्यवस्थापनमा पूर्वाधार, समुदाय परिचालन, योजना तर्जुमा, खानेपानी तथा ढल निकास, सार्वजनिक शौचालय, ट्राफिक, सचेतना कार्यक्रम, ध्वनि लगायत प्रदुषण नियन्त्रण तथा पार्क तथा हरियाली एवं सौन्दर्य निर्माण शीर्षकमा नगरपालिकाहरुको मूल्यांकन गरेको थियो ।

मानिस लगाएर सफा गर्नुपर्ने फोहोर आकाशे पानीले बगाइदिएका भरमा सफा देखिएको पोखरा उपमहानगरपालिकाले सरसफाइका लागि खास काम नगरेको अनुसन्धानले देखाएको हो । त्यो अवस्था अहिले पनि कायमै छ । अझै भनौं बढ्दो जनसंख्यासँगै पोखरा महानगरपालिकामा फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ ।

पोखरामा बनेको ल्यान्डफिल साइट कुनै बेला नेपालकै नमुना थियो । तर जुन अनुपातमा जनसंख्या र फोहोरको मात्रा बढेको छ, त्यस अनुपातमा ल्यान्डफिल साइटको व्यवस्थापन नगर्दा पिलोमाथि घाउ थपिएको छ । फोहोर व्यवस्पानमा पुरानै कार्यशैली अपनाउने, अनि सीमित स्वार्थका भरमा कम्पनीहरुलाई जिम्मा दिने अनि दीर्घकालीन योजना नबनाउने गर्दा नै पोखरा मैलो महानगरमा परिणत हुँदै गएको छ । अहिले स्थानीय तह आफै शक्तिशाली छन् । आफ्नो लागि कानुन आफै बनाउन सक्छन् । तर पोखरा महानगर कहाँनेर अलमलिइरहेको छ थाहा छैन ।

पुरानै मनोवृत्तिका कर्मचारीले प्रभावकारी योजना अघि बढाउन अवरोध गरिहेका छन् । जनप्रतिनिधि कामको चापले फोहोरमैलामा केन्द्रित हुन सकेका छैनन् । प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरिसकेको छ । बाहिरबाट हेर्दा चिटिक्क देखिने पोखरा भित्र भने फोहोरका डंगुुरले स्वागत गरिरहेको देख्न पाइन्छ । यो कुनै पनि सभ्य सहरका लागि सुहाउने विषय हैन ।

फोहोरमैलाको वर्गीकरण नगर्नु, पुनप्रयोग पुनप्रशोधन गर्न सकिने फोहोरलाई पनि त्यसो नगर्नु र व्यवस्थानबारे योजना नै तर्जुमा नगर्नु पोखरा महानगरपालिकाको मुख्य कमजोरी हो । त्यसो गरे ल्यान्डफिल साइट लैजानुपर्ने फोहोर सन् २०२५ सम्ममा १५ प्रतिशतमा झार्न सकिने १ अनुसन्धानले पनि देखाइसकेको छ । पोखरामा जम्मा हुने फोहोरमध्ये पुन प्रयोग र पुन प्रशोधन गर्न सकिने मेटल ३९, कागज ३३ प्रतिशत संकलन हुन्छ । अहिले पोखरामा दैनिक १ सय ६० टन फोहोर उत्पादन हुन्छ ।

फुटपाथमा समेत फालिएका फोहोरले यात्रुलाई सकसपार्ने गरेको छ । फोहोर व्यवस्थापन महानगर एक्लैले सरसफाई गर्न सम्भव छैन । यसमा साथ र सहयोग महानगरबासीको पनि चाहिन्छ । घरबाट निस्कने फोहोरको स्रोतमै बाँडफाँट गर्ने, कुहिनेजतिलाई सम्भव भएसम्म करेसाबारीमा प्रयोग गर्ने र बाँकीलाई मात्र नगरपालिकको गाडीको जिम्मा लगाइदिने गरेमा पनि आधा समस्या कम भएर जान्छ ।

तपाईको प्रतिक्रिया